स्वास्थ्य

चिकित्सक संघद्वारा लोकसेवा आयोगको ध्यानाकर्षण

इकागज |
पुस १२, २०८० बिहीबार २०:४६ बजे

काठमाडौँ- स्वास्थ्य सेवातर्फ संघ प्रदेश तथा स्थानीय तहले गर्ने पदपूर्तिमा उमेर हद फरक-फरक भएको विषयमा नेपाल चिकित्सक संघले एकरूपता कायम गर्न माग गर्दै लोकसेवा आयोगको ध्यानाकर्षण गराएको छ । बिहीबार संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा गएको टोलीले लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।

‘स्वास्थ्य सेवा ऐन २०५३ को परिच्छेद (३)को पदपूर्तिसम्बन्धी दफा १२ को उपदफा (ग) अनुसार सेवा प्रवेशको उमेर ४५ वर्ष कायम हुन आउँछ । अहिले संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ ले पनि स्वास्थ्य सेवा ऐन २०५३ को व्यवस्थालाई टेकेको छ । तर, प्रदेश तहमा लिइने पदपूर्ति प्रक्रियामा पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष उमेर हद कायम गरिएको छ । यस्तो गर्न भएन । संघीय कानुनसँग बाझिने गरी प्रदेश कानुन लागू हुन सक्दैन । त्यसैले एकरूपता कायम गरौँ भन्नका लागि गएका थियौँ,’ संघका अध्यक्ष डा कार्कीले भने ।


उनले अब प्रदेश लोक सेवा आयोगमा पनि स्वास्थ्य सेवामा काम गर्ने कर्मचारीको उमेर हदका विषयमा एकरूपता कायम गर्ने र स्वास्थ्य सेवा ऐन बमोजिम उमेर हद ४५ वर्ष कायम गर्ने विषयमा ध्यानाकर्षण गराउने बताए । पछिल्लो समय प्रदेश लोकसेवा आयोगले खुलाएको विज्ञापनमा उमेर हद स्वास्थ्यमा पनि पुरुषको हकमा ३५ र महिलाको हकमा ४० तोकेको छ ।


Author

थप समाचार
x