सरकार

सहकारीमा मेरै २३ लाख डुबेको छ,  मेरो पैसा उठाइदिए सांसदलाई अलिकति उपहार दिन्थें : मन्त्री अर्याल (भिडियो)

इकागज |
चैत २४, २०८० शनिबार १४:३ बजे

फाइल तस्बिर

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरूको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् ।

शनिबार रास्वपा क्षेत्र नम्बर ५ समिति काठमाडौँले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रममा श्रममन्त्री अर्यालले रास्वपाल इक्वेल सहकारी भन्दै हिँड्ने सांसहरूप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् भन्दै चेतावनी दिएका हुन् ।


उनले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनैपनि राजनीतिक दलले केही पहल नगरेको भन्दै कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसदमा आवाज उठायो ? भन्दै प्रश्न गरे । उनले सहकारीको समस्या समाधानको लागि काम गरेर सहकारी पीडितको पैसा फिर्ता गर्नेतिर सोच्ने की मान्छेलाई जेलमा कोचेर उनीहरूको पैसा फिर्ता नगर्नेतिर जाने भन्नेतर्फ ध्यान दिन आग्रह गरे ।

उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक/दुई लाख रुपैयाँसम्म दिने बताए । उनले सो सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी समेत गरे ।

मन्त्री अर्याललले कांग्रेसका युवा नेताहरूलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरूले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भएपनि रास्वपा आइसकेपछि आफूहरूको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको आरोप समेत लगाए ।
 


Author

थप समाचार
x