स्वास्थ्य

चितवनमा डेंगुको प्रकाेप, साउनयता तीन सय ४३ जना संक्रमित

इकागज |
भदौ ३१, २०७९ १५:२ बजे

चितवन- जिल्लामा साउनयता तीन सय ४३ जनामा डेंगुको संक्रमण देखिएको छ । दुई हजार पाँच सय २८ जनाको परीक्षण गर्दा उनीहरूमा डेंगुको संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेंगुको संक्रमण जिल्लाका मुख्य सहरमा बढी देखिएको छ ।
 
कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेंगु देखिएको थियो । यस वर्ष देखिएका बिरामीमा भरतपुर महानगरका धेरै रहेका छन् भने खैरहनी र रत्ननगर नगरपालिकामा समेत संक्रमण फैलिएको छ । निरन्तरको वर्षा पश्चात् एक सातामा डेंगुका बिरामीको सङ्ख्या निकै बढेको उनले जानकारी दिए । 

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ, असोजमा डेंगु रोग देखिने गर्दछ । उनले भने, 'अहिले साउनदेखि नै डेंगुको संक्रमण देखिन थालेको छ ।'


यो रोग घर वरिपरि बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको समयमा टोक्ने उनले जानकारी दिए । वर्षातकाे महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए। यो रोग अघिल्ला वर्षको तुलनामा अप्रत्यासित रूपमा बढ्दै गएको कार्यालयले जनाएको छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । 

उनका अनुसार डेंगु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहनसक्ने हुन्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखापर्ने उनले बताए । डेंगु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उनले जानकारी दिए ।  

डेंगु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको केसीले बताए । पानी जमिरहेको भए एक हप्तामा एक पटक पानी वरिपरि मोबिल वा मट्टितेल छर्कने र खाने पानीको ट्याङ्कीलाई पनि लामखुट्टे छिर्न गर्न नमिल्ने गरी ढाकेर राख्नु पर्दछ ।

सन् २००४ मा डेंगु ज्वरो नेपालमा पहिलो पटक चितवनमा देखिएको थियो । चितवन घुम्न आएको एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचार पश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेंगु पुष्टि भएको कार्यालयले जनाएको छ । 

यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा डेंगुको संक्रमण देखिएको उनले बताए । योसँगै आपसका जिल्लाबाट पनि ज्वरोका बिरामी उपचारका लागि चितवन आउने गरेका थिए । सन् २०१० मा तीन हजार दुई सय ९८ जनाको परीक्षणका क्रममा सात सय ३९ जनामा डेंगुको संक्रमण देखिएको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा एक हजार दुई सय ९१ जनाको परीक्षणका क्रममा ५९ जनामा पुष्टि भएको थियो । सो समयमा एक जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७५/७६ मा एक हजार नौ सय ५१ जनाको परीक्षणका क्रममा ३१ जनामा डेंगु भेटिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा १९ हजार दुई सय ३० जनाको परीक्षणका क्रममा चार हजार आठ सय तीन जनामा देखिएको थियो भने तीन जनाको मृत्यु भएको थियो । आव २०७७/७८ मा एक हजार सात सय १७ जनाको परीक्षणका क्रममा दुई सय ४३ जनामा डेंगु रोग देखिएको कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिए ।

जिल्लामा डेंगु रोगको संक्रमण बढ्न थालेपछि जिल्लामा उच्च सतर्कता अपनाएको छ । जिल्लाको मुख्य बजार क्षेत्रमा संक्रमण बढ्दो क्रममा रहेको छ । यसलाई नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्लाका सातै पालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधिसँग अन्तरक्रिया र छलफललाई तीव्र बनाएको छ । जलवायु परिवर्तनसँगै लामखुट्टेको बानी बेहोरा र बासस्थानमा परिवर्तन आएका कारण यसको नियन्त्रणका लागि सातै पालिकामा लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पारिएको कार्यालयका प्रमुख चापागाईंले बताए । 

यसलाई अभियानका रूपमा अघि बढाइने उनले बताए । पानी जम्ने खाल्डाखुल्डी पुर्ने र लामखुट्टेको बासस्थान हुने ठाउँ सफा गर्न टोलटोलमा सचेतना बढाइएको उनले जानकारी दिए । अव्यवस्थित निर्माणका कार्य र बढी जनघनत्व भएको स्थानमा लामखुट्टेको बासस्थान बढी देखिएकाले मुख्य गरी सहरी क्षेत्र लक्षित गर्दै कार्यक्रम तयार गरिएको उनले बताए ।


Author

थप समाचार
ad
x