सरकार

जनकपुर-जयनगर रेल यसै वर्षदेखि संचालनमा आउँछ: मन्त्री यादव

सुभाष कर्ण |
मंसिर १४, २०७८ मंगलबार १६:३७ बजे

जनकपुरधाम - जनकपुरधाम—जयनगर रेल यसैवर्ष भित्र संचालन हुने गरि नेपाल सरकारले तयारी अघि बढाइरहेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले बताएकी छिन् । 

नेपाल सरकारले खरिद गरेको दुई सेट रेल कर्मचारी र कानुन अभाव लगायतका कारणले करिब ८ महिना देखि थन्काएर सीमावर्ती क्षेत्र इनर्वामा राखिएको रेल र निर्मित पूर्वाधार निरीक्षणका लागि मंगलबार जनकपुरधाम आएकी मन्त्री यादवले कानून आभावका कारण ढिलाई भइरहेको बताईन् ।


निरीक्षणको क्रममा पत्रकारहरुसंग कुरा गर्दै उनले भनिन्, 'कानुन निर्माणका लागि अध्यादेश सम्बन्धी कार्य अघि बढाइ सकिएको छ, ठ्याक्कै यही मितिदेखि संचालन हुन्छ भन्ने यकिन नरहेपनि नेपाल सरकार चाँडै नै संचालन गर्ने तयारीमा रहेको छ । जहाँसम्म बजेट र कर्मचारी व्यवस्थापनको कुरा हो त्यसमा सम्बन्धित निकायबाट आएको माग बमोजिम अघि बढनेछौं ।'

उनले भारतीय सीमा जयनगर देखि जनकपुरधामको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भएको जानकारी दिइन् । प्रधानमन्त्री र अर्थमन्त्रीसँग निरन्तर कुरा भइरहेको छ, अध्यादेश मार्फत नै रेलवे संचालनको कार्य अगाडि बढेकाले यसैवर्ष संचालन हुने गरी तयारीमा हामी छौं, उनले भनिन् ।

मन्त्री यादवले अध्यादेशको कार्य सम्पन्न भइसकेको जानकारी दिदैँ सदनबाट पारित गरेर तीव्र बजेट, कर्मचारी र प्रशासनिक कार्य अघि बढाइने बताइन् । उनले केही कागजी प्रक्रियाहरु बाँकी रहेकोले त्यसको तयारी पश्चात दुबै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेलको उद्घाटन गराइने दाबी गरिन् । 

निरीक्षण कार्यक्रममा सहभागी रेल्वेका महाप्रवन्धक निरञ्जन झाले ६ सय २३ करोड लागतमा निर्माण गरिएको जयनगर–कुर्था रेलमार्ग भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिदैं रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भईसकेपनि कर्मचारी व्यवस्थापन, कानुन र र भाडादर निर्धारण लगायतका काम बांकी रहेको बताए ।

महाप्रवन्धक झाले भने, 'गत ८ महिनादेखि थन्काएर राखिएको कारण रेल संचालन गर्न सक्ने अवस्था छ/छैन बारे विभागले भारतीय कम्पनी केआरसीएललाई प्राविधिक अवस्था चेकजाँचका लागि पत्राचार गरिसकेको छ । त्यहाँबाट चेकजाँच पश्चात आएको रिपोर्टको आधारमा संचालन प्रक्रिया अघि बढाउनेछौं ।'

रेल संचालनको मांग गर्दै ज्ञापन

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनकपुरधाम–जयनगर रेल्वे चाँडै सञ्चालन गर्न माग गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व श्री रामजानकी विवाहोत्सव भारतलगायत विश्वकै हिन्दूहरुको आस्थाको पर्व र पर्यटकका लागि महत्वपूर्ण अवलोकन गन्तव्य रहे पनि रेल्वे सञ्चालन नहुँदा सबै क्षेत्र ओझेलमा परेको भन्दै लोसपाले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा सरकारले जानीजानी रेल्वे संचालनमा गर्दै आएको अटेरीका कारण खरिद राखिएका इन्जिन, बोगी खराब हुँदै गएको र ट्रयाक समेत बिग्रिदै गएकोले यथाशिघ्र संचालन नगरिए सरकारलाई ठूलो क्षति हुने ध्यानाकर्षण समेत गराएका छन ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले आफूहरुले पनि रेल्वे चाँडै सञ्चालन होस् भन्ने चाहिरहेको अवस्थामा संघ सरकारको प्रदेश २ प्रतिको दृष्टिकोण नै नकारात्मक रहेकोले यसमा ढिलाई भईरहेको बताए । ज्ञापन पत्र बुझ्दै प्रदेश प्रमुख मिश्रले पनि रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने आश्वासन दिएका थिए ।

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भएर वर्षौ बितिसक्यो, नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरेर सीमावर्ती क्षेत्र ईनर्वामा थन्काएर राखेको छ । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल अहिले जर्जर अवस्थामा पुगिसकेको छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x