फुटबल

के रोनाल्डोको फुटबल क्यारियर अन्त्य हुँदैछ ?

इकागज |
मंसिर २५, २०७९ आइतबार १०:४९ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पराजित भएसँगै पोर्चुगलको विश्वकप यात्रा यसपाली टुंगिएको छ । मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको मात्र विश्वकपको यात्रा टुंगिएको छैन, यससँगै पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने सपना पनि अधुरै रहेको छ ।

अझ हेर्ने हो भने ३७ वर्ष पुगिसकेका रोनाल्डोका लागि कतार विश्वकप नै अन्तिम हुने लगभग पक्का जस्तै छ । अझ आफ्नै प्रशिक्षक फर्नान्डो सान्तोषसँग विवाद गरेपछि रोनाल्डोलाई टिममा स्थान बनाउन पनि सकस परिरहेको छ ।


राष्ट्रिय टोलीमा स्थान पाउन संघर्ष गर्नुपरेका रोनाल्डो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पनि विवादसँगै बाहिरिएका छन् । उनका समर्थकहरू अब रोनाल्डोले कहाँबाट खेल्ने भनेर अनुमान गर्न सकिरहेका छैनन् । साथै उनको भविष्यलाई लिएर अडकलबाजी समेत सुरु भएको छ ।

विश्वकप सुरु हुनै लाग्दा युनाइटेड छाडेका रोनाल्डोले विश्वकपमा घानाविरुद्ध गोल गर्दै लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । जसका कारण रोनाल्डोको स्टारडम विश्वकपमा पनि कायमै थियो । तर आफ्नै प्रशिक्षकसँग विवाद गरेपछि उनी पहिलो रोजाइमै पर्न सकेनन् ।

तर मोरक्कोविरुद्ध पोर्चुगलले पराजय भोगे पनि रोनाल्डोलाई ‘प्लेइङ सेट’ मा नराखेकोमा कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएका छन् ।

पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले युईएफए च्याम्पियन्स लिगमा सर्वाधिक १ सय ४० गोल गरेका छन् ।

सन् २००३ मा १८ वर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यू गरेका रोनाल्डोले राष्ट्रिय टिमकै लागि १ सय १८ गोल गरेका छन् । समग्रमा रोनाल्डोले विभिन्न ३४ वटा उपाधि समेत जितेका छन् ।

उनले क्लब र राष्ट्रिय टिमका लागि समग्रमा ८१९ गोल गरेका छन् । सात वटा लिग उपाधि तथा पाँचवटा च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका रोनाल्डो फोर्ब्सको सन् २०१६ मा सर्वाधिक कमाउने खेलाडीको सूचीमा समेत परेका थिए ।

पहिलो चरणमा सन् २००३ देखि २००९ सम्म युनाइटेडका लागि खेल्दा रोनाल्डो उत्कृष्ट लयमा रहेका थिए । त्यति बेला उनले १ सय १८ गोल गरे । सन् २०२१ देखि २०२२ सम्म पुनः खेल्दा थप २७ गोल गरे ।

सन् २००९ देखि २०१८ सम्म रियल मड्रिडका लागि खेल्दा रोनाल्डोले ४ सय ५० गोल गरे भने २०१८ देखि २०२१ सम्म युभेन्टसका लागि खेल्दा १ सय १ गोल गरे ।


Author

थप समाचार
x