पूर्वाधार

मनोहरा करिडोरमा पार्क र साइकल लेन बनाइने

इकागज |
असार २३, २०८० शनिबार १९:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- मनोहरा करिडोरअन्तर्गत बालकुमारी पुलदेखि बागमती दोभानसम्म पार्क र साइकल लेनलगायतका संरचना निर्माण सुरु गरिएको छ । 

केही वर्ष पहिले सम्पन्न भएर सञ्चालनमा रहेको सो सडकमा अहिले सडक र नदी बीचका बाँकी काम सुरु गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । 


बालकुमारी–दोभान खण्डमा हाल काठमाडौँतर्फ काम भइरहेको समितिका सूचना अधिकारी उद्वव नेपालले बताए । उनका अनुसार अहिले भूनिर्माण र नदीसँग सम्बन्धित काम सुरु भएको छ भने आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

हाल नदी किनारको पर्खाल उठाउने उठाउने काम भइरहेको तथा त्यसपछि पार्क र साइकल मार्ग निर्माण गरिने उनको भनाइ छ । मनोहरा करिडोरअन्तर्गत हालसम्म दोभानबाट बालकुमारी हुँदै नरेफाँटसम्मको सडक सम्पन्न भइसकेको छ । बालकुमारीदेखि जडीबुटीसम्मको सडक डिभिजन सडक कार्यालयले निर्माण गरेको थियो ।

नरेफाँटबाट लोकञ्थली जोड्ने पुल हुँदै पेप्सीकोलासम्म ट्रयाक खोल्ने काम अघि बढेको छ । पेप्सीकोलातर्फ कागेश्वरी मनोहरा नगरपालिका–७ र मध्यपुर ठिमीतर्फ चारमा पर्ने ठाउँमा नदी व्यवस्थापनको काम सुरु गरिएको उनले बताए । 

नयाँ बानेश्वरबाट कोटेश्वर हुँदै भक्तपुरतर्फ जाने सडकको विकल्पका रूपमा यो करिडोर रहेको छ । बिजुलीबजार वा नयाँ बानेश्वरबाटै सवारीसाधन करिडोरतर्फ डाइभर्ट हुँदा जडीबुटीमा  सवारीको चाप केही कम भएको छ । समितिले काठमाडौँ उपत्यकामा धोबीखोला बाहेकका सबै नदीमा काम गरिरहेको छ । 

समितिले नदी सफा गर्नेसँगै सडक, पुल र ढल निर्माणको काम एक साथ अघि बढाइएको छ । उपत्यकाका सबै नदीमा सुधारका कामसँगै करिडोर निर्माण समितिको कार्यक्षेत्रमा पर्छ । रासस


Author

थप समाचार
x