सरकार

प्रदेश-१ र बागमतीमा मुख्यमन्त्री फेर्ने निश्‍चित

प्रदेश १ एकीकृत समाजवादी र बागमती कांग्रेसको भागमा

इकागज |
भदौ १५, २०७८ मंगलबार १५:४६ बजे

काठमाडौँ- पार्टीभित्र विग्रह-विभाजनसँगै एमालेले अब प्रदेश-१ र बागमती को मुख्यमन्त्रीसहित सत्ता गुमाउनुपर्ने स्थिति पैदा भएको छ । पार्टीको आन्तरिक कलहकै कारण एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र सत्ता गुमाइसकेको छ ।

सत्तारुढ गठबन्धनभित्र प्रदेश-१ र बागमती मा सत्ता बाँडफाँटसम्बन्धी छलफल शुरु भएको र छिट्टै निर्णयमा पुग्ने सम्भावना बढेको छ । प्रदेश-१ मा एमालेबाट विभाजित दल नेकपा (एकीकृत समाजवादी) र प्रदेश-बागमती को मुख्यमन्त्री नेपाली कांग्रेसले लिने ‘सैद्धान्तिक सहमति’ बनेको छ ।


अब बाँकी प्रदेशमा मुख्यमन्त्री बाँडफाँटबारे छलफल भइरहेको हो भन्ने प्रश्नलाई सरकारका प्रवक्ता तथा कानुन, न्याय, संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘इन्कार’ गरेनन् । कार्कीले त्यतिमात्र भने, ‘त्यो सम्भावना छ ।’

एकीकृत समाजवादीले प्रदेश-१ मा भावी मुख्यमन्त्री को हुने भन्ने नाम चाहिँ प्रस्ताव गरेको छैन । उता प्रदेश-बागमती मा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नै मुख्यमन्त्री बन्ने सम्भावना छ ।

सत्तारुढ गठबन्धन दलले मुख्यमन्त्री फुत्काउने सम्भावना देखेसँगै एमालेले भर्खरै मात्र प्रदेश-१ र बागमती मा नाटकीय शैलीमा मुख्यमन्त्री फेरेको थियो । एमालेले प्रदेश-१ मा शेरधन राईका ठाउँमा भीम आचार्य र प्रदेश-बागमती मा डोरमणि पौडेललाई फिर्ता बोलाउँदै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।

आचार्य र शाक्य दुवै एमाले विभाजन हुनुपूर्व माधवकुमार नेपाल-झलनाथ खनालसँगै थिए । दुवैले पछिल्लो समयमा गुट फेरेका हुन् । एमालेमा उत्पन्न विग्रहकै कारण गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेलले मुख्यमन्त्री पद गुमाएका थिए । कर्णाली र सुदूरपश्चिममा शुरुदेखि नै माओवादीका मुख्यमन्त्री छन् । एमालेले ती दुवै प्रदेशबाट माओवादी मुख्यमन्त्री हटाउने प्रयत्न गरेको थियो । उसको प्रयत्न असफल हुन पुगेको थियो । 
 


Author

थप समाचार
x