स्वास्थ्य

नेपाल आँखा अस्पताल स्थापनाको ५० वर्ष पूरा, ३४ लाख ३८ हजार बढीको परीक्षण

१ लाख २५ हजार ३ सय ७९ जनाको शल्यक्रिया

इकागज |
चैत २५, २०८० आइतबार १७:४४ बजे

काठमाडौँ- नेपाल आँखा अस्पतालले स्थापनाको ५० वर्ष पूरा गरेको छ । अस्पताल स्थापनाको स्वर्ण महोत्सवको अवसरमा अस्पतालका गतिविधिहरूबारे जानकारी गराउने उद्देश्यसहित आयोजित पत्रकार सम्मेलनमा अस्पतालले स्थापना कालदेखि हालसम्म ३४ लाख ३८ हजार ५७२ जनाको जाँच भएको र १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको बताएको छ । 

विसं २०३० चैत २६ मा त्रिपुरेश्वरमा स्थापना भएको नेपाल आँखा अस्पताल काठमाडौँको त्रिपुरेश्वरमा रहेको छ । यो अस्पताल नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने पहिलो अस्पताल भएको अस्पतालका सचिव युद्धध्वज सापकोटाले जानकारी दिए । उनले समय नपुगी जन्मिने बच्चाको आँखा स्क्रिनिङ सेवा प्राथमिकताका साथ लागू गरेको बताए । हालै मात्र ४०० जनाको स्क्रिनिङ गर्दा ३५ जनामा समस्या देखिएको उनको भनाइ छ ।


सो अस्पतालमा १५ जना नेत्र विशेषज्ञ र ११३ जना कर्मचारी कार्यरत छन् । कर्निया, मोतीबिन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवम् बाल आँखा सेवाका लागि अलग्गै विभागहरूबाट सेवा प्रदान गरिँदै आएको सापकोटाले बताए ।

आधुनिक प्रविधि र गुणास्तरीय उपकरणबाट सेवा दिँदै आएको अस्पतालले आँखा निदान एवं उपचारका लागि आवश्यक अनुसन्धान गर्न बोर्ड गठन गरी काम सुरु गरेको जनाएको छ ।

अस्पतालमा चालु आर्थिक वर्षको ८ महिनामा बहिरङ्ग विभागबाट १ लाख १ हजार ७३४ जनाले सेवा लिएका छन् । हाल दैनिक ४०० देखि ७०० जना बहिरङ्ग सेवा लिन अस्पताल पुग्ने गरेका छन् ।

अस्पतालले विद्यालय स्तरका विद्यार्थीहरूको आँखा जाँच गरी निःशुल्क चस्मा प्रदान गर्ने गरेको समेत सापकोटाले बताए । यस वर्ष मात्रै १४ हजार ९९४ जनाको दृष्टि परीक्षण गरी १ हजार १० जनालाई निःशुल्क चस्मा वितरण गरिएको अस्पतालले जनाएको छ ।


Author

थप समाचार
x