स्वास्थ्य

स्वास्थ्यमन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको बर्थिङ युनिटको उद्घाटन

इकागज |
मंसिर २५, २०८० सोमबार १८:१५ बजे

चितवन- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको प्रसूति सवभाग अन्तर्गत निर्माण गरिएको बर्थिङ युनिटको उद्घाटन गरेका छन् । भरतपुर अस्पतालमा आयोजना गरिएको एक विशेष कार्यक्रमबीच सोमबार मन्त्री बस्नेतले उक्त बर्थिङ युनिटको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वर्तमान चिकित्सा शिक्षा ऐनमा आवश्यक संशाेधन गरेर स्वदेशमै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको जानकारी दिँदै चितवनलाई साँच्चिकै मेडिकल हवको रूपमा विकास गर्नका लागि स्वदेशमै पढ्न पाउने अवस्था सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए । नेपालको सरकारी स्वास्थ्य सेवामा विगत अढाई दशकदेखि स्वास्थ्यकर्मीको दरबन्दी नबढेकाले आफ्नो पूर्ण ध्यान दरबन्दी बढाउनेमा रहेकाले यसै वर्षभित्र हजारौँको संख्यामा स्वास्थ्यकर्मीको दरबन्दी बढ्न दाबी गरे ।


मन्त्री बस्नेतले विगत ६ महिनाको अवधिमा स्वास्थ्य क्षेत्रको सुधारका धेरै काम सुरु भएको बताउँदै आउँदो ६ महिनाभित्र स्वास्थ्य क्षेत्रमा देखिने गरी काम गर्ने दाबी गरे । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, अस्पतालका प्रमुख, चिकित्सकहरू र स्वास्थ्यकर्मीको सहभागिता रहेकाे थियो ।


Author

थप समाचार
x