घटना-दुर्घटना

वर्षासँगैको विपद्पछि १० को मृत्यु, २६ जना बेपत्ता

इकागज |
असार ५, २०८० मंगलबार १२:५८ बजे

काठमाडौं– विपद्का घटनाहरुबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुुरु भएसँगै विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए । त्यस्तै ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको उनँले बताए । उनले असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको बताए । 


उनले भने – ‘यस वर्ष नेपालमा मिति २०८० जेठ ३१ गतेबाट मनसुन प्रवेश गरेको छ । यसको असर नेपालको पूर्वी पहाडी जिल्लाहरुमा संखुवासभा, ताप्लेजुङ, पाँचथरमा बढी देखिएको छ । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपद्का घटनाहरुबाट देशको पूर्वी भुभागका संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा केही व्यक्तिहरुको मृत्यु हुनुका साथै केही घाइते र बेपत्ता भएका छन् । विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु, ६ जना घाइते, २६ जना बेपत्ता छन् भने ५४ घर पूर्ण रुपमा क्षति भएको जानकारी प्राप्त भएको छ । विवरण आउने क्रम अझै जारी छ ।’

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए । उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम उपलब्ध गराइने बताए । 

उनले भने – ‘विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम मृतकको परिवारमा एकजनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । घरवास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार उपलब्ध गराउने व्यवस्था मापदण्ड अनुसार मिलाइएको छ । तत्काल खोज, उद्दार तथा राहत सम्बन्धी अन्य व्यवस्था मापदण्ड बमोजिम भइरहेको छ ।’

उनले राहत, उद्दार तथा पुर्नस्थापनाका लागि सरकारले स्थानीय तह लगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको बताए ।


Author

थप समाचार
x