स्वास्थ्य

लुम्बिनीमा झण्डै २९ हजारले लगाए कोभिडविरुद्धको खोप

बिक्रम खड्का |
माघ २५, २०७७ आइतबार १०:२० बजे

बुटवल : लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयसेविका, एम्बुलेन्स चालक सुरक्षाकर्मी गरि २८ हजार ९ सय ४१ ले कोभिडविरुद्धको खोप लगाएका हुन् । भारत सरकारले अनुदानमा दिएको खोप माघ १४ गते देखी पहिलो चरण लगाउन सुरु गरिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ फोकल पर्सन कौशल भण्डारीले दिएको जानकारी अनुसार रुपन्देहीमा ६ हजार ७ सय ९१ जनाले खोप लगाएका छन् । कपिलवस्तुमा २ हजार २ सय २६, दाङमा ३ हजार ५ सय ४६, बाँकेमा ४ हजार ९ सय ५७, बर्दियामा १ हजार ९ सय ३१, नवलपरासीमा १ हजार १ सय ५२ ले खोप लगाएका छन् । अर्घाखाँचीमा १ हजार ३ सय ७८, पाल्पामा २ हजार ७ सय १२, गुल्मीमा १ हजार ७ सय ४५, रुकुम पूर्वमा ३ सय ८२, रोल्पामा ९ सय ८७ र प्युठानमा १ हजार १ सय ३४ जनाले खोप लगाएको भण्डारीले जानकारी दिए । 


प्रयोगमा ल्याइएको २८ हजार ९ सय ७० भाइल मध्ये खेरजाने दर न्युन रहेको भण्डारीले बताए । उनले लुम्बिनी प्रदेशमा २५ खोप केन्द्र रहेकोे जानकारी दिए । पहिलो चरणमा लुम्बिनीमा ३४ हजार ९ सय ९५ जनालाई खोप लगाउन डोज छुट्टयाइएकोमा २८ हजार ९ सय ७० जनाले मात्र खोप लगाएका छन् । अझै ६ हजार २५ डोज खोप बाँकी छ । यो संख्या हेर्दा लुम्बिनीमा पहिलो चरणको खोप ८४ प्रतिशतले लगाएका छन् । 

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले कोभिडविरुद्ध खोपमा लुम्बिनी प्रदेशमा ठूलो सफलताको मिलेको बताए । उनले खोप  लगाउन संकलन गरिएका नामावलीमा गर्भवती र सानो वच्चाको आमाले नलगाउने सूचना आएका कारण लक्ष्य पूरा नभएको बताए । 

हल्ला चलाइएजस्तो असर देखिएन 
खोप लगाएपछि देखिने साईटइफेक्टका विषयमा अनेक खालका हल्ला फैलाइएको थियो । तर लुम्बिनी प्रदेशमा खोप लगाए पछि ठूलो असर नदेखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बताएको छ । निर्देशक डा. गिरीले आफ्नो क्षेत्रमा समान्य असर बाहेक कुनै समस्या नदेखिएको बताए । खोप लगाएपछि कर्मचारीहरूमा उत्साह बढेको भन्दै उनले भने पहिलो चरणमा खोपको सकारात्मक प्रभाव देखिएको बताए । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x