सरकार

विद्युत् महसुल नबुझाएका उद्योगको लाइन जोड्न सरकारको निर्देशन

इकागज |
पुस २४, २०८० मंगलबार १७:५४ बजे

काठमाडौँ- सरकारले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर महसुल नबुझाएका कारण लाइन काटिएका उद्योगहरूको विद्युत् लाइन जडान गर्न निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा उद्योग र ऊर्जा सहसचिव रहेको तीन सदस्य समिति गठन गर्दै हाललाई उद्योगहरूको काटिएको विद्युतलाई जोड्न निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।


त्यस्तै बैठकले दूरसञ्चार प्राधिकरणका अध्यक्षको राजीनामा स्वीकृत गरेको छ । रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति गठन गर्ने र तत्कालका लागि प्राधिकरण सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरिएको उनले बताइन् । त्यस्तै बैठकले मन्त्रिपरिषदबाट विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा छुट भएका सहिदहरूको नाम प्रकाशित गर्ने र थप केहीलाई सहिद घोषणा गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विकास  परिषदमा नेपाल सरकार मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न पदाधिकारी व्यक्तिहरूबाट २५ जना सदस्यहरूको मनोनयन गर्ने निर्णय पनि गरेको छ । 


Author

थप समाचार
x