घटना-दुर्घटना

सुदूरपश्चिममा सवारी दुर्घटना : साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु

अनियन्त्रित गति र सडकका कारण बढी दुर्घटना

इकागज |
चैत १६, २०८० शुक्रबार १६:४२ बजे

फाइल तस्बिर

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी छ सय ७४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि गत फागुन मसान्तसम्म सुदूरपश्चिमका नौवटा जिल्लामा सवारी दुर्घटनाबाट छ सय ७४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार चालु आवको फागुनसम्म सुदूरपश्चिममा एक सय १४ जनाको मृत्यु भएको छ । आव २०७७/७८ मा एक सय ८७, आव २०७८/७९ मा एक सय ९६, आव २०७९/८० मा एक सय ७७ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले जानकारी दिए । अनियन्त्रित गति र सडकका कारण बढीजसो दुर्घटना हुने गरेको उनको भनाइ छ ।


'दुर्घटनाको कारण अनियन्त्रित भएर सवारी हाँक्नु प्रमुख रहेको छ । कतिपय अवस्थामा सडक पनि दुर्घटनाको कारण बनेका छन्,' प्रनाउ उप्रेतीले भने, 'प्रदेशका विभिन्न स्थानमा ट्राफिक सचेतनाका कार्यक्रमहरू सञ्चालित छन् ।'

जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले तीव्र गति र लागूऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको बताए । 'जिल्लामा गत वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको छ,' उनले भने, 'चालु आवको हालसम्म यहाँ २२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।'

प्रनि विकले पछिल्लो समय राजमार्गमा भन्दा भित्री सडकहरूमा दुर्घटना बढी हुने गरेको बताए । 'कञ्चनपुरमा प्रहरीका दश युनिट खटिएका छन्,' उनले भने, 'भित्री सडकहरूमा बढी दुर्घटना हुने गरेको पाएका छौँ । ग्रामीण सडकमा अझै ट्राफिक व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।' रासस


Author

थप समाचार
x