पूर्वाधार

निर्माण सुरु भएको पाँच महिनामै काम ठप्प

ठेकेदार चुनावी मैदानमा, पुनः गौचरणमा परिणत हुँदै मझगाउँ विमानस्थल

दीपक उपाध्याय |
कात्तिक २८, २०७९ सोमबार १२:४५ बजे

कैलाली - झण्डै दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य सुरु हुँदा यहाँका स्थानीयमा उत्साह छाएको थियो, तर अहिले विमानस्थालको काम ठप्प भएको छ । २०७८ पौष २७ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थलको शिलान्यास गरेका थिए । शिलान्यास गर्दै मन्त्री आलेले निर्माण कम्पनीलाई समयमानै काम सम्पन्न गर्न निर्देशनसमेत दिएका थिए ।


विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनलाई ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता पछि ५ महिना मात्रै काम गरेको निर्माण कम्पनी यतिबेला भने सम्पर्कविहीन बनेको छ । विमानस्थल पुनः गौचरणमा परिणत भएको छ ।

विमानस्थल पुनः सुरु गर्नुपर्छ भन्दै नेताहरूले खाली भाषण मात्रै गरेको आरोप लाउँदै मझगाउँ विमानस्थल पुनः संचालन समितिका संयोजक रमेश चन्दले अहिले निर्माण ठप्प रहेको जानकारी गराउँदा कसैले पनि चाँसो नदिएको बताए। निर्माण कम्पनीका ठेकेदार वर्षात्पछि काम सुरु गर्ने भन्दै गएको तर अहिलेसम्म पनि नआएको बताउँदै मझगाउँ विमानस्थल पुनः संचालन समितिका संयोजक चन्दले विमानस्थल निर्माणका लागि ल्याइएका निर्माण सामाग्री र सवारीसाधनहरू भने विमानस्थलमै रहेको बताए ।

विमानस्थल पुनः संचालन हुने भएपछि यहाँको पर्यटन व्यवसायसँगै केन्द्रसँग (काठमाण्डौ) को सोझो सम्पर्क हुने आशा पुनः निराशामा परिणत हुन थालेकोप्रति यहाँका व्यवसायीहरूले समेत चिन्ता र चासो व्यक्त गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी परमानन्द भण्डारीले यहाँ रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्ष, दोधाराचाँदनी जोड्ने झोलुंगेपुल लगायतका पर्यटकीय स्थलको भ्रमण गर्न आउने पर्यटकहरूलाई सोझै हवाई सेवाबाट जोड्ने प्रयास असफल हुदै गैरहेको बताए । उनले अहिले पर्यटकहरू धनगढी विमानस्थलमा आउने र त्यहाँबाट यहाँसम्म ल्याउँदा समयसँगै खर्चसमेत बढ्ने हुँदा पर्यटकहरू आउन हिच्किचाउने गरेको बताए ।

महेन्द्रनगर विमानस्थल आयोजनाका प्रोजेक्ट म्यानेजर मीनराज ओझाले असारदेखि काम ठप्प रहेको बताउँदै निर्माण कम्पनीले चुनावपछि काम सुरु गर्ने जानकारी गराएको बताए । उनले काम रोकिएको बारे निर्माण कम्पनीलाई लेखेको पत्रको जवाफमा सोही कुराको जानकारी निर्माण कम्पनीले गराएको बताए । 

विमानस्थलसँग अहिले १ हजार ५२५ मिटर लम्बाईको जग्गा रहेको र त्यसलाई १ हजार ८ सय मिटरको बनाउनका लागि शुक्लाफाँटाको वन क्षेत्र पर्ने भएकाले त्यसको भोकाधिकारका लागि पहल भैरहेको महेन्द्रनगर विमानस्थल आयोजनाका प्रोजेक्ट म्यानेजर ओझाले बताए ।

निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनमा प्रोप्राईटर पूर्णबहादुर तामाङ (कान्छाराम) यतिबेला भने चुनावी मैदानमा होमिएका कारण समेत कामले गतिलिन नसकेको बताइन्छ । प्रतिनिधिसभा सदस्यका लागि रामेछापबाट नेपाली कांग्रेसका उम्मेदवारका रूपमा तामाङ चुनावी मैदानमा होमिएपछि विमानस्थलको कामले गतिलिन नसकेको हो । उनी कांग्रेस रामेछापका सभापतिसमेत हुन् । 

काम ठप्प भएकोबारे जानकारी लिन तामाङसँग फोन सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । २०३० सालदेखि २०५६ सालसम्म नियमित सञ्चालन भएको विमानस्थल त्यसयता भने बन्द अवस्थामा रहेको छ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x