फुटबल

विश्वकप फुटबल

मेस्सीले विश्वकप जित्लान् कि एमबाप्पेले फ्रान्सलाई लगातार उपाधि दिलाउलान् ?

इकागज |
पुस ३, २०७९ आइतबार ११:८ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज राति अर्जेन्टिनाले साविक विजेता फ्रान्सको सामना गर्दैछ । अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल लुसेल स्टेडियममा नेपाली समयअनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।

अर्जेन्टिनी फुटबल स्टार ३५ वर्षीय लियोनल मेस्सीले उत्कृष्ट खेलाडीलाई दिइने बालोन डी’ओर अवार्ड कीर्तिमानी सात पटक हात पारेका छन् तर उनले अझैसम्म विश्वकपको उपाधि भने चुम्न सकेका छैनन् ।


‘अधिकांश फ्रान्सलाई उपाधि दाबेदार मान्छन् । तर अहिलेसम्मकै उत्कृष्ट खेलाडी टिममा भएका कारण अर्जेन्टिनालाई यस पटक अवसर छ । हाम्रो उद्देश्य पुरा गर्न हामीसँग कैयौं अवसर छन्,’ अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले बताए ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पले सन् १९९८ मा फ्रान्सलाई कप्तानको रुपमा उपाधि दिलाए भने २०१८ मा रुसमा भएको विश्वकपमा प्रशिक्षकको रुपमा पुनः फ्रान्सलाई उपाधि जिताउन सफल भए ।

‘अर्जेन्टिनीमात्र नभएर केही फ्रान्सेली समर्थकहरूले पनि मेस्सीले विश्वकप जित्ने विश्वास गरेका छन् । तर हामी आफ्नो उदेश्य पुरा गर्न जेसुकै गर्न तयार छौँ,’ डेसचाम्पले भने ।

मेस्सी र कायलियन एमबाप्पेले जारी विश्वकपमा समान ५-५ गोल गरेका छन् । साथै फ्रान्सका ओलिभियर जिरोड तथा अर्जेन्टिनाका जुलियन अल्भारेजले समान ४-४ गोल गरेका छन् ।

मेस्सीले यसअघि अर्जेन्टिनालाई सन् २०१४ को विश्वकपको फाइनल पुर्‍याए पनि जर्मनीसँग पराजित हुन पुग्यो । तर कतार विश्वकपमा भने अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन मेस्सी मुख्य खेलाडीको रुपमा उभिएका छन् ।

यसअघि सन् १९७८ तथा १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले आज तेस्रो उपाधि हात पार्ने दाउमा छ र यसका लागि मेस्सीको योगदान उल्लेख्य रहने अपेक्षा गरिएको छ ।

अर्कोतर्फ २३ वर्षीय एमबाप्पे भने लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छन् र फ्रान्सलाई फाइनलमा पुर्‍याउनु उनको उल्लेख्य योगदान छ । सन् १९९८ तथा २०१८ विश्वकप जितेको फ्रान्स पनि एमबाप्पेको सहयोगमा तेस्रो पटक विश्वकप जित्न चाहन्छ ।

बीबीसीको सहयोगमा ।


Author

थप समाचार
x