स्वास्थ्य

केएमसीले डा. विशदलाई निलम्बन गरेपछि विरोध सुरु

दाहाल भन्छनः निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिए हुन्छ माननीय ज्यू !

इकागज |
पुस १३, २०८० शुक्रबार ११:१२ बजे

काठमाडौँ-  काठमाडौँ मेडिकल कलेजले डा. विशद दाहाललाई एक महिनासम्म कलेजको कुनै पनि पिजी कार्यक्रममा सहभागी हुन नपाउने गरी निलम्बन गरेपछि विरोध सुरु भएको छ ।

रेजिडेन्ट डाक्टरले गर्नुपर्ने कर्तव्य र अनुशासन उल्लंघन गरेकाले एक महिनासम्म कलेजले गर्ने कुनै पनि पिजी कार्यक्रममा सहभागी हुन नपाउने गरी दाहाललाई निलम्बन गरेको हो ।


काठमाडौँ मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी नभएको भन्दै कलेजले डा. दाहाललाई निलम्बन गरेको कलेजका प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई पुस १२ गते काठमाडौँको सिनामंगलस्थित गैह्रीगाउँको स्वास्थ्य शिविरमा खटाइएको थियो । ११ गतेको विभागीय प्रमुखसँगको बैठकलाई उल्लंघन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी बुधबार प्राचार्यको कार्यालयले प्रकाशित गरेको सूचनालाई बिना ठोस आधार र कारण अवज्ञा गरेको विज्ञप्तिमा जनाइएको छ ।  

दाहाल काठमाडौँ विश्वविद्यालयको मेडिसिन पोष्ट ग्रेजुएट कार्यक्रममा भर्ना भइ सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा अध्ययनका लागि खटिएका छन् ।

डा. दाहालले दुई वर्ष अघि यस्तै शक्तिहरूसँग भिड्न तयार छु भनेर नै देश बस्ने कठिन निर्णय गरेको उनले बताएका छन् । ‘मेरो क्षमता र बुताले भ्याएसम्म लडिरहन्छु । निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिए पनि हुन्छ माननीय ज्यू,’ उनले चेतावनीसहित भनेका छन् ।

त्यसैगरी, उनलाई निलम्बन गरिएपछि सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । अभिशेक सिंहले निलम्बन होइन निष्कासन नै गरे पनि अन्याय विरुद्ध लड्ने लडाकु भनेर प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्,’ यस्ता विकृतिहरु विरुद्ध कदम चाल्न सक्नुभएन भने अन्जनी झा तपाईं पनि पदमा बस्न योग्य हुनुहुन्न ।‘

काठमाडौ मेडिकल कलेजले  डा. दाहाललाई अनुशासनको कारबाही त्यो पनि क्याम्पमा नगएको भनेर गरेको निलम्बनमा डा. अमृत जैशीले पनि आपत्ति जनाएका छन् ।‘ रेजिडेन्ट भनेको बँधुवा मजदुर हो कि शिक्षण सिकाइ गरिरहेको विद्यार्थी?,’ उनले भनेका छन् ।

डा. सुमन आचार्यले तत्काल निलम्बन फिर्ता नलिए देशैभरिका आवासीय चिकित्सकले आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘अब त अति भयो,’ उनले निलम्बनलाई लिएर असन्तुष्टि जनाउँदै भनेका छन् ।

केएमसीमा सांसद डा.सुनिल शर्माको लगानी छ । उनी मोरङको ३ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसबाट निर्वाचित भएका सांसद हुन् ।

 

 

  

 

 

 

 


Author

थप समाचार
x