अर्थ / बाणिज्य

२ लाख ५० हजार लाइसेन्स छाप्‍न बाँकी, लगातार छापे पनि दुई महिना लाग्‍ने

५ लाख ७२ हजार भन्दा बढी अनलाइन आवेदन पेन्डिङ

कमल धिताल |
चैत ४, २०७८ शुक्रबार १३:१३ बजे

काठमाडौँ - यातायात व्यवस्था विभागले गत चैत १ गतेदेखि सवारी साधन अनुमति पत्र (लाइसेन्स)को आवेदन अर्को सूचना नआएसम्म भन्दै बन्द गरेसँगै नयाँ चालक अनुमतिपत्र अनिश्चित भएको छ । विभागले गत फागुन ३० गते एक सूचना जारी गरेर आवेदन प्रणालीमा हालसम्म परेका आवेदनहरू चाँडो टुङ्ग्याउने भन्दै अनलाइन आवेदन प्रणाली बन्द गरेको थियो । विभागमा ट्रायल परिक्षाको लागि अनलाइन खुलेको बेला दैनिक ७ हजारको हाराहारीमा आवेदन पर्ने गरेको विभागको जनाएको छ ।

अनलाइनबाट सजिलो हुने भनेर विकास गरेको सिस्टमनै सेवाग्राहीको लागि झन्झटिलो रहेको देखिन्छ । लाइन लाग्न नपोरोस् भनेर ल्याइएको अनलाइन सेवामा फर्म भर्दा पनि पालो आउन महिनौ लाग्ने गरेको छ। यसरी अनलाइन आवेदनकर्ताको पालो पनि आवेदन दिएको ६ महिनादेखि १ वर्षभन्दा धेरै समय लाग्ने गरेको छ।


ट्रायल पास भएका सवारी साधनका लाइसेन्स समेत प्रिन्ट हुन वर्षौ लाग्ने गरेका छ । नविकरण गर्न दिइएका लाइसेन्सको संख्या पनि निकै छ। उपत्यकाभित्रका ४ कार्यालयहरूमा दैनिक ठूलो संख्यामा सेवाग्राहीको भिड लाग्ने गरेको छ। यसरी आफ्नो दैनिक काम छोडेर एउटा कार्डको लागि घण्टौं लाइनमा बसेर भरेको कार्ड हात पार्न पनि वर्षो लाग्ने गरेको छ । यसरी समयमै ट्रायल परिक्षा दिन तथा लाइसेन्स प्राप्त गर्न पनि सेवाग्राहीले निकै सकस हुने अवस्था छ।

पुराना आवेदन सकेरमात्रै नयाँ खुल्ने

विभागले नयाँ आवेदन पुराना आवेदन सकेर मात्र नयाँ खुलाउने तयारी गरेको छ । हाल आवेदन दिएका आवेदनकर्ताले निकै समय कुर्नु परेको भन्दै हाल पेन्डिङमा रहेको सबै आवेदन प्रक्रिया पुरा गरेरमात्रै नयाँ खुलाउने योजना रहेको कार्यालय प्रवक्ता डा. लोकनाथ भुषाल बताउँछन् । छपाईको लागि आउने कार्ड नआइपुगेको कारणले गर्दा एकै पटक धेरै आवेदन पेन्डिङमा रहेको हुँदा समस्या परेको भुषाल बताउँछन् । हाल रहेका आवेदन सक्न करिव दुई महिना जति लाग्ने भुषालको भनाई छ।

हाल रहेका आवेदनहरूलाई रिसेड्युल गरेर दुई महिनाभित्रमा ट्रायल सक्ने र त्यसपछि मात्र नयाँ आवेदन खुलाउने र यसले हाल विभागमा रहेको चाप कम हुने भुषालको भनाई छ । यसअघि बन्द रहेको नयाँ अनुमतिपत्रको चाप एकैपटक पर्न गएको आवेदन संख्या धेरै हँदा केही समय बन्द गरेर मात्र नयाँ आवेदन लिने यसले गर्दा केही समयमा नै सवारी चालकले बढीमा २ महिनामा लाइसेन्स पाउनछन् । अब नयाँ आवेदकले आवेदन दिन अझै केही महिना प्रतिक्षा गर्नुपर्ने विभागले जनाएको छ।

विभागले गएको भाद्र महिना देखि ७० अंक ल्याए चालक अनुमतिपत्र प्राप्त गर्ने 'सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका-२०७७’ मार्फत केही खुकुलो बनाएर पास हुने संख्या बढाउने निर्णय गरेको थियो । यो कार्यविधि हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश तथा प्रदेश नम्बर १ समेत लागू गरेको विभागले जनाएको छ ।

नयाँ सुधारिएको प्रणालीमा ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था रहेको छ। नयाँ ७० अंकमा ल्याए पास हुने व्यवस्थाअनुसार ट्रायल परीक्षामा विभिन्न पक्षलाई आधार मानेर अंक दिइन्छ। जसमा ट्राफिक लाइट, उकालो-ओरालो, स्पिड ब्रेकर, पार्किङलगायतलाई आधार मानेर त्यसको अलग अलग नम्बर हुन्छ। यसरी १ सय अंकमा जम्मा ७० अंक प्राप्त गरेमा सवारी चालक अनुमतिपत्र पाउन योग्य हुने विभागले व्यवस्था गरेको छ।

दैनिक ६ हजार लाइसेन्स छपाई

यातायात व्यवस्था विभागको कार्यालयमा रहेको मेसिनले दैनिक करिब ६ हजार लाइसेन्स प्रिन्ट गर्ने गरेको छ। हाल विभागसँग एउटा मात्रै मेसिन रहेको छ । हाल विभागमा लाइसेन्स छाप्न बाँकी नै करिब २ लाख ५० हजार भन्दा बढी रहेको छ । यसरी यत्तिका संख्यामा रहको लाइसेन्स पेन्डिङ रहँदा पनि विभागले अर्को मेसिन थप गर्ने योजना भने नभएको बताउँछ। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार हाल ५ लाख ७२ हजार भन्दा बढी अनलाइन आवेदन पेन्डिङ रहेको छ। यस संख्यालाई शून्यमा ल्याउन आवेदन बन्द गरेको र चाँडो भन्दा चाँडो यसलाई सकेर मात्र नयाँ आवेदन खुलाउने योजना रहेको घिमिरे बताउँछन् ।

हाल नयाँ तथा नविकरणको लागि दिएका सेवाग्राहीले नयाँ लाइसेन्स १ वर्षभन्दा बढी समय कुर्नुपर्ने अवस्था रहेको छ । यसरी पाँच वर्ष म्याद हुने लाइसेन्समा एक वर्ष विभागले नै लिँदा सेवाग्राहीले ४ वर्षमात्र प्रयोग गर्न पाउने अवस्था रहेको देखिन्छ ।

यसरी अत्याधिक चाप पर्दा पनि लाइसेन्सको छपाईमा विभाग भने नयाँ छपाई मेसिन ल्याउने पक्षमा देखिदैन् । हाल भएको मेसिनले दैनिक छ हजार कार्ड छपाई गर्ने र हाललाई अरू मेसिन थप गर्नु नपर्ने प्रवक्ता भुषाल बताउँछन् । माग तथा आपूर्तिबीच सन्तुलन कायम गर्ने  त्यसपछि मात्रै स्मार्ट लाइसेन्स दिने व्यवस्था गर्ने विभाग बताउँछ।

आपतकालीनलाई ७ दिनमै लाइसेन्स

विभागले इमरजेन्सी परेकाहरूलाई केही दिनमा नै लाइसेन्स उपलब्ध गराउने गरेको छ । विदेश जानेहरूलाई लक्षित गरेर केही दिनमा नै लाइसेन्स उपलब्ध गराउने गरेको छ । विभागले मीन भवनमा रहेको यातायात व्यवस्था कार्यालय परिसरबाट पासपोर्ट तथा टिकट हेरेर लाइसेन्स उपलब्ध गराउने गरेको छ । विभागले नयाँ तथा नविकरण दुवै लाइसेन्स बढीमा ७ दिन भित्र उपलब्ध गराउने विभागले जनाएको छ ।

एसएमएस सेवा बन्द

विभागले अनुमति पत्र प्रिन्ट भएको-नभएको भनेर थाहा पाउने माध्यम एसएमएस सेवा बन्द गरेको छ । लाइसेन्स ट्रायल पास पश्चात तथा नविकरण पश्चात प्रिन्ट भएको एसएमएसबाट जानकारी लिन सकिने व्यवस्था थियो । जसलाई हाल विभागले बन्द गरेको छ । एसएमएस सेवाको सट्टा हाल विभागको साइटबाट नै प्रिन्ट भएको वा नभएको भनेर हेर्न सकिने व्यवस्था गरेको विभागले जनाएको छ । विभागका महानिर्देशक घिमिरेकाअनुसार सिस्टममा अत्याधिक चापका कारण १ महिनाको लागि एसएमएस सेवा बन्द गर्नु परेको बताउँछन् । विभागले ट्रायल पास गरेका सवारी चालकलाई क्यूआर कोड सहितको एक वर्षे अस्थायी लाइसेन्स दिँदै आएको छ ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x