घटना-दुर्घटना

बैतडीमा चितुवाले किशोरीलाई तीन सय मिटर घिसारेर लग्यो, अवस्था गम्भीर

इकागज |
भदौ २१, २०८० बिहीबार २२:१ बजे

फाइल फोटो

बैतडी - चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ । आज मध्याह्न १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला पूजालाई चितुवाले आक्रमण गरेको हो । 
    
आक्रमणबाट गम्भीर घाइते भएकी पूजालाई तत्काल मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौली ल्याइएको थियो । मेलौलीमा उपचार हुन नसक्दा अपराह्न थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

पूजाको टाउको र शरीरका अन्य भागमा पनि चोट रहेको छ ।  सिटिस्क्यान गर्नुपर्ने देखिएको डडेल्धुरा रेफर गरिएको पूजाको उपचारमा संलग्न मेलौली प्राथमिक स्वास्थ्य केन्द्रका डा सञ्जीन केसीले बताए । घाइते पूजाको अवस्था खतरामुक्त रहेको छ । उनले भने, “बेहोसमा रहेकी पूजा होसमा आएकी छन् तर सिटिस्क्यान गर्नुपर्ने देखियो । हामी कहाँ उक्त सुविधा नभएकाले डडेल्धुरा रेफर गरेका छौँ ।”


गाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पूजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर–३ का वडाध्यक्ष मीनबहादुर चन्दले बताए । आक्रमणपछि चितुवाले पुजालाई तीन सय मिटर टाढासम्म घिसारेर लगेको र पछि स्थानीयवासीले होहल्ला गरेपछि छाडेको थियो । चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन् ।  तल्लोस्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ । 
रासस


Author

थप समाचार
x