स्वास्थ्य

सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र : चिकित्सक न उपकरण

त्रिवि शिक्षण अस्पतालले मागेकाे दरबन्दी स्वास्थ्य र अर्थ मन्त्रालयमा राेकियाे

अतिन आचार्य |
असार २७, २०७९ सोमबार १७:३१ बजे

काठमाडौँ- त्रिवि शिक्षण अस्पतालको परिसरभित्र सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्रको भवन छ । केन्द्रको भवनमा निलो रंगका सिसाहरू टल्केका छन् । अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण भरिभराउ  हुनुपर्ने ठाउँमा सिसा मात्र देखिन्छन् ।

देख्दा बिरामी र चिकित्सकको चाप होला जस्तो लाग्छ । औँलामा गणना गर्दा पुग्ने देखिन्छन् । भवन बन्यो उपचार पनि सुरु भयो तर, न सोचे जस्तो उपकरण छ । न त चिकित्सक नै ।


केन्द्रको भवन गत वर्षदेखि सञ्चालनमा आयो । सम्पूर्ण आवश्कीय संरचना तयार नहुँदा सम्म भवनको उदघाटनसमेत हुन सकेको छैन । तर, भवन सञ्चालनमा आएसँगै पर्याप्‍त चिकित्सक र आवश्यक उपकरण नहुँदा अस्पतालले आवश्यक सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।

केन्द्रको भवन सुचारु भए पनि सरकारले ध्यान नदिँदा उपकरण र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था हुन सकेको छैन । सर्वसाधारण बिरामीदेखि कयौँ विशिष्ट व्यक्तिले उपचार पाउन सक्ने गरी संरचना तयार भए पनि सरकारको बेवास्ताले अव्यवस्थित बन्दै गएको छ । हाल केन्द्रबाट क्यान्सरका बिरामीले डे केयर र केही संख्यामा कोभिड संक्रमितको उपचार भइरहेको छ ।

गत वर्षदेखि कोभिड-१९ को दोस्रो लहरमा संक्रमितलाई उक्त भवनमा राखी उपचार गरिएको थियो । जुन समयमा अस्पतालको भवन सञ्चालनमा आइसकेको थिएन । यता देशकै पुरानो र ठूलो त्रिवि शिक्षण अस्पतालमा कोभिडका संक्रमितको उपचार गर्ने ठाउँ अभाव हुँदा उक्त भवनमा राखी उपचार सुरु भएको थियो । देशभरबाट आएका संक्रमितलाई अस्पतालले उक्त भवनमा राखी उपचार गर्ने व्यवस्था मिलाएको थियो । तत्कालै केही संख्यामा बेड राखी उपचारको व्यवस्था पनि गरेको थियो ।

केन्द्रको उक्त भवन क्यान्सरका बिरामीलाई विशेष उपचार गर्न स्थापना भएको हो । हाल क्यान्सरको ओपिडी सेवा, क्यान्सर स्क्रिनिङ, डे–केयर केमोथेरापी जस्ता सेवा पनि प्रदान गरिरहेको छ । त्यस्तै रक्त क्यान्सरको उपचारका लागि ‘बोनम्यारो’ प्रत्यारोपणको सेवा अस्पतालमै सुरु भएको छ।

केन्द्रमा क्यान्सर लगायत विभिन्न रोग तथा कोभिड संक्रमित उपचार हुने गरेको छ । त्रिवि शिक्षण अस्पतालको व्यवस्थापनमा बिरामीको उपचार भइरहेको छ ।

हाल उक्त केन्द्रलाई त्रिवि शिक्षण अस्पतालले सञ्चालन गरिरहेको छ । केन्द्रमा अस्पतालकै स्वास्थ्यकर्मी खटिएका छन् । केन्द्रमा स्वास्थ्यकर्मीको दरबन्दी पर्याप्त नहुँदा अस्पतालले आवश्यक सेवा दिन सकिरहेको छैन ।

पर्याप्त जनशक्ति र उपकरण नहुँदा केन्द्रले पूर्ण रुपमा सेवा दिन सकेको छैन । हाल केन्द्रका लागि मात्र तीन सय स्वास्थ्यकर्मीको दरबन्दी जरुरी रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. सुवास आचार्यले जानकारी दिए ।

'अस्पतालमा भएको स्वास्थकर्मीले केन्द्रमा सेवा प्रवाह गरिरहेका छन्,' उनले भने,' अस्पतालको आन्तरिक स्रोतबाट स्वास्थ्यकर्मीहरूलाई परिचालन गरिएको छ ।' भवन तयार भए पनि केन्द्रबाट आवश्यक सेवाहरू सहजै प्रदान गर्न नसकिएको उनको भनाइ छ ।

अस्पतालले केन्द्रमा दरबन्दी थप गर्नका लागि स्वास्थ्य र अर्थ मन्त्रालयमा माग गरिसकेको छ । 'केन्द्रबाट गुणस्तरीय सेवा प्रदान गर्नका लागि मुख्य कुरा जनशक्तिको खाँचो पर्छ,' डा. आचार्यले भने,' विज्ञ जनशक्ति र आवश्यक भौतिक संरचना नभएर पूरा सेवा दिन सकिएको छैन ।'

उनका अनुसार केन्द्रमा कूल ७० शैय्या छन् । ३० आइसीयूसहितको एचडीयू बेड छन् । केन्द्रमा भएका संरचनाहरू पर्याप्त छैनन् । उपकरणलाई व्यवस्थापन गर्ने काम पनि भइरहेको छ ।

हाल सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्रसहित त्रिवि शिक्षण अस्पतालमा करिब ८ सय दरबन्दी जरुरी रहेको उनले जानकारी दिए । अस्पतालले आन्तरिक स्रोतबाट ६ सय स्वास्थ्यकर्मीलाई धानिरहेको उनले सुनाए ।

अस्पतालले सबैभन्दा बढी कर्मचारीलाई आन्तरिक स्रोतबाट धानेको छ । आवश्यक संरचना तयार भए पनि सरकारले उपकरणदेखि दरबन्दी नथपेकाले अस्पतालले सेवा दिन नसकिरहेको उनले गुनासो गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x