फुटबल

कतार विश्वकप

एमबाप्पेलाई पेलेजत्तिकै महान खेलाडी बन्‍ने अवसर

इकागज |
पुस ३, २०७९ आइतबार १२:१३ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनललाई सुपरस्टार लियोनल मेस्सी र कायलियन एमबाप्पेबीचको लडाईका रुपमा हेरिँदैछ । यसअघि समान दुई-दुई पटक विश्वकप जितेका अर्जेन्टिना र फ्रान्सको तेस्रो उपाधि भिडन्त चल्दा फुटबलका दुई महान खेलाडीबीचको लडाई रोचक हुने अपेक्षा छ ।

पेरिस जेन्ट जर्मेन (पीएसजी) का महँगा दुवै स्ट्राइकर उच्च लयमा छन् । मेस्सी करियरको अन्त्यतिर हुँदा एमबाप्पे भने राइजिङ स्टार हुँदै सुपरस्टार बनिसकेका छन् ।


१९ वर्षकै उमेरमा फ्रान्सका लागि विश्वकप जितिसकेका एमबाप्पेसामु उपाधि रक्षा गर्ने मात्रै होइन, लगातार दुईपटक विश्वकप जितेर फुटबलका भगवान मानिने पेलेको कीर्तिमान बराबरी गर्ने अवसर पनि हुनेछ ।

विश्वकपमा पेलेको कीर्तिमान तोडेका एमबाप्पेको सहयोगमै रुसमा सम्पन्न विश्वकपको उपाधि फ्रान्सले उचालेको थियो । फाइनलमा समेत गोल गरेका एमबाप्पेले पेलेका केही कीर्तिमान भंग गरिसकेका छन् ।

त्यसमा कम उमेरमै विश्वकपको फाइनलमा गोल गर्ने कीर्तिमान । जुन एमबाप्पेले रुस विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध गोल गरेका थिए । ग्रिजमेनका लागि पेनाल्टी गोलसमेत सिर्जना गरेका एमबाप्पेले कतार विश्वकपमा ६४ वर्ष पुरानो पेलेको अर्को कीर्तिमान पनि भंग गरेका छन् ।

विश्वकपमा पेलेले २४ वर्षमूनि ८ गोल गरेका थिए । तर एमबाप्पेले २३ वर्षकै उमेरमा ११ खेलबाट ९ गोल गरिसकेका छन् । कतार विश्वकपमा फाइनलसम्म पुगेका एमबाप्पे ५ गोलका साथ गोल्डेन बुटको दौडमा समेत छन् ।

पेलेको कीर्तिमान भंग गरेका एमबाप्पेसामु यतिबेला सबैभन्दा ठूलो कीर्तिमान भंग गर्ने स्वर्णिम अवसर छ । त्यो भनेको लगातार विश्वकप जित्ने । पेले सन् १९५८ र १९६२ मा लगातार दुईपटक ब्राजिलका लागि विश्वकप जितेका थिए ।

पेलेले तेस्रो विश्वकप सन् १९७० मा जितेका हुन् । विश्वमा तीन वटा विश्वकप जित्ने पेले एक्ला खेलाडी हुन् । यसर्थ, यसपटक कतारमा लियोनल मेस्सीको अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्सले विश्वकप जितेमा युवा उमेरमै लगातार दुईपटक विश्वकप ट्रफी उचालेर एमबाप्पेले पेलेको कीर्तिमान भंग गर्नेछन् ।

विश्वकपमा कम उमेरमै सर्वाधिक पेलेको गोल रेकर्ड तोडिसकेका एमबाप्पेले अरु यस्ता दर्जनौ रेडर्क तोड्ने अपेक्षा गरिएको छ । एमबाप्पेले अहिलेकै गति र गोललाई कायम राख्ने हो भने विश्वकपमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्ड पनि भंग गर्न सक्नेछन् ।

कतार विश्वकपको फाइनलसम्म आइपुग्दा एमबाप्पेले ९ गोल गरिसकेका छन् । समूहचरणमा पोल्याण्डविरुद्ध दुई गोल गरेका एमबाप्पे यस्तै अविश्वसनीय प्रदर्शनका कारण विश्व फुटबलकै नयाँ सुपरस्टारका रुपमा उदाएका हुन् ।

यसर्थ आइतबारको फाइनलमा अर्जेन्टिनाविरुद्ध गोल गर्न सकेमा एमबाप्पेले फ्रान्सका लागि लगातार विश्वकप जित्दै सर्वाधिक गोलको रेकर्डसमेत आफ्नो नाममा लेखाउन एक कदम अगाडि बढ्न सक्नेछन् ।

एमबाप्पेलाई मेस्सीसँग पहिलोपटक तुलना गरिएको त्यो खेल

वर्तमान विश्व फुटबलको लडाई क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच हो । आधुनिक पुस्ताकै अब्बल र उत्कृष्ट यी दुई महान खेलाडीमध्ये को अझै उत्कृष्ट भन्ने बहस सकिएको छैन ।

जुन यही विश्वकपले टुंग्याउँछ भन्ने विश्वास छ । किनकी रोनाल्डो कतार विश्वकपबाट बाहिरिसकेका छन् । विश्वकपमा रोनाल्डो सफल नहुँदा मेस्सी र एमबाप्पेबीचको तुलना मात्रै होइन, लडाई पनि रोचक छ । जुन कतार विश्वकप फुटबलको फाइनलमा आइतबार लुसेल रंगशालामा देखिनेछ ।

त्यसअघि पहिलो पटक १९ वर्षकै उमेरमा एमबाप्पेलाई मेस्सीसँग तुलना गरिएको थियो । जुन सन् २०१८ को रसिया विश्वकपको खेल हो ।

अन्तिम १६ मा अर्जेन्टिना र फ्रान्स प्रतिष्पर्धा गर्ने खेलतालिका थियो । खेलअघिको पत्रकार सम्मेलनमा फ्रान्सका डिफेन्डर स्यामुएल एम्टिटीले पहिलोपटक मेस्सीसँग एमबाप्पेको तुलना गरेका थिए ।

बार्सिलोनाकै डिफेन्डर भएका कारण मेस्सीलाई रोक्ने प्रमुख जिम्मेवारी उम्टिटीसामु थियो । किनकी मेस्सीको खेल शैली र कमजोरी उम्टिटीलाई राम्रोसँग थाहा थियो । तर मेस्सीलाई रोक्ने मात्रै नभई, मेस्सीले जसरी गोल गर्न सक्ने फ्रान्सको खेलाडी को हो ? भन्दा उम्टिटीले एमबाप्पेको नाम लिएका थिए ।

जसलाई एमबाप्पेले मेस्सीविरुद्ध चमत्कारिक दुई गोल गर्दै उम्टिटीको भनाइलाई सत्य प्रमाणित गरिदिए । मेस्सीले गोल गर्न नसकेको त्यो खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्स ४–३ गोलले विजयी भएको थियो ।

एमबाप्पेले चार मिनेटमा दुई गोल गर्दा फ्रान्सका लागि खेलको अवस्था र नतिजा उल्ट्याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिदा दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता लिएको थियो ।

तर खेलको ६४ औँ र ६८ औँ मिनेटमा दुई गोल गरेपछि फ्रान्स ४–२ गोलले अगाडि रहन सफल भयो । खेलको इन्जुरी समयमा सर्जियो अग्वेरोले गोल गरे पनि अर्जेन्टिनालाई घर फर्किनबाट रोक्न सकेनन् ।

रुसमा अर्जेन्टिनालाई घर फर्काउँदै उपाधि उचालेको फ्रान्स यसपटक पनि त्यही लयमा हुनेछ । किनकी फ्रान्सका लागि सबैभन्दा ठूला हतियार भनिएकै एमबाप्पे छन् । मेस्सी बराबर समान ५ गोल गरेका एमबाप्पेले यदि फाइनलमा गोल गर्दै फ्रान्सलाई जिताएको खण्डमा गोल्डेन बुट पनि हात पार्नेछन् ।

त्यसैले कतार विश्वकपको फाइनल मेस्सीका लागि जति महत्वपूर्ण छ, एमबाप्पेका लागि त्यो भन्दा पनि बढी महत्वपूर्ण छ । एक महान खेलाडीको शानदार बिदाई जति धैर्यताका साथ फाइनल हेरिदैँ छ पेले बराबरका महान नयाँ खेलाडीको उदयलाई पनि भव्यताका साथ हेरिएको छ ।

मेस्सीलाई पछार्दै पेलेजत्तिकै महान खेलाडी बन्ने अवसर

कतार विश्वकपको फाइनल खेल्न गइरहेका एमबाप्पेलाई फ्रान्सकै ठूलो र पेले बराबरकै महान खेलाडी बन्ने अवसर छ ।

फाइनलमा मेस्सी स्तब्ध भएको खण्डमा पेले, म्यारोडोनापछि एमबाप्पे विश्वकै तेस्रो महान खेलाडी बन्नेछन् । कम्तीमा विश्वकप फुटबलको इतिहास र उपाधिका हिसाबमा सर्वाधिक सफल खेलाडीमा एमबाप्पे पर्नेछन् ।

पेलेले तीनपटक विश्वकप जित्दा अर्जेन्टिनाका लागि म्यारोडोनाले दुईपटक विश्वकप जितेका छन् । फ्रान्सका महान खेलाडीमा मिचेल प्लाटिनी र जिनेदिन जिदान मानिन्छन् ।

प्लाटिनीले तीनपटक बालोन डी’ओर अवार्ड जितेका छन् भने जिदानले दुईपटक यो अवार्ड हात पारेका छन् । दुवै जनाले विश्वकप पनि जितेका छन् । त्यसबाहेक फ्रान्सका लागि हालै करिम बेन्जेमाले पनि बालोन डी’ओर अवार्ड जितेका छन् ।

बेन्जेमा क्लब फुटबलमा सफल देखिएपनि विश्वकपमा सफल छैनन् । प्रतिबन्धका कारण रुस विश्वकप खेल्न नपाएका उनले चोटका कारण कतार विश्वकप पनि गुमाए ।

एमबाप्पेले यसपटक विश्वकप जितेमा पहिलोपटक बालोन डी’ओर अवार्ड जित्नेछन् । उनी यसका पहिलो हकदार पनि हुन् । मेस्सीसँग पीएसजीमा खेलेका कारण उनको खेल शैली र कमजोरी एमबाप्पेलाई धेरै राम्रोसँग थाहा छ ।

त्यसमाथि पीएसजीमा हुँदा मेस्सीलाई समेत पछाडि पारेर एमबाप्पेले गोल गर्दै टिमलाई जिताएका छन् । अब त्यो खेल एमबाप्पेले कतार विश्वकपको फाइनलमा देखाउन अनिवार्य छ ।

आफूलाई युवा उमेरमै महान खेलाडीसँग तुलना गरिनका लागि साथै आफूलाई प्रमाणित गर्न पनि फाइनलमा गोल गर्दै फ्रान्सका लागि लगातार दोस्रो र समग्रमा तेस्रो उपाधि जिताउनुपर्ने दबाब एमबाप्पेसामु छ ।

यद्यपी कतार विश्वकप अर्जेन्टिनाले जित्ने फिफाकै पूर्वानुमान र विश्व फुटबलका पारखीहरुको आशालाई कसैले भत्काएर आफ्नो नाम लेख्छ भने त्यो एमबाप्पे हुनेछन् । किनकी मेस्सी त महान छँदैछन् । उनले विश्वकप नजित्दा रोनाल्डो पनि खुशी हुनेछन् ।


Author

थप समाचार
x