स्वास्थ्य

पहिलोपटक अमेरिकामा सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

एजेन्सी |
कात्तिक ४, २०७८ बिहीबार १४:१७ बजे

तस्बिरः रोयटर्स

काठमाडौँ - पहिलोपटक सुँगुरको मिर्गौला मानव शरीरमा प्रत्यारोपण गरिएको छ। अमेरिकाको न्युयोर्कस्थित एनवाईयु लानगन हेल्थले सुँगुरको मिर्गौला मानवमा प्रत्यारोपण गरिएको हो।

जनावरको अंग मानिसको शरीरले अस्वीकृत गर्ने गर्छ। तर, वैज्ञानिकहरूले सुँगुरको मिर्गौला प्रत्यारोपण गर्नुअघि नै सुँगुरको जीनलाई ‘रिजेक्सन’ नहुने गरी मिलाएका छन् । प्रत्यारोपण गर्दा बिरामीको शरीरमा कुनै पनि किसिमको रिजेक्सन नभएका कारण प्रत्यारोपण सफल भएको हो । 


यो प्रत्यारोपण मष्तिस्क मृत्यु भएकी महिलामा गरिएको थियो जसको मिर्गौला ले राम्ररी काम गरेको थिएन । परिवारसँग अनुमति लिएर श्वास रोकिनुभन्दा अगाडि उनको परीक्षण गरिएको थियो ।

मिर्गौला तीन दिनसम्म उनको रक्त वाहिनीमा राखी अनुसन्धान गरिएको थियो । मिर्गौलाले सामान्य रुपमा नै काम गरेको परीक्षणको नतिजाले देखाएको सर्जन डा. रोर्बट मोन्टगोमेरीले बताए।

प्रत्यारोपित मिर्गौलाले मानव मिर्गौलाको जति पिसाब बनाएको थियो। उनले भने, 'जीन परिवर्तन गरेको सुँगुरको मिर्गौलाले कुनै पनि रिजेक्सन देखाएको छैन । यो प्रत्यारोपण गरेपछि विरामीको बिग्रिएको मिर्गौला ले पुनः काम गर्न थालेको थियो ।'

अंग प्रत्यारोपणको समस्या संसारभर नै रहेको छ । मानव अंग प्रत्यारोपण केन्द्रका अनुसार अमेरिकामा मात्र एक लाख ७ हजार मानिस अंग प्रत्यारोपणका लागि कुरिरहेका छन् । जसमध्ये ९० हजार मानिस मिर्गौला प्रत्यारोपण गर्न बाँकी छन् । करिब ३ देखि ५ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको छ ।

वैज्ञानिकहरूले दशकौंदेखि नै जनावरको अंग मानवमा प्रत्यारोपण गर्ने प्रयास गरिरहेका थिए । तर, रिजेक्सन हुने भएका कारण त्यसको समाधानको खोजीमा थिए।त्यसपछि मोन्टगोमेरिको टिमले सुँगुरको जीनमा भएको रिजेक्सन गर्ने कार्बोहाइड्रेटनिकालेर हेर्ने थ्योरी बनाए।

युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रसनले २०२० मा अनुमोदन गरेको थियो ।जीन परिवर्तन गरिएको सुँगुर (गलसेफ) को मुटु तथा छालाको पनि प्रयोग गर्न सकिन्छ कि भनेर वैज्ञानिक अनुसन्धान गरिरहेका छन् ।


Author

थप समाचार
x