घटना-दुर्घटना

रौतहटमा तीन घर जलेर खरानी

इकागज |
फागुन ३०, २०८० बुधबार २०:३० बजे

रौतहट  - रौतहटको पूर्वीभेग राजदेवी नगरपालिकामा बुधबार साँझ भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन्।

राजदेवी-७ मुडवलवामा भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका हुन्। आगलागीबाट स्थानीय कैलाश राउत बरई, शत्रुधन साह र हृदय साहको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो।


आगलागीमा घरमा रहेको अन्न, लत्ताकपडालगायतका लाखौंको सरसमान जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन। 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले आगलागीबाट तीनै जनाको घरको सरसामान गरी कुल सात लाख बराबरको क्षति भएको अनुमान गरिएको बताइन्।

स्थानीय,सशस्त्र प्रहरी मिलेर गौर नगरपालिकाबाट गएको वारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रवक्ता गिरीले जानकारी दिएकी छन्।

यसैबीच नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका सभापति राजकिशोर यादवसहित पदाधिकारी आगलागी पीडितको घरमा पुगेर विभिन्न सरसामान, भाडा वर्तन तथा खानेकुरा त्रिपाल सहयोग गरेको छ।


Author

थप समाचार
x