पूर्वाधार

जंगलमा परिणत हुँदै देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट स्टेडियम

संरक्षण अभावले बनेका संरचना भत्किन थाले

विक्रम खड्का |
चैत २४, २०७८ बिहीबार १९:५१ बजे

बुटवल– नेपालकै अन्र्तराष्ट्रिय देउखुरी क्रिक्रेट स्टेडियम संरक्षणको अभावमा प्रयोगविहिन बन्न पुगेको छ । अन्तराष्ट्रिय देउखुरी क्रिक्रेट मैदानमा पिचको फाउन्डेशन लगायतका काम अधुरा रहँदा मैदानको प्रयोग हुन सकेको छैन । 

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थान देउखुरीमा अन्तराष्ट्रिय क्रिक्रेट मैदान छ । तर, प्रतियोगिता सञ्चालन गर्न अन्य क्रिक्रेट मैदानको खोजी गर्नुपर्ने बाध्यता छ । 


अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियम अव्यवस्थित हुनाले जिल्ला स्तरीय सगरमाथा डि.सि.याल टी–२० क्रिक्रेट प्रतियोगिता घोराही र लुम्बिनी प्रदेशस्तीय खेलाडी छनोट प्रतियोगिताको फाइनल खेल भैरहवामा गर्नुपरेको लमही नगर विकास समितिका पूर्व अध्यक्ष धनश्याम सुबेदीले बताए । उनले भने –‘यो समस्या हल गर्न स्थानीय सरकार लाग्नुपर्ने हो, तर समस्या समाधान हुनसकेको छैन ।’ 

यस्तो समस्या सबै क्रिक्रेट मैदानमा छ, तर क्रिक्रेट मैदानको संरक्षण र समन्वय गर्ने अग्रसरता स्थानीय पालिकाले देखाएका छैनन् । स्थानीय पालिकाका प्रमुखहरु प्रदेश र संघीय सरकारलाई दोष दिएर उम्किने गरेका छन् । स्थानीय सरकारले चासो नदिंदा अन्तराष्ट्रिय क्रिक्रेट मैदान ओझेलमा पर्दै गएको देउखुरी क्रिक्रेट क्लबका उपाध्यक्ष प्रकाशकुमार जिसीले बताए । उनले स्थानीय पालिका स्वास्थ्यका लागि खेल भन्ने नारा लगाउने मात्र तर काम भने नगरेको आरोप लगाए । 

‘स्थानीय सरकारबाट अपेक्षा गरिए अनुसारको सहयोग अहिलेसम्म क्रिकेट मैदानका लागि हुन सकेन, मैदानभित्र बनेका संरचना जीर्ण हुदै गएका छन्,’ उनले भने, ‘ती संरचनालाई सक्रिय र चलायमान बनाउन स्थानीय पालिकाबाट कुनै पहलकदमी देखिएको छैन । मैदानभित्रको दुइवटा ड्रेसिङ् कोठा जीर्ण बनेको छ ।’ 

क्रिकेट मैदानको वरपर सिसौका विरुवाहरु उम्रिएका छन् । मैदानको संरक्षण तथा सम्र्बद्धनमा कसैले चासो नदिदा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान बगरमा परिणत भएको हो । सरोकारवालाहरु मौन बस्नु र मैदानको संरक्षण तथा सम्र्बद्धनतर्फ कसैको ध्यान नपुग्दा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान ओझेलमा परेको स्थानीय शशीराम नेपालीले बताए । ‘नाङ्गो मैदानमा वृक्षारोपण गरिएको जस्तो मैदानभित्र सिसौका बोटविरूवाहरू सजिलोसँग देख्न पाइन्छ,’ स्थानीय नेपालीले भने । नेपालको दोस्रो ठूलो मैदानभित्र घाँस बढेर गौचरन जस्तो भएको छ । यस मैदानको संरक्षण गर्नु स्थानीय पालिकाको दायित्व हो । देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियममा दुइवटा ठूला क्रिक्रेट खेल सञ्चालन भएको छ । 
 

आठौ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता र प्रधानमन्त्री कप, महिला क्रिक्रेट प्रतियोगिता सम्पन्न भइसकेका छन् भने प्रदेशस्तरिय खेलाडी छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ । मैदानभित्र स्कोर बोर्ड र एलइडी (डिस्प्ले) डिजिटल बोर्ड स्थापना गरिएको छ, तर ती बोर्ड प्रयोगविहिन छन् । बोर्ड स्थापना भएदेखि मैदानमा खेल भएको छैन । 

त्यसैगरी मैदानभित्र रहेको इन्डोर हल, निर्माण कार्य पूर्णरुपमा सम्पन्न हुन सकेको छैन । बजेट अभावकै कारण हाल अलपत्र परेको हो । सोही मैदानभित्र पाँचवटा पिच छन् तर, पिच संरक्षण गर्ने क्युरेटर छैन । जसले गर्दा उक्त पिच दिनप्रतिदिन जिर्ण बन्दै गइरहेका छन् । देउखुरी क्रिक्रेट क्लबका उपाध्यक्ष जिसीले भने ‘क्युरेटरविना मैदानको अर्थ छैन । मैदानको संरक्षण भएको पाइदैँन । अहिले मैदानभित्र अनावश्यक झार उम्रिएका छन् ।’

एउटा क्युरेटर र दुईवटा ग्राउन्ड कामदार नभएसम्म मैदान संरक्षण गर्न नसकिने उनको भनाइ छ । यस विषयमा स्थानीय पालिकाले तदारुकता नदेखाएको उनले आरोप लगाए । लमही नगर विकास समितिको ६ करोड लागतमा देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियम निर्माण भएको हो । 
नेपाल क्रिक्रेट संघको नजर परेन 
 

क्रिक्रेट जगतको छाता संगठन नेपाल क्रिक्रेट संघ (क्यान)को नजर देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडिमय तर्फ पर्न सकेको छैन । संघको ध्यान मैदान तर्फ नपुगेको लमहीका पूर्व क्रिक्रेट खेलाडी प्रेमप्रसाद पुलामीले बताए । ‘नेपाल क्रिक्रेट संघले सिधै देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडिमय आफ्नो मातहतमा आउनु पर्‍यो भन्छ तर, स्थानीय पालिका मैदान हस्तान्तरण गर्न मान्दैन,’ उनले भने, ‘तर पनि यति ठूलो सम्भावना बोकेको मैदानको संरक्षण तर्फ संघले अन्य विकल्प नखोज्नु दुखको कुरा हो ।’ 
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x