पूर्वाधार

तिहारसम्ममा सबै राष्ट्रिय राजमार्ग मर्मत गरिने

इकागज |
कात्तिक १३, २०८० सोमबार २१:२९ बजे

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडकमध्ये आधामा दसैँ पहिले नै मर्मत सकिएको र बाँकीमा तिहारअघिसम्म सकिने बताएका छन् । 

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा उनले मुख्य राजमार्ग र काठमाडौँ उपत्यकाका धेरै सडकमा मर्मतको काम गरिसकिएको बताए । चाडपर्वका लागि काठमाडौँ उपत्यका बाहिरिने नागरिकलाई सहज बनाउन लागिएको उनको भनाइ छ । उनले भने, 'यात्रुले सजिलै टिकट पाएर आ-आफ्नो घर फर्कन पाएका छन् ।'


दसैँमा नागरिकलाई यात्रामा सहज बनाउनका लागि घटस्थापनादेखि पूर्णिमासम्म हेभी सवारीमा रोक लगाइएको र सवारी जुनसुकै मार्गमा जान सक्ने व्यवस्था मिलाइएको उनले बताए । उनले भने, 'अघिल्ला वर्षहरूभन्दा यो वर्ष दुर्घटना पनि कम भएको छ ।'

समितिका सभापति दीपकबहादुर सिंहले सडक निर्माण गर्दा नै कम्तीमा १०/१२ वर्षसम्म मर्मत गर्न नपर्ने गरी गर्नुपर्ने जिकिर गरे । निर्माणाधीन सडकमा धुवाँ धुलोका कारण नागरिकले धेरै हैरानी बेहोर्नुपरेको उनको भनाइ थियो । 'खाना खाँदा खानामै धुलोका कण र पसलेले पसल खोल्दा सामानमा धुलो नै धुलो भइरहेको छ,' उनले भने ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँभर पनि सडक विभाग र यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयले नागरिकका गुनासो सुन्ने र सम्बोधन गरेको बताए । यो वर्ष तुलनात्मक रूपमा कम सडक दुर्घटना भएको र नागरिकले टिकट नपाउने समस्या कम भएको उनको दाबी थियो ।

समितिका सदस्यहरू ठाकुर गैरे, प्रदीप पौडेल, शिव नेपाली, विना लामा, डा. चन्द्रकान्त राउत, दयालबहादुर शाही, निशा डाँगी, कल्पना चौधरी, प्रतिमा गौतम, निर्मला कोइरालालगायतले सडकको खराब अवस्था र सवारी अव्यवस्थित हुँदा नागरिकले सधैं चाडपर्वको समयमा हैरानी बेहोरिरहेको औंल्याएका थिए । नारायणगढ–बुटवल, मुग्लिन–नागढुङ्गा, सिद्धार्थ राजमार्गलगायतका सडकमा धेरै समस्या रहेको उनीहरूले बताए । समिति सदस्यहरूले दसैँ मनाउन जाँदा र फर्कँदा सामान्यभन्दा दोब्बर बढी समय लागेको बताए ।  

समितिले आजै ग्वार्काेस्थित फ्लाई ओभर, विस्तारका क्रममा रहेको कलङ्की–बसुन्धारा सडक र विष्णुमतीस्थित पुलको स्थलगत अवलोकन गरेको थियो ।  


Author

थप समाचार
x