स्वास्थ्य

एक सयदेखि ३ सय बेडसम्म भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाइ हुने

इकागज |
मंसिर ६, २०८० बुधबार १९:७ बजे

काठमाडौँ - सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको जानकारी दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित निकायसँग पटकपटक छलफल गरेपछि आफूले सो नीतिगत निर्णय लिएको उनको भनाई थियो । मन्त्री बस्नेतले नेपालमा पढ्न नसक्ने र बाहिर पनि जान नसक्नेहरु डिप्रेशनमा जाने क्रम बढेपछि आफूले चिकित्सा शिक्षा अध्ययनका लागि क्रान्तिकारी रुपान्तरण नै हुनेगरी सो निर्णय लिएको पनि पटकपटक दोहोर्‍याए । उनले सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित अस्पतालहरुसँग सुझाव लिने काम शुरु गरिएको बताए । मन्त्री बस्नेतले ३ सय भन्दा बढी बेड भएका सरकारी अस्पतालहरुमा भने एमबीबीएसको पनि पठनपाठन हुनेगरी सम्बन्धित निकायसँग छलफल गरिएको पनि बताए । 


उनले भेन, ‘बाहिर जान नसक्ने, यहाँ पढन नसक्ने अवस्था भएपछि हाम्रा भाइ बहिनीहरू डिप्रेशनको शिकार हुन थाले । र, म कहाँ डिप्रेशन भयो भनेर दिनै पिच्छे कम्तिमा एक र बढीमा ६ जनासम्म आउन थालेका छन । अब हामीले पनि नीतिगत रुपमा केही निर्णय नगरीकन त मुखले भनेर त केही पनि गर्न सक्दैनौं । त्यसकारण मैले यो सुधारका कुराहरुलाई लिएर क्याबिनेटमा दुई, ३ महिना अगाडि कुरा लगेको थिएँ । र, सम्माननीय प्रधानमन्त्रीज्युले शिक्षा, स्वास्थ्यमन्त्री र सचिवजीहरु, चिकित्सा शिक्षा आयोग, सम्माननीय प्रधानमन्त्रीज्यु बसेर पटक पटक छलफल गर्नुभयो । र, अहिले त्यो प्रक्रिया अघि बढिसकेको छ मैले अघि नै भने । यसमा केही सुधारका कामहरू त हुने नै छ । त्यतिले मात्रै पनि यो समस्या हुने देखेर हामीले हिजो मंगलवार एउटा निर्णय ग¥यौं । त्यो निर्णय चाँही सरकारी अस्पतालहरु जुन अस्पतालमा एक सय देखि ३ सय बेडसम्म चलेको छ । ती अस्पतालहरुमा उहाँहरुलाई हामीले आजै चिठी लेखेर राय पनि मागिसक्यौं । एक सय देखि ३ सयसम्मा बेड सञ्चालन गरेका सरकारी अस्पतालहरुमा, चाहे त्यो संघीय अस्पताल होस, चाहे प्रादेशिक अस्पताल होस् । स्थानीय तहले सञ्चालन गरेको अस्पताल किन नहोस् । त्यसमा हामीले पारामेडिक्स र नर्सिङ पढ्नका लागि खुला गर्ने । र, हामीले यसो अध्ययन गर्दा त्यहाँ पढाउनका लागि डाक्टर, नर्सिङहरुको कमी हुँदैन । इक्वीपमेन्टहरु त्यहाँ हुन्छन् नै । थोरै केही थप्नु पर्ला । र, कही कहीँ त पढाउनका लागि हलहरु पनि पुग्छ । कतिपय ठाउँमा थप टहरा बनाउनुपर्ने स्थिति आउला । भनेपछि कुनैपनि ठूलो लगानी नगरीकन सरकारी अस्पतालहरुले यो काम गर्न खोजिपनि रहेका, तर नदिएर बसेको अवस्था । त्यो हामीले निर्णय गर्‍यौं । यसबाट नेपालको मेडिकल शिक्षामा एउटा क्रान्तिकारी कदम हुन्छ । भन्ने हामीलाई लाग्छ । र, ३ सय भन्दा माथि चाहिँ हामीले पारामेडिक्स र नर्सलगायत एमबीबीएसको कक्षा पनि सञ्चालन गर्ने अनुमति दिने । यसका बारेमा चिकित्सा शिक्षा आयोगलाई पनि पत्राचार गर्ने भएका छौं ।’

त्यस अवसरमा मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा पर्याप्त सुधारको काम गरेको र  त्यसका लागि बजेटको अभाव हुन नदिने दाबी समेत गरे । 


Author

थप समाचार
x