स्वास्थ्य

इकागज स्कुल : 'अक्सिजन कन्सन्ट्रेटर’बारे ६ प्रश्नोत्तर

इकागज |
जेठ ७, २०७८ शुक्रबार १९:२० बजे

कोभिड–१९ संक्रमण बढेसँगै बजारमा अक्सिजनको चर्चा छ । अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरका प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । अक्सिजन सिलिन्डरबारे धेरैलाई थाहा भए पनि अक्सिजन कन्सन्ट्रेटरके हो ? थाहा नहुन सक्छ । यसपालिको ‘इकागज स्कुल’मा हामीले केही विज्ञहरूको सहयोगमा अक्जिसन कन्सन्ट्रेटरबारे प्रस्ट पार्ने प्रयास गरेका छौँ ।  


 के हो अक्सिजन कन्सन्ट्रेटर?


अक्सिजन कन्सन्ट्रेटर एक मेडिकल उपकरण हो । यसले वायुमण्डलमा भएका ग्यासमध्ये अक्सिजनलाई छानेर लिन्छ । र, अक्सिजनको आवश्यकता भएका बिरामीलाई अक्सिजन दिन यसको प्रयोग गरिन्छ । 

कोभिड र अक्सिजन कन्सन्ट्रेटरबीच के सम्बन्ध छ ?

कोभिडले विशेषगरी फोक्सोमा आक्रमण गर्छ र, इन्फेक्सन गराउँछ । इन्फेक्सन भएको फोक्सोले स्वस्थ फोक्सोले जस्तो श्वास लिने–फ्याँक्ने गर्न सक्दैन । संक्रमितमा अक्सिजनको कमी हुन्छ । कन्सन्ट्रेटरले अक्सिजन कम हुँदा परिपूर्ति गर्ने काम गर्छ । 

कन्सन्ट्रेटरले कसरी काम गर्छ ?

हावामा करिब ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यास हुन्छ । कन्सन्ट्रेटरले अरुलाई फ्याँकेर अक्सिजनलाई मात्र फिल्टर गरेर लिन्छ । त्यही अक्सिजन आवश्यकताअनुसार बिजुलीको कन्सन्ट्रेटरको सहायतामा बिरामीलाई दिइन्छ । 

अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरमा के फरक छ ?

अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरको काम एउटै हो– अक्सिजन दिने । तर, कन्सन्ट्रेटरलाई विद्युतको आवश्यकता पर्छ भने सिलिन्डरलाई विद्युत् चाहिँदैन । उदाहरणका लागि, अक्सिजन सिलिन्डर भनेको भात पकाउने ग्यासको सिलिन्डर जस्तै हो । कन्सन्ट्रेटरचाहिँ हिटर वा इन्डक्सन जस्तै । सिलिन्डरको ग्यास सकियो भने भरेर अर्को ल्याउनुपर्छ । हिटर र इन्डक्सनलाई बिजुली भए पुग्छ । 

कन्सन्ट्रेटर कोभिडका जुनसुकै बिरामीलाई प्रयोग गर्न मिल्छ ?

सामान्य र मध्यम खालका कोभिडका बिरामीलाई कन्सन्ट्रेटरबाट अक्सिजन दिने गरिन्छ । तर, धेरै मात्रामा अक्सिजनको आवश्यकता भएका वा गम्भीर किसिमका बिरामीलाई भने सिलिन्डरबाटै अक्सिजन दिनुपर्ने हुन्छ । 

कन्सन्ट्रेटर किन्दा के कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

कन्सन्ट्रेटर किन्दा त्यसको विवरण पुस्तिका राम्रोसँग पढ्नुपर्छ । त्यसको क्षमता कति छ, कति प्रतिशत शुद्ध अक्सिजन दिन्छ, कुन कम्पनी हो, विचार पुर्‍याउनुपर्छ । कन्सन्ट्रेटरबिजुलीबाट चल्ने भएकाले त्यसले कत्तिको बिजुली खपत गर्छ, त्यो पनि बुझ्नुपर्छ । अझ यो मोबाइल वा बोकेर हिँड्न मिल्ने खालको पनि हुनाले ब्याट्री व्याकअप पनि बुझ्नुपर्ने हुन्छ । 

(प्रस्तुती : सृजना खड्का) 
 

र, यी स्कुलमा पनि भर्ना हुनुहोस् :


Author

थप समाचार
x