स्वास्थ्य

इकागज स्कुल/कोभिड-१९

कोभिसिल्ड : दोस्रो डोज लिँदा लक्षण देखिन्‍छ कि देखिँदैन ?

इकागज |
फागुन ११, २०७७ मंगलबार ११:२७ बजे

काठमाडौँ : हामीमध्ये कतिपयले कोभिड-१९ विरुद्धको पहिलो डोज खोप लगाइसक्यौँ । खोप लगाएपछि धेरैलाई धेरै थरीका लक्षण देखिए । कसैलाई खोप लगाएको ठाउँ सुन्‍निने, दुख्‍ने वा रातो हुने भयो । कसैले टाउको दुखेको, ज्वरो आएको, जिउ गलेको महसुस गरे ।  कसैलाई थकान वा आलस्य महसुस भयो । वाकवाकी लागेको, जोर्नी दुखेको गुनासो पनि केहीले गरे । यस्ता लक्षण देखिएपछि धेरैलाई दोस्रो डोज खोप लगाउने कि नलगाउने भन्‍ने द्विविधा छ । यसपालिको इकागज स्कुलमा हामीले यही द्विविधा र जिज्ञासा मेटाउने कोसिस गरेका छौँ । 

पहिलो डोज लगाएको कति समयपछि कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउनुपर्छ ?


सरकारले कोभिड खोप अभियान सुरु गर्दा २८ दिनपछि दोस्रो डोज दिने निर्णय गरेको थियो । तर, विश्व स्वास्थ्य संगठनको खोपसम्बन्धी विज्ञहरूको समिति (सेज) ले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निष्कर्ष निकालको छ । 

कोभिड खोपको दोस्रो डोज नलगाउँदा हुन्‍न ?

पहिलो डोज खोप लगाएर दोस्रो डोज नलगाउँदा त्यसको प्रभावकारिता घट्छ । त्यस्तै, खोपको प्रभावकारिता पनि लामो समयसम्म रहँदैन । दोस्रो डोजको खोपले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले दोस्रो डोज खोप अनिवार्य लगाउनुपर्छ । 

पहिलो डोज लगाउँदा देखिएका लक्षण दोस्रो डोज लगाउँदा देखिन्‍छन् कि देखिँदैनन् ?  

पहिलो डोजमा देखिएका लक्षण दोस्रो डोजमा नदेखिन सक्छ । हाम्रो शरीरमा त्यो खोप नयाँ भएकाले प्रतिक्रिया जनाएको हो । दोस्रो डोज लगाउँदा त्यो हाम्रो शरीरका लागि नौलो हुँदैन । त्यसैले पहिलो पटकको जस्तो गाह्रो नहुन सक्छ । तर, पनि व्यक्तिको शरीर फरक-फरक प्रकृतिको हुने भएकाले कसैलाई फेरि पनि रियाक्सन देखिन सक्छ । 

पहिलो डोज लगाउँदा कस्तो रियाक्सन देखिएकाले दोस्रो डोज खोप लगाउनुहुँदैन ?

पहिलो डोज खोप लगाउने धेरैलाई ज्वरो आउने, टाउको दुख्‍ने, ज्यान गल्ने जस्ता लक्षण देखिए । यो खोपको सामान्य लक्षण हो । तर, यदि पहिलो डोजको खोप लगाउँदा कडा खालको प्रतिक्रिया वा एलर्जी देखिएकाले दोस्रो डोज खोप नलगाउँदा राम्रो । पहिलो खोपले सिकिस्त वा बेहोस बनाएकाले फेरि खोप लगाउनु हुँदैन । खोपको केमिकल सबैलाई सुुट नहुन पनि सक्छ । 

कोभिड लागेर निको भइसकेका व्यक्तिले दोस्रो डोज लगाउनु पर्छ कि पर्दैन ?

तत्कालैलाई उनीहरुले पनि दोस्रो डोज पनि लगाउनुपर्छ भनिएको छ । तर, केही अध्ययनले कोभिड भएर निको भएकालाई एउटा डोजले पुग्छ कि भन्‍ने कुरा पनि बाहिर खाएका छन् । तर, अध्ययनले अहिलेलाई उनीहरूले पनि दुवै डोज खोप लगाउनुपर्छ भन्‍छ ।

दोस्रो डोज खोप लगाएपछि हामी कोभिडबाट पूर्णतया सुरक्षित हुन्‍छौँ त ? 

केही अध्ययनले दोस्रो डोज लगाएपछि ८० प्रतिशत सुरक्षित हुने कुरा उल्लेख गरेको छ । यदि कोभिड संक्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने सम्भावना कम हुन्‍छ भनेको छ । तर, खोप लगाएपछि पनि कोभिड नसर्ला भन्‍न सकिँदैन । कोभिड संक्रमण नाक र घाँटीमा हुन्‍छ । यो शरीरभित्र रगतमा हुने कुरा होइन । त्यसैले, सर्दैन वा सरिँदैन भन्‍ने ग्यारेन्टी हुँदैन । तसर्थ, खोप लगाइयो भन्दैमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाड्नु हुँदैन । 

दोस्रो डोज खोप लगाएको कति समयसम्म हामी ढुक्क हुन्‍छौँ ?

अहिलेसम्म खोपको प्रभावकारिता कति समयसम्म रहन्‍छ भनेर अध्ययनले देखाइसकेको छैन । ट्रायल फेजमा लगाएकाहरूमा अध्ययन गरेपछि मात्र यसको जवाफ आउँछ । तैपनि, कसैले ६ महिना कसैले एक वर्ष यसको प्रभावकारिता रहन्‍छ भनेर भनेका छन् । यो अन्दाज मात्रै हो । खोप लगाएको कति समयसम्म ढुक्क भइन्‍छ भन्‍ने कुरा अहिलेसम्म बाहिर आइसकेको छैन ।

(खोप विज्ञ डा. श्यामराज उप्रेती र सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको सहयोगमा सृजना खड्काको प्रस्तुति ।)

 

इकागजका यी पुराना स्कुलमा पनि भर्ना हुनुहोस् :


Author

थप समाचार
x