स्वास्थ्य

हेटौंडा अस्पतालमाथि नागरिक निगरानी

निःशुल्क पाइने औषधि किन्‍न निजीमा, फार्मेसीका औषधि म्याद गुज्रेर नष्ट

सरिता दाहाल |
साउन ६, २०७९ शुक्रबार १२:१५ बजे

मकवानपुर - मकवानपुरको एक मात्रै सरकारी अस्पताल हेटौंडा अस्पतालमा बेथिति बढेकोमा नागरिक समाजले पछिल्लो दुई सातायता कडा निगरानी जारी राखेका छन् । स्वतन्त्र युवा/नागरिकहरूले निगरानी गरेपछि अस्पताल प्रशासनले सुधारको केही पहल गरेको छ । 

यद्यपि अस्पतालको अवस्था अझै अपेक्षाकृत नभएको गुनासो सर्वत्र आइरहेको छ । बिरामीलाई उपचारको लागि टिकट लिनकै लागि तीन दिनसम्म लाइनमै बितेको गुनासो आएपछि युवाहरूको समूहले ढिलाइको कारण खोतल्दै अस्पताल परिसरमै बसेर लगातार निगरानी गरेको थियो । 


टिकटको लागि २ देखि ३ घण्टा लाइन बस्नुपर्ने, त्यसपछि डाक्टर भेट्न फेरि उतिकै समय लाइन बस्नुपर्ने, डाक्टर भेटेर ल्याबमा जाँदा ल्याब टेस्ट/एक्सरेको समय सकिने, टेस्ट भएकाहरूको रिपोर्ट देखाउन जाँदा डाक्टरहरूको सेवा समय सकिने अनि भोलि फेरि धाउनु पर्ने भोलिपल्ट फेरि डाक्टर भेट्न र औषधि किन्न फार्मेसीमा उसैगरी लाइन बस्नुपर्ने समस्या भएपछि युवाहरूले सेवामा सुधारको लागि दबाब दिएका थिए ।

स्वतन्त्र सार्वजनिक सेवा सुधार समितिको नाममा अस्पतालमा सेवा सुधारको लागि दबाब जारी राखिएको छ । 'हामीले अस्पतालमा किन सबै प्रकारको सेवामा ढिलाइ भइरहेको छ भन्ने निगरानी राख्यौ, यहाँभित्र धेरै बेथिति र बेवास्ता गरिएको भेटियो, टिकट काट्न, डक्टर भेट्न, ल्याब टेस्ट, गर्न, एक्सरे गर्न, रिपोर्ट देखाउन, अनि औषधि किन्न एकै व्यक्ति ६ पटकसम्म लाइनमा बस्नुपर्ने र प्रत्येक पटक ३ घण्टासम्म लाइनमा बस्नु परेको हामीले भेट्यौ, यि सबै झण्झट व्यवहोर्नु भन्दा निजीमा जाउ भन्ने सोच सबैमा आउँछ,,' दबाब समूहमा खटिरहेका युवा निरजसिंह ठकुरीले भने, 'बेथिति खोतल्दै जाँदा डक्टरले गम्भिर बिरामीलाई पनि सामान्य भनेर फिर्ता पठाएको समेत भेट्यौ, यो त अति भो ।'

बारा कलैया घर भइ हेटौंडा निवासी सिकेन्द्र साह २४ असारमा हेटौंडा औद्योगिक क्षेत्रको एक उद्योगको छाना मर्मत गर्ने क्रममा लडर टाउकोमा चोट लागेपछि हेटौडा हस्पिटल उपचारको लागि आए । अस्पतालले टाउको सिटी स्क्यानलगायत सबै टेष्ट गर्दा सबै सामान्य भनेर घर पठाइदियो । तर बिरामीलाई पीडा बढ्दै आएपछि हेटौंडाको सन्चो हस्पिटलमा जाँच गर्दा गम्भीर चोट लागेकोले आईसीयुमा राखेर उपचार गर्नुपरेको ठकुरीले बताए । 

'हाम्रो खबरदारी स्वतन्त्र सार्वजनिक सेवा सुधार समितिको मात्र होईन यो आममकवानपुरबासी र यहाँ आउने सबै सेवाग्राहीको लागि हो,' ठकुरीले भने । आफूहरूले अस्पताल प्रशासनसँग हातेमालो गरी व्यथिति हटाउन होस्टेमा हैंसे गरेको उनले बताए । गर्मीको चाप बढिरहेको बेला लाइनमा नै बिरामी ढल्ने अवस्था भएपछि पंखाको व्यवस्था गरेको उनले बताए । 'सुधार गर्न सकिने सामान्य कुरामा पनि अस्पतालले ध्यान नदिएको हामीले पायौ, त्यस्ता सामान्य सुधार गर्दा पनि सेवाग्राहीलाई राहत हुन्छ' उनले भने ।

बिरामीको चाप बढेकोले व्यवस्थापनमा समस्या

हेटौंडा अस्पतालमा बिरामीको चाप बढेपछि व्यवस्थापनमा समस्या भएको बताउँछन् प्रतिष्ठानका रजिष्टार तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रसाई । ५ वर्ष अघि १५० शैयाको लागि स्वीकृत हेटौंडा अस्पतालमा हाल ११० शय्या सञ्चालनमा छ । सबै शय्याहरू बिरामीले भरिएपछि व्यवस्थापनमा समस्या भएको उनले बताए । ओपीडीमा दैनिक ५५० बिरामीले सेवा लिने गरेकोमा हाल सेवा लिनेको सङ्ख्या ८०० पुगेको उनले बताए । 'इमर्जेन्सीमा जम्मा ९ वटा शय्या छ, समस्या त छ नि,' उनले भने, '१५० शय्या स्वीकृत भए पनि ११० बेड मुस्किलले अटाएका छौ, बेड राख्ने ठाउँ नै छैन ।'

निर्माण कार्य लगभग सम्पन्न भैसकेको नयाँ भवनमा सेरपछि बेडको समस्या समाधान हुने उनले बताए । 'साउन १० देखि १५ गतेभित्र नयाँ भवन हामीलाई हस्तान्तरण हुने कुरोछ, त्यसपछि २०० बेड राखेर उपचार गर्ने छौं' प्रसाईँले भने ।

आमा बिरामी भएर उपचारको लागी ल्याउँदा ओपीडीमा बेड नभएपछि दुई दिनसम्म इमर्जेन्सीमा बिरामी राखेर निजी अस्पतालमा लैजानु परेको हेटौंडा–५ की शारदा सापकोटाले बताइन् । इमर्जेन्सीमै हुँदा पनि स्वास्थ्यकर्मीहरूले उस्तो चासो नराख्ने गरेको उनले बताइन् । 'बिरामीको चाप बढी भएकोले होला, वास्ता गर्नै नभ्याउने रहेछन्, हामी बाध्य भएर निजीमा सर्‍यौँ,' सापकोटाले भनिन् ।

बिरामीलाई फार्मेसी पठाउने, म्याद सकिएको औषधि अलपत्र 
निगरानीकै क्रममा निःशुल्क पाइने औषधि किन्न फार्मेसी पठाएको पाइएको युवाहरूले अस्पताल व्यवस्थापन समिति अध्यक्ष राजेश प्रसाईँलाई युवाहरूले यसको कारण माग गरे । संघीय सरकारले हेटौंडा अस्पताललाई उपलब्ध गराउनु पर्ने रकम उपलब्ध नगराउँदा औषधि खरिदमा समस्या भएको प्रसाईँँले बताए । अस्पतालले वर्षमा १४ करोड बराबरको कारोबार गर्ने र हाल ९ करोड रुपैयाँ संघीय सरकारबाट रोकिँदा समस्या भएको उनले बताए । 

अहिले अस्पतालमा स्वास्थ्य बिमाको औषधि वितरणमा पनि समस्या भएको उनले बताए । 'यो विषयमा समस्या ठेकेदारलाई पैसा दिन नसक्दा भएको हो' उनले भने । औषधिको ठेक्का पारेको, 'एक्सिस फर्मलाई ८० लाख रूपैयाँ दिन नसक्दा औषधि आउनै समस्या भएको छ' उनले भने ।

यता अस्पतालले निःशुल्क वितरण गर्नुपर्ने सूचीका औषधिको म्याद सकिएपछि गोप्य ढंगले नष्ट गर्दैगर्दा युवा तथा उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीहरूले फेला पारे । हेटौँडा अस्पतालमा पछिल्लो समय म्याद गुज्रिएका औषधि गोप्य ढंगले नष्ट गर्ने तयारी हुँदै गर्दा युवा र मिडियामार्फत सार्वजनिक भएपछि नष्ट गर्ने काम रोकिएको छ ।

अस्पतालले निःशुल्क वितरण गर्ने औषधि आफूसँग नभएको भन्दै मेडिकलमा किन्न पठाउने गरेको तर भण्डारण कक्षमा ठूलै परिमाणमा त्यस्ता औषधिको उपभोग्य मिति नै सकिएको पाइएपछि स्थानीयहरू रुष्ट भएका थिए । उपभोग्य मिति सकिएका औषधिको व्यवस्थापन गर्न लाग्दा रंगेहात समातिएपछि अस्पताल प्रशासन फेरी विवादमा तानिएको थियो ।

निःशुल्क बाँड्नुपर्ने औषधि थन्क्याएर बिरामीको स्वास्थ्यमाथि बेइमानी गरी म्याद गुज्रिएपछि औषधि फाल्नुपर्ने अवस्था आएको भन्दै यसको छानविन बिना नष्ट गर्न रोक लगाइएपछि हाल औषधि बेवारिसे भएको छ । नागरिकलाई सित्तैमा वितरणको लागि नेपाल सरकार तथा भारत सरकारले उपलब्ध गराएका औषधि बिरामीलाई नदिने गरेको खुलासा भएको थियो । यता अस्पताल प्रशासनले उक्त औषधि आफूहरूको नभई यस अघि अस्पताल हातभित्रै रहेको स्वास्थ्य कार्यालय मकवानपुरको रहेको दाबी गरेको छ । 

अस्पतालको स्टोरमा रहेको औषधि के कति परिमाणमा छ भन्ने एकिन जानकारी अस्पतालले दिएको छैन । हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्रसाईँँले उक्त औषधि आफूहरूको नभएको दाबी गरिरहेका छन् । 'त्यो औषधि हाम्रो (हेटौंडा अस्पतालको) लागि आएको थिएन' प्रसाईँँले भने, 'स्वास्थ्य कार्यालयको औषधि हो, हामीले म्याद गुज्रेको थाहै पाएनौँ ।'

यता स्वास्थ्य कार्यालय मकवानपुरले पनि उक्त औषधि स्वास्थ्य कार्यालय मकवानपुरको नभइको स्पष्ट पारेको छ । 'हामी त्यहाँ –हेटौंडा अस्पताल परिसर) बाट सरेकै ५ वर्ष भैसक्यो, त्यो औषधि हाम्रो कसरी हुन्छ,'  स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाईंले भने, 'हाम्रो त्यहाँ स्टोर पनि छैन ।'

लाखौँ मूल्यका औषधि डिस्पोजका लागि फोहोर व्यवस्थापन कक्षमा राखिएकोप्रति उपभोक्ता हित संरक्षण मञ्च नेपालले औषधि रोक्का राखी छानबिन गरी पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई अघिल्लो शुक्रबार पत्र बुझाएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र देव पाण्डेको अध्यक्षतामा छानबिन समिति गठन भएको भए पनि छानविनको काम अघि बढेको छैन । 

तर, औषधि व्यवस्थापन गर्न रोक लगाउँदै चिठ्ठी काटेको समितिले अझै पनि छानबिनको प्रक्रिया सुरु नगर्दा म्याद गुज्रिएको औषधि डिस्पोज गर्न नपाएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले बताए । म्याद गएको औषधि बेचेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने मनसाय नभएकै कारण फाल्नको लागि राखिएको उनले बताए । छानबिन गर्न बनाइएको भनिएको समिति अस्पतालको सम्पर्कमा नरहेकै कारण अहिले ती औषधि जहाँको त्यहीँ राखिएको मेसु सापकोटा बताउँछन् । 

कोरोना माहामारीका पनि कारण औषधि समयमा सेवाग्राहीको पहुँचसम्म पुर्‍याउन नसकिएको उनले बताए । प्रशासनको छानविनलाई आफूहरूले सहयोग पुर्‍याउने उनले बताए । उनका अनुसार अहिलेसम्म पनि छानविन टोली सम्पर्कमा आएको छैन । कोरोना कारण दुई वर्षसम्म लकडाउन हुँदा अस्पतालमा आपतकालीन बाहेकका बिरामी नआएको औषधि खेर गएको उनले बताए । खेर गएका औषधि अधिकांश  बालबालिकामा प्रयोग हुने औषधि रहेको उनले बताए । 

हरेक वर्ष यसरी प्रयोग गर्न बाँकी रहेको औषधि डिस्पोज गर्ने गरिएको सापकोटाले बताए । 'हामीले विभिन्न कम्पनीबाट औषधि ल्याउँछौँ । सबै औषधिको अग्रिम पेमेन्ट भएको हुँदैन । औषधि सकिइसकेपछि दिने गरिन्छ । त्यति मात्रै होइन डेट एक्पाएर भएका औषधि उक्त कम्पनीलाई फिर्ता लिन बोलाउँदा पनि नआएर त्यतै फालिदिनू भन्ने गर्छन् । सोही अनुसारले हामीले फोहोर व्यवस्थापन कक्षमा राखेका हौँ,' सापकोटाले भने ।

उनका अनुसार २०७० सालदेखिका औषधि स्टकमा रहेको थियो । 'अस्पतालको फार्मेसीमा राखेर बेचेका भए पो हामीले गल्ती गर्यौं भन्ने प्रमाणित हुन्थ्यो, आवश्यकताभन्दा धेरै भण्डारण भएका कारण नसकिएको हो,'  सापकोटाले भने । उक्त औषधिको पैसा अस्पतालले भुक्तानी नगरेको उनले बताए । 

अस्पताल प्रशासनका अनुसार प्रत्येक वर्ष ७ देखि १२ लाख रुपैयाँ बराबरको औषधिको म्याद गुज्रेकै कारण नष्ट गर्दै आएको उनले बताए ।

यता, छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्र काटेको उपभोक्ता हित संरक्षण मञ्च नेपालको लिखित माग हालसम्म सम्बोधन नभएको  केन्द्रीय उपाध्यक्ष बासु खतिवडाले बताए । उपभोक्ताले निःशुल्क रुपमा पाउनुपर्ने औषधि नपाइरहेको व्यापक जनगुनासो आइरहँदा समेत वितरणमा समस्या भइरहेको हो अथवा अस्पताल प्रशासनको लापरबाही भएको हो, त्यसको सत्य तथ्य छानबिन गर्न मञ्चले माग गरेको छ । 

सो औषधिको स्रोत समेत पत्ता लगाई दोषीउपर कानुनबमोजिम कारबाही माग गर्दै औषधि तत्काल शिलबन्दी गरी छानबिन गरियोस् भन्दै केन्द्रीय उपाध्यक्ष खतिवडाको हस्ताक्षरित निवेदन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाइएको थियो । तर, सर्वदलीय समिति बनाएर आफ्नो संस्थाका एक–दुईजना कर्मचारीलाई मात्रै समितिमा राखिएको भन्दै केन्द्रीय उपाध्यक्ष खतिवडाले यसमा आफ्ना कुरा सम्बोधन हुन जरुरी रहेको बताए । 

संस्थाको सुनुवाई नै नभएको बताउँदै उनले भने, 'हाम्रो लिखित प्रस्तावलाई सम्बोधन गरिएको छैन । समिति बनेको केही दिन भयो । यदि हामीले भनेका मागहरू सम्बोधन भएन भने हामी प्रतिवादमा उत्रन्छौँ ।'

आफूहरू कानुनी प्रक्रियाअनुसार अघि बढेका कारण संस्थाको हक अधिकारअनुसार छानबिन गर्न पाउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालले माग गर्दै आएको छ ।

मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले १५ दिनभित्र औषधि सम्बन्धको छानबिन गरिने बताए । 'हामीले सर्वदलीय छानबिन समिति बनाएका छौँ, पाण्डेले भने “समितिले सबै कुराको छानविन गरेर प्रतिवेदन तयार गर्नेछ ।' सोही प्रतिवेदनअनुसार काम कारबाही गघि बढ्ने उनले बताए ।

ओपीडीको टीकट अनलाइनबाट काट्न सकिने
अनरवत दबाबपछि हेटौंडा अस्पतालले घन्टौ लाइनमा बसेर ओपीडी सेवाको टिकट लिन पर्ने बाध्यताबाट सेवाग्राहीलाई छुट्कारा दिलाएको छ । 

अब घरमै बसेर मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । मोबाइल एपमार्फत ओपिडी सेवाको टिकट र अन्य धेरै सेवाहरू अनलाइनबाटै लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ । हाल उक्त सेवा बीमा बाहेकका सेवाग्राहीको सुरु भएको र बीमाका सेवाग्राहीका लागि समेत चाँडै उक्त सेवा सुचारु गरिने अस्पतालले जनाएको छ ।

मोबाइलबाटै आफूलाई चाहिने चिकित्सकको ओपीडी समय लिन सक्नेछन् । त्यसका लागि हेटौंडा हस्पिटल एप डाउनलोड गर्नु पर्नेछ । उक्त एप मार्फत ल्याव रिपोर्ट समेत मोवाइलबाटै हेर्न मिल्ने छ । 

अस्पतालले सेवाको बारे नागरिकलाई बुझाउन अस्पताल परिसरमा हेल्प डेस्कको समेत स्थापना गरेको छ । बिरामी र बिरामीका आफन्तलाई अनलाइनबाट टिकट कसरी काट्ने र कसरी पैसा तिर्ने भन्ने सिकाउनको लागि डेस्क राखिएको अस्पतालले जनाएको छ ।

अनलाइन टिकट लिने तरिका
सुरुमा तपाई मोबाइलको प्लेस्टोरमा जानुहोस ।
hetauda hospital टाइप गरी उक्त एप डाउनलोड गर्नुहोस् । एप खोलेपछि सुरुमा आफ्नो मोबाइल नम्बर राख्नुहोस ।

ओटिपि कोडको लागि एकैछिन कुर्नुहोस । तपाईको मोबाइलमा कोड आएपछि उक्त कोड राख्नुहोस अनि खष्चभाथ बटममा थिच्नुहोस ।

त्यसपछि तपाइँको जिमेल एकाउन रोज्ने अप्सन आउछ एउटा एकाउन्ट रोज्न सक्नुहुन्छ ।
त्यसपछि तपाइको व्यक्तिगत विवरण भर्नुहोस् र Submit मा थिच्नुहोस ।

पासवर्ड राख्ने २ वटा कोठा देखिने छ । उक्त कोठाहरूमा तपाइँले सम्झिने पासवर्ड राख्नुहोस । २ वटै कोठामा राखिएको पासवर्ड एकै हुनुपर्नेछ ।

त्यसपछि तपाइको ठेगाना राख्ने स्थान आउनेछ, माथि कपष्उ भन्ने बटम देखिएपनि यो तपाईले अनुवार्य भर्नु पर्नेछ । तपाइँको व्यक्तिगत विवरण पुरा भयो ।

अब तपाईलाई के सम्बन्धि समस्या छ सम्बन्धित नाममा थिच्नुहोस । कति गते चिकित्सकलाई भेट्नुपर्ने हो सोहि गतेमा थिच्नुहोस ।

अब तपाई नयाँ बिरामी हो या पुरानो हो छुट्याउनुहोस्, नयाँ हुनुहुन्छ भने नयाँमा थिच्नुहोस । त्यहाँ तपाइको नाम देख्नुहुनेछ त्यहाँ थिच्नुहोस । (पुरानो बिरामी भए ओपिडी नम्बर राख्नुहोला )

त्यहाँ तपाइको विवरण आउने छ । अब तपाइले ओपिडी टिकटको शुल्क तिर्नु पर्ने हुन्छ ।  तल उबथ लयध  मा थिच्नुहोस ।

टिकट लिनको लागि ४ वटा माध्यम देखिन्छन् । आइएमइ पे, कनेक्ट आइपिएस् , इ–सेवा र खल्ती एप ।  तपाईले यी ४ मध्ये एक छानेर ओपिडी शुल्क ३० रुपैयाँ  अनलाइनबाट भुक्तानी पर्नुपर्ने छ ।

अब तपाइकोको ओपिडी टिकट काटिएको छ ।  तपाइले रोज्नु भएको दिन सम्बन्धित स्वास्थ्य समस्याको चित्कित्सक बस्ने कोठामा तपाईको टिकट पुग्ने छ ।

४ वर्ष अघिसम्म रिफर सन्टेरको नामले चिनिदै आएको हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा आएपछि धेरै सुधार भएको थियो । स्वास्थ्य सेवाको प्रभावकारीतामा वृद्धि गरिएसँगै बेडसँङ्ख्या समेत थपिएको थियो । तर प्रदेश सरकारमा राजनीतिक नेतृत्व फेरिएपछि अस्पतालको अवस्था पुरानै हालतमा फर्केको स्थानीय युवाको गुनासो छ ।


Author

थप समाचार
x