घटना-दुर्घटना

बर्जु घटनाकाे छानविन गर्न समिति गठन

इकागज |
माघ ५, २०७८ बुधबार १८:१९ बजे

फाइल तस्वीर

सुनसरी – बर्जु घटनाको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । मंगलवार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको छानविन समिति गठन भएको हो । समितिलाई ५ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिले बुधबारबाटै काम थाल्ने बताइएको छ ।


यसैबिच सुनसरी प्रशासनले घटना सम्वन्धमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटनामा बर्जु गाउँपालिकाको कार्यालय पूर्ण दोषी रहेको बताएको छ । महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको प्रशासनले निष्कर्ष निकालेको छ ।  

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफूखुसी महोत्सव सञ्चालनमा ल्याएको बताए। उनले महोत्सव रोक्न आफूहरूले गरेको प्रयासलाई गाउँपालिकाले बेवास्ता गरी मनोमानी गरेको बताए । पत्रकारहरुको जिज्ञासामा प्रजिअ यादवले ठूलो हताहतीबाट जोगाउन आक्रोशित भिडमाथि बल प्रयोग गर्न नसकिएको जिकिर गरे । उनले प्रहरी प्रशासनले संयमता अपनाउदा मानविय क्षति हुन नपाएको उल्लेख गरे।

सुनसरी प्रशासनले महोत्सव रोक्न लिखित र मौखिक जानकारी गराएपनि गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीको हठका कारण दुर्घटना हुन पुगेको जनाइएको छ । महोत्सवमा बोलाइएका भोजपुरी कलाकार नआएपछि महँगो शुल्क तिरेर टिकट काटी भेला भएको भिड तोडफोड र आगजनीमा उत्रिएको थियो । सो क्रममा चार वटा भारतीय नम्बर प्लेटको स्कारपियो, एक थान मोटरसाइकलमा आगजनी भएको थियो ।  स्टेज तोडफोड र आगजनीको क्रममा भागदौड हुँदा दर्जन बढी घाइते हुन पुगेका थिए । प्रहरीले भिड तितरवितर पार्ने क्रममा १५ सेल अश्रुग्यास प्रहार गर्नु परेको थियो । 


Author

थप समाचार
x