घटना-दुर्घटना

दाङमा खुकुरी प्रहारबाट महिलाको मृत्यु, दुई जना गम्भीर घाइते

इकागज |
असोज ६, २०८० शनिबार २०:३६ बजे

सांकेतिक तस्विर

दाङ - दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै ज्यान गएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

आज दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८/३९ वर्षीय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको ज्यान गएको छ। दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए।


ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४२/४३ वर्षीया रिता लामिछाने रहेकी छन्। आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासि खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । त्यस्तै त्यसै ठाउँ बस्ने ४५ वर्षीय वीरबहादुर हमाल र अन्दाजी ६५ वर्षीया कमला कुमारी हमाल गम्भीर घाइते भएका छन्।

घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ। साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ। खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन।
 


Author

थप समाचार
x