फुटबल

न्यूकासल र टोटेनहमले जित हात पार्दा युनाइटेड र चेल्सीले बराबरी खेले

इकागज |
चैत १८, २०८० आइतबार १०:२६ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत न्यूकासल युनाइटेड र टोटेनहमले जित हात पार्दा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा न्यूकासलले वेस्टहम युनाइटेडलाई ४-३ गोलअन्तरले पराजित गर्‍यो ।


न्यूकासलको जितमा अलेक्जेन्डर इसाक र हार्भी बार्नेसले समान २-२ गोल गरे । वेस्टहमका लागि मिकाइल एन्टोनियो, मोहम्मद कुडुस र जारोड बोवेनले एक-एक गोल फर्काए ।

जितसँगै २९ खेलबाट ४३ अंक जोडेको न्यूकासल आठौं स्थानमा उक्लिएको छ । यता यता ३० खेलबाट ४४ अंक हात पारेको वेस्टहम सातौं स्थानमा छ ।

यता पाँचौँ स्थानको टोटेनहमले १८ औँ स्थानको लुटोनलाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।

टोटेनहमको जितमा सन हेउङ-मिनले एक गोल गर्दा लुटोनका इसा काबोरेले एक आत्मघाती गोल गरे । लुटोनका लागि टाहिथ चोङले एक गोल गरे ।

टोटेनहमले २९ खेलबाट ५६ अंक जोडेको छ भने ३० खेल खेलेको लुटोनको २२ अंक छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेल्यो । युनाइटेडका लागि मासोन माउन्टले एक गोल गर्दा क्रिस्टोफर अजरले ब्रेन्टफोर्डका लागि एक गोल फर्काए ।

४८ अंकसहित युनाइटेड छैटौ स्थानमा छ भने २७ अंकसहित ब्रेन्टफोर्ड १५ औँ स्थानमा छ ।

यता चेल्सीले भने बर्नलीसँग २-२ गोलको बराबरी खेल्यो । चेल्सीका लागि कोल पाल्मरले दुवै गोल गर्दा बर्नलीका लागि जोश कुलेन र डारा ओ'शियाले एक-एक गोल फर्काए ।

यससँगै २८ खेलबाट चेल्सीले ४० अंक जोड्दा बर्नलीको ३० खेलमा १८ अंक छ ।


Author

थप समाचार
x