घटना-दुर्घटना

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

इकागज |
पुस ९, २०८० सोमबार २१:० बजे

खोटाङ- सिन्धुलीमा भएको सवारी दुर्घटनामा खोटाङका दुई युवाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित झाँगाझोली नजिकै आज विपरीत दिशाबाट आइरहेको बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाका २० वर्षीय सुसल राई र मोटरसाइकलको पछाडि बसेका खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाकी १८ वर्षकी मुनाकला राईको मृत्यु भएको हो ।

काठमाडौँबाट खोटाङ आउँदै गरेको बा६०प ३५४५ नंको मोटरसाइकललाई विपरीत दिशा (रामेछाप) बाट आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५९३ नंको बसले ठक्कर दिँदा मुनाकलाको घटनास्थलमै र सुसलको खाल्टेस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब निरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए । दुर्घटनापछि बसका चालक रामेछापको मन्थली नगरपालिका-१३ का २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 


दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दा तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए । स्थानीय बासिन्दा एवं अन्य सवारी साधनका यात्रुले बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । 

यातायातका सवारी साधनको निकै चाप हुने उक्त राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आवतजावत गर्ने सवारी साधनहरू दुर्घटनास्थलमै लर्को लागेको थियो । दुर्घटनापछि आक्रोशित भीडले अवरुद्ध गरेको सडक करिब दुई घण्टापछि बिनासर्त खुलाइएको प्रहरीले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि सिन्धुलीको सदरमुकाम सिन्धुली माडी पुर्‍याएको पाइएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिएका छन् । 'दुर्घटना भएको थाहा पाएलगत्तै हलेसीबाट हिँडेका हामीहरू भर्खर घटनास्थल आइपुगेका छौँ । मृतक दुवै जनाको शव परीक्षणका लागि सिन्धुली माडी पुर्‍याइएको छ भन्ने जानकारी पाएका छौँ,' उनले भने, 'शव भएको ठाउँमा पुग्न अझै समय लाग्छ । कुन सहमतिमा शव उठाइएको छ भन्ने थाहा छैन । त्यहाँ पुगेपछि यथार्थ बुझेर निर्णय लिन्छौँ ।'


Author

थप समाचार
x