घटना-दुर्घटना

ढोरपाटन दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरबाट पोखरा पठाइयो

इकागज |
पुस २८, २०८० शनिबार १७:४७ बजे

फाइल तस्बिर

गलकोट (बागलुङ)- बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका-५ अस्तुमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । अन्य छ जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरी नगरपालिका-११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस


Author

थप समाचार
x