पूर्वाधार

नहर बग्दा खोटाङकै पहिलो लघुजलविद्युत् आयोजना अवरुद्ध

इकागज |
भदौ ३१, २०७९ शुक्रबार २१:३० बजे

तस्बिर : बाढीले लघुजलविद्युत् आयोजनाको नहरमा पुगेको क्षतिको निरीक्षण गर्दै केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई ।

खोटाङ- बाढीले नहर बगाउँदा खोटाङकै पहिलो लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ । वर्षाका कारण नहर बगाउँदा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमास्थित १८ किलोवाट क्षमताको तापखोला लघुजलविद्युत् आयोजना अवरुद्ध भएको हो ।

२०६२ साल वैशाख २५ गतेदेखि विद्युत् बाल्न सुरु गरिएको लघुजलविद्युत् आयोजनाको नहर स्थानीय बाछेर्कु खोलाले बगाउँदा विद्युत् अवरुद्ध भएको हो । 


कमेरे माटो भएको ठाउँबाट हरेक वर्षा याममा खोलामा बाढी झर्दा नहरमा क्षति पुग्ने गरेको सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राईले बताए । तापखोलाबाट उत्पादन गरिएको विद्युत् सप्तेश्वरका करिब ६०० घरधुरी उपभोक्ताले उपभोग गर्दै आएका थिए । तर, राष्ट्रिय प्रशारण लाइन विस्तारका कारण हाल सो लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कम मात्रामा उपयोग हुँदै आएको छ । 

अवरुद्ध विद्युत् सुचारु गराउनका लागि स्टिमेटका लागि प्राविधिक खटाइएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए । प्राविधिक स्टिमेटका आधारमा जलविद्युत् आयोजनाको नहर मर्मत गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । 

बाढीले नहर बगाउँदा सप्तेश्वरको मालदेल क्षेत्रको सिँचाइमा समेत समस्या भएको छ । विद्युत् र सिँचाइका लागि उपयोग हुँदै आएको नहर बाढीले बगाएपछि सिँचाइ क्षेत्र प्रभावित भएको हो । ‘तापखोला मुहान भएको नहरलाई विद्युत् उत्पादन गर्न र सिँचाइमा प्रयोग गर्दै आएका छौँ,’ वडाध्यक्ष राईले भने, ‘नहरभन्दा माथिबाट कमेरे माटो बगेर बाढीका रूपमा झर्ने गरेको छ । हरेक वर्ष अलिकति पानी पर्ने बित्तिकै बाढी झर्ने गरेको छ ।’


Author

थप समाचार
x