सरकार

विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

इकागज |
पुस १०, २०८० मंगलबार १२:४३ बजे

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी अघि बढिरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १३१औँ माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामहरूका बारेमा जनतालाई जानकारी गराउने बताए । उनले परम्परा तोडेर प्रधानमन्त्रीको रुपमा नयाँ काम गर्ने योजना आफ्नो रहेको बताए । उनले सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवहरूलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरूसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने गरेको बताए ।


‘सरकारको कुरा त अहिले भन्न सम्भव छैन । आज मैले प्रधानमन्त्रीको हैसियतमा राष्ट्रको नाममा सम्बोधन गर्दैछु । त्यसको अन्तिम तयारी भइरहेको छ । त्यसमा मुख्यता एक वर्षमा हामीले के काम गर्‍यौं ? के गर्न पाएनौँ, सकेनौँ, कहाँ जोड दिनुपर्छ भन्नेकुरा र भोलिदेखि अर्को वर्ष सुरु हुन्छ, हामीले त्यो नयाँ वर्षमा कस्ता काम प्राथमिकतामा राख्छौँ ? मैले भनेको छु, अलिकति परम्परा बसेको कुरालाई तोडेर नयाँ काममा जाने काम शुरु गरेको छु' प्रचण्डले भने ।

'सिंहदरबारको कामलाई र मन्त्रालयको कामलाई मन्त्री र मन्त्रालयका सचिवहरूले कति काम गरे कि गरेनन् । किन गरेनन् के भयो भन्ने कुरालाई आफैँ १० बजे सिंहदरबार उपस्थित हुने र मन्त्रीहरूसँग विस्तृत रुपले छलफल गर्ने र परिणाम निकाल्ने तयारी गर्नु भनेको छु' उनले भने 'त्यो कामको शुरुवात म आफैँले गरेको छु । आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी तयारी गरिसकेको छु । अर्को वर्ष हामीले विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउनै पर्छ ।’

प्रधानमन्त्री प्रचण्डले अर्को वर्ष विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी आफू अघि बढिरहेको बताए । 


Author

थप समाचार
x