सरकार

तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछु : प्रधानमन्त्री

इकागज |
माघ १, २०८० सोमबार १४:२९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने बताएका छन् । 

सोमबार दिउँसो नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित 'आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । 


प्रधानमन्त्रीले भने, ‘तपाईँहरूलाई थाहै छ– मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ । जति बेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यति बेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिअंकुश संसदले राजनीतिक स्थायित्व दिने/नदिनेमा निकै ठूलो संशय थियो। तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन्।’

प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार हुँदै गएको बताउँदै उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गरे । उनले अर्घाखाँची जिल्लाको विकासमा संघीय सरकारले प्राथमिकता दिने बताउँदै जिल्लाको विकासप्रति जिल्लाका राजनीतिक दलहरूमा देखिएको एकता र सहकार्यप्रति आभारसमेत प्रकट गरे । 


Author

थप समाचार
x