घटना-दुर्घटना

राप्ती बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत

चालकको लापरबाहीका कारण दुर्घटना : प्रहरी

इकागज |
पुस २८, २०८० शनिबार २१:३६ बजे

तुलसीपुर (दाङ)- गए राति साढे १० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको प्रहरीको भनाइ छ । 

मृत्यु हुनेमा बाँकेका चार जना, भारतीय नागरिक तीन जना, रुकुमपश्चिम, चितवन, मकवानपुर, काठमाडौँ र जुम्लाका एक-एक जना छन् । दुर्घटनामा परी बाँके खजुरा गाउँपालिका-३ का सञ्जय केसी, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, बाँके कोहलपुर-८ का २८ वर्षीय अर्पण थापाका छन् ।


त्यस्तै रुकुम साविक गोतमकोट गाउँपालिका-९ का २५ वर्षीय दीपक कामी, चितवन भरतपुर नगरपालिका-२५ का ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँ चन्द्रगिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारतजी बहराइज नानपारा बग्लु भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र भारत उत्तर प्रदेशका ३१  वर्षीया मुनेको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी २१ जना घाइते भएका छन् । मृत्यु भएका मध्ये १० जनाको शव परीक्षण भइसकेको छ भने दुई जनाका आफन्त नआएकाले शव परीक्षण हुनसकेको छैन । शवलाई लमही अस्पतालमा राखिएको छ । 

दुर्घटनामा परी २४ जना घाइते भएका थिए । घाइतेमध्ये चारजना गम्भीर, ११ जना मध्यम र नौ जनाका अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घाइतेमध्ये तीन जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ । घाइतेमध्ये आठ जनाको बुटवल र १३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चालकको लापरबाहीका कारण दुर्घटना : प्रहरी 

दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । इन्ट्री नगरी तीव्र गतिमा कुदाउँदा बस अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए ।

'चालकले सापट बिग्रिएर दुर्घटना भएको बयान दिएका छन्,' प्रहरी नायब उपरीक्षक मल्लले भने, 'तर, हामीलाई त्यस्तो लाग्दैन, नजिकै प्रहरीको इन्ट्री प्वाइन्टमै नरोकेर तीव्र गतिमा लिएकाले दुर्घटना भएको हाम्रो निष्कर्ष छ ।'

बस दुर्घटनामा सात जनाको घटनास्थलमै र पाँच जनाको उपचारका क्रममा निधन भएको हो । 


Author

थप समाचार
x