वार्ता

संवाद

नेपाली गजललाई किन विधागत रूपमा यति तल राखिएको छ ?

इकागज |
असोज १६, २०७९ १०:१७ बजे

नेपाली गजलको क्षेत्रमा चर्चित गजलकार हुन्, प्रदीप रोदन । गोरखाको पालुङटारमा बसेर शिक्षण कर्म गरिरहेका प्रदीप रोदनको हालै ‘मफलर’ गजलसंग्रह छापिएको छ । उनै गजलकार रोदनसँग कवि कृष्ण कञ्चनले गरेको कुराकानी :

भर्खरै तपाईंको ‘मफलर’ गजल संग्रह प्रकाशित भएको छ, पाठकको प्रतिक्रिया के छ ? 
भर्खरै प्रकाशित भएको छ त्यति धेरै पाठकको प्रतिक्रिया आइसकेको छैन तर आएका मध्येबाट केही अन्य विषयवस्तुभन्दा मूल्यसँग सम्बन्धित भएर भने केही प्रश्न आएका छन् । बाँकी प्रेरणा र हौसला दिने प्रतिक्रिया मिलेको छ । 


मूल्य बढी भयो भन्ने पाठकको गुनासो छ ? 
मैले मूल्यको विषयमा कुरा उठ्छ भन्ने पहिले नै अनुमान गरेको थिएँ । सिर्जनाको आआफ्नो मूल्य हुन्छ । नेपाली गजललाई हिजोदेखि नै माथि लिएर जानुपर्ने थियोे । किन आख्यानको बढी, गजलको मूल्य थोरै हुनुपर्ने ? मैले यसमा केही भिन्नता देखिनँ । सिर्जना सबै एउटै हो । गजलको मूल्य कम हुनुपर्ने अर्थ के थियोे र ? फेरि किताब पढ्नेलाई थाहा हुन्छ, यसको डिजाइन, पेज आदि बारे । 

तपाईंको चर्चा देखेर गजलसंग्रह प्रकाशन गर्न प्रकाशकले तपाईंलाई प्रस्ताव गरेका हुन् ? 
प्रकाशन गृहले यो हतारमा गरेको निर्णय होइन । प्रकाशन गृह फाइनप्रिन्टले मलाई दुईतीन वर्षदेखि नजिकबाट देखिरहेको छ । गजलको मेरो नियमित साधना थाहा पाएको छ । 
नेपाली गजललाई स्थापित गर्नुपर्छ । नेपाली गजलका सर्जकहरू थुप्रै छन् । अहिले नेपाली गजलका पाठक पनि धेरै छन् । प्रदीप रोदनको चर्चाको कुरा हैन । बरु अहिलेका युवाको गजलप्रतिको मोह राम्रो छ । हामीले गजलको विकासका लागि काम गर्नुपर्दछ । गजललाई अझै स्थापित गर्नका लागि प्रयास गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूसँग मेरो कुरा भएको हो । उहाँहरूले भन्दा पनि मेरो आफ्नै खालको प्रयास हो । फाइनप्रिन्टले निकाल्नुपर्छ भन्दा पनि कहाँबाट जाँदा गजललाई स्थापित गर्न र बजारीकरण गर्न सहज पुग्ला भनेर मैले गरेको प्रयास हो । प्रकाशन गृहको भन्दा पनि मेरो प्रयास धेरै छ त्यहाँबाट प्रकाशन गर्नुपर्छ भन्ने कुरामा । 

पहिलो पुस्तक प्रकाशनको अनुभव कस्तो हुँदो रहेछ ? 
जिन्दगीमा पहिलोपटक प्रेमको भेटघाट जस्तो हुँदो रहेछ । डेटिङ जस्तो । कौतूहल पनि उत्तिकै, डर पनि उत्तिकै, खुसी पनि उत्तिकै, प्रेसर पनि उत्तिकै । समग्रमा सम्पूर्ण संवेगको मिश्रित अनुभूति हुँदोरहेछ । 

प्रकाश गृहले लेखकलाई अग्रिम भुक्तानी गर्छन् भन्ने सुनिन्छ, तपाईंको अनुभव के भयो ? 
लेखकको पनि आफ्नै खालको व्यवहार हुन्छ । उसले लेखनका लागि तयारी गर्नुपर्ने समय, त्यसका लागि खर्चिनुपर्ने समयका लागि लेखकले अन्य काम गर्न भ्याउँदैन । त्यसकारणले गर्दा सामान्य रूपबाट प्रकाशन गृहले लेखकलाई अग्रिम भुक्तानी गर्नुपर्छ । यो व्यावहारिक रूपले सुन्दर कुरा हो । कसैले कतैबाट दिइएको छैन भने पनि दिनुपर्ने व्यवस्था हुनुपर्छ । 

तर हामी चाहिँ प्रकाशन गृह र लेखक भएर काम गरिराखेका छैनौं । मेरो सन्दर्भ अलि फरक छ । प्रकाशन गृहसँग मेरो भाइचाराको सम्बन्ध हो । नेपाली गजललाई कहाँसम्म कतिसम्म गर्न सकिन्छ । भोलिका पिँढीहरू पनि फेरि दुई सय, तीन सय मूल्यमै गजलका किताब झोलामा राखेर लिनुस् भन्दै हिँड्नुपर्ने अवस्था कहिलेसम्म हुन्छ ? नेपाली गजललाई किन विधागत रूपमा यति तल राखिएको छ ? तपाईं हामी मिलेर के गर्न सकिन्छ भन्ने विषयको छलफल भएको छ । अग्रिम भुक्तानीभन्दा पनि नेपाली गजललाई स्थापित गर्नका लागि प्रकाशन गृहले गर्न सक्ने सहयोग के र मैले गर्न सक्ने सहयोग के भन्ने विषयमा धेरै छलफल भएको छ, प्रकाशन गृहसँग मेरो सन्दर्भमा । 

तपाईंको चर्चा चुलिनुमा रवि लामिछाने र उनको कार्यक्रमको पनि भूमिका छ भन्छन् नि ? 
व्यक्तिलाई सकारात्मक प्रेमले माथि उठाउँछ । रवि दाइले गर्नुभएको प्रेमले मलाई व्यक्तिगत रूपमा माथि उठायो भन्दा पनि गजलको प्रतिनिधित्व गरेर म उहाँको कार्यक्रममा पुगेँ । प्रतिनिधि म भएको कारणले केही फाइदा भने पुगेको होला मलाई यसलाई नकार्न मिल्दैन । रवि दाइले नेपाली गजललाई माथि उठाउनका लागि ठूलो प्रयास गर्नुभएको हो । प्रतिनिधि पात्र म भए पनि नेपाली गजललाई दिनु भएको समय प्रेम र अवसर थियोे त्यो । 

गजलमा बहर र स्वतन्त्र भनेर विवाद हुन्छ तर तपाईंको कुनै प्रतिक्रिया देखिँदैन यो विषयमा, मौन रहनुको कारण ? 
गजलमा बहर र स्वतन्त्र भनेर विवाद गर्छन्, गरिराखेकै छन् । यसले नेपाली गजल जुन उचाइमा पुग्नुपर्ने हो त्यो उचाइबाट नै दुई भागमा बाँडिसकेपछि त्यो उचाइ रहन सक्दैन । जस्तै पानीलाई दुईवटा कुलोबाट बाँडियो भने त्यसको बहाव, विस्तार क्षेत्र धेरै कुरामा फरक पर्छ । बहर र स्वतन्त्र भनेर नेपाली गजल पनि दुईवटा कुलोमा हिँडेको देखिन्छ । 

म मौन बसेको छैन । मेरो मौनता भनेको बोल्नुलाई नबोल्नुलाई यहाँ त्यसरी हेरेको छैन । साधनाको कुरा हो । म गजल साधना बहरमा पनि, स्वतन्त्रमा पनि उत्तिकै गरिराखेको छु । मलाई पीर जम्मा गजलको मात्र हो । पूर्ण गजल भनेको बहरे गजल हो । 

गजल गजल हो, गजलको अगाडि ‘बहर’ र ‘स्वतन्त्र’ भनेर गजललाई थर बनाउनु हुँदैन । गजललाई थरका रूपमा राख्ने हैन, नामका रूपमा राख्नुपर्छ । 
 

सबै नियमहरू पालना गरेको । कसैले पनि खोट देखाउन सक्दैन तर स्वतन्त्र गजललाई गजल नै हैन भन्ने खालको सवालमा चाहिँ मलाई त्यस्तो लाग्दैन । गजल गजल हो गजलको अगाडि चाहिँ बहर र स्वतन्त्र भनेर गजललाई थर बनाउनु हुँदैन । गजललाई थरका रूपमा राख्ने हैन, नामका रूपमा राख्नुपर्छ । 

साधना गर्ने हो सकेसम्म हामी चाहिँ नियमका हिसाबले पनि बलियो हुन सक्नु चाहिँ अत्यन्त सुन्दर कुरा हो । त्यसकारणले गर्दा म चाहिँ साधना गर्छु । मलाई बोलेर भन्दा पनि लेखेर नै गजलका लागि केही गर्न सकिन्छ भन्ने सुरुवातदेखि नै लागेको हो । त्यसकारणले गर्दा मलाई विवादमा कहिल्यै पनि बोल्न मन लाग्दैन । म दुवैमा अभ्यास गरिराखेको छु । 

कहिलेकाहीँ तपाईंका गजलको भाव अरु गजलकारसँग पनि मिल्यो भनेर टिप्पणी हुन्छ, यसलाई संयोग मान्न सकिन्छ ?
जानीजानी हामी कसैले पनि त्यस्तो गर्छौं जस्तो मलाई लाग्दैन । तपाईं आफू बनी सोच्नुभयो भने जानीनजानी अर्काको गजल भाव लेख्न मन लाग्छ कसैलाई ? त्यो पनि सामाजिक सञ्जालमा राख्छौं । त्यो भनेको जानीजानी तपाईंलाई गाली खान मन लाग्छ । मेरोसँग मिलेछ भनेर अर्काले गरेको कुरा सुन्नका लागि कसैले लेखेको हुँदैन र सामाजिक सञ्जालमा राखेको हुँदैन । 

त्यसकारणले गर्दा कसैको भावसँग ठ्याक्कै त्यो भाव देखेर त्यो भाव लिएर लेख्नु भनेको मूर्खता हो । मैले त्यस्तो गर्दिनँ थिएँ । मैले मेरो हिसाबले मेरा गजल लेखिरहेको छु । मैले नै सिर्जना गरेका गजल म राख्छु । सामाजिक सञ्जालमा यसरी राख्दा कहीँकतै भाव मिल्दो रहेछ तर साथीहरू सिधै चोरेको कहीँ कतैबाट प्रेरित भएको भन्ने कुरा नेपाली गजलमा धेरै हाबी भएको छ । एउटा उमेर पुगेको परिपक्व सर्जकले जानीजानी अर्काको भावलाई लेख्छु भनेर लेखेर सामाजिक सञ्जालमा राख्छ भने त्यो मूर्ख हो । त्यति साह्रो मूर्ख कुनै पनि सर्जक बन्न सक्दैन । त्यसकारणले गर्दा तपाईं हामी बाँचेको परिवेश, देखेको भूगोल, यो व्यवस्था, विवशता, विशेषता र अवस्था लगभग उस्तै छ । यसरी कहिलेकाहीँ मिल्न जाँदो रहेछ । मिल्न जानुको कारण मैले गजलमा करिब नौ वर्षसम्म साधना गरेको छु । मैले नलेखेको दिन भनेको म बिरामी हुँदा र केही विशेष अवस्थामा बाहेकका दिनमा मात्र होला । हैन भने म निरन्तर साधना गरिरहेको छु । 

धेरै विषयवस्तुमा मेरो कलम चलेको छ । तपाईंले कुनै वस्तुमाथि हेर्ने दृष्टिकोण र मैले हेर्ने दृष्टिकोण उस्तै भइदिन सक्छ । त्यसकारणले गर्दा यी जानीजानी गरिएका कुरा हैनन् । यो संयोग नै हो । गजलकार बन्न कोही कसैको भाव लिएर हिँडेको छ जस्तो मलाई लाग्दैन । म कसैको भावसँग बसेर गजलकार बन्न निस्केको हैन । यो संयोग नै हो तर नेपाली गजलको परिपाटी अतिवादी खालको छ । मैले विगत चार÷पाँच वर्षदेखि भोगिरहेको छु । यहाँसम्म कि साथीहरू हुँदै नभएका कुराहरूलाई जोडेर हेर्ने । यस्तो खालको भाव कहीँकतै छ कि भनेर खोज्ने अलिकति कहीँ कतै भाव मिल्न पुगेछ भने त्यहाँ लिएर जुधाउने र सामाजिक सञ्जालमा आलोचना गर्ने । जसले गजल बुझ्न सक्छ, गजलको परिवेश बुझ्न सक्छ, त्यस्ता व्यक्तिबाट पनि यस्ता क्रियाकलाप हुनु नेपाली गजलका लागि एकदमै बाधक हो । 
मेरो व्यक्तिगत रूपमा भने यो संयोग नै हो । मैले आजसम्म जानीजानी त्यस्तो गरेको छैन । निरन्तर साधनाले कहिलेकाहीँ अर्काको मन–मस्तिष्कमा भएका कुराहरूलाई लेख्न पुगिँदो रहेछ । जुन जुन साथीहरूले त्यस्ता संयोगका कुराहरू गर्नुभयो मैले जुन संयोगहरू गरे उहाँहरूले लगाउनु भएको जुन जुन आरोप छ त्यस्ता खालका विषयवस्तु र त्यस्ता खालका शेरहरूलाई मैले सकेसम्म हटाइदिएको छु । 

तपाईंलाई एउटा संस्था÷व्यक्तिले गजलको बादशाह उपाधि दिए । यसको विरोध पनि भयो, तपाईंलाई के लाग्छ ? 
यो बादशाह भन्ने सन्दर्भमा मैले सपनामा पनि नसोचेको कुरा हो । मैले कल्पना नगरेको कुरा हो । बादशाह हुनका लागि, चर्चित गजलकार हुनका लागि मैले गजल लेखेको थिइनँ । म केवल गजल लेख्नका लागि मात्र गजल लेखिरहेको छु । कसैको हृदयले कसैको विचारले मलाई त्यो खालको उपनाम दियो । त्यसको विरोध पनि कसैको हृदयले विवेकले विचारले गर्यो यी दुइटै कुरा म भन्दा परका कुरा हुन् । जसको विचारले विवेकले मनले त्यो मलाई दिएको थियोे, जसका विचारले विवेकले त्यो मलाई देखेन, त्यो फरक कुरा रह्यो । 

तर मसँग सम्बन्धित भएर आइसकेपछि मलाई लाग्छ, म आफैं पनि यो बादशाह हुनुपर्छ भन्ने खालको मान्यतामा गजल लेख्ने व्यक्ति हैन । कुनै संस्थाले दिनुभएको थियोे बादशाहको उपाधि । उहाँहरूले केही बनाएर दिनुभएको हैन । त्यो शाब्दिक सम्मान थियोे । अर्को पक्षले विरोध गर्यो भनेपछि यो फरक फरक विवेकको विचारको कुरा हो । 

तपाईंले गजल बोकेर विदेश भ्रमण गर्नुभयो, कस्तो रह्यो अनुभव ?
भ्रमण सुन्दर रह्यो । म गजलकारको हिसाबले पहिलो पटक विदेश भ्रमणमा जान पाउनु मेरा लागि ठूलो सौभाग्य थियोे । त्यो अनुभव म शब्दमा व्यक्त गर्न सक्दिनँ । जति बेला म प्रदीप रोदन विदेश गएको थिइनँ । एउटा गजलकार विदेश गएको थियो । अब नेपाली गजलले ठाउँ पाउन सक्छ र पाएको छ । 

तपाईं हामी मिलेर अगाडि बढ्ने हो भने नेपाली गजललाई नेपालीभाषी जहाँ जहाँ हुनुहुन्छ, त्यहाँ त्यहाँ नेपाली गजल स्वागत गर्न सक्ने वातावरण बनाउन सकिने रहेछ भनेर एउटा मीठो सन्देशका रूपमा पनि हेर्छु । गजलकारको हिसाबले हेर्दाखेरि सम्भावना छ । नियमित साधना गर्ने हो भने प्रेम मिल्दो रहेछ । माया मिल्दो रहेछ । हामीलाई पनि स्थान मिल्छ । नेपाली गजलको सम्भावना प्रचुर छ । प्रचुर हुन सक्ने सम्भावना छन् । प्रदीप रोदन मात्र भएर सोच्दाखेरि पनि हाम्रा लागि नेपाली गजलका लागि यो सुखद कुरा थियो । र, गजलकार भएर हेर्दाखेरि त झन् यो असाध्यै खुसी हुने, असाध्यै हौसला मिलेको चैँ क्षण रह्यो । त्यहाँको जुन आयोजना भयो, त्यहाँको आयोजकले जुन खालको राम्रो व्यवहार गरिदिनु भयो, जुन खालको प्रेम दिनुभयो, त्यहाँ उपस्थित हुनुभएको व्यक्तिहरूले जुन खालको मायाले हेरिदिनु भो, सुनिदिनु भो, त्यो मेरा लागि गजल लेखेपछिको सबैभन्दा सुन्दर क्षण हो । जीवनभरि त्यो क्षणलाई सम्झिएँ भने म मुस्कुराउन सक्छु ।

गजलको कुरा गर्दा गुटको कुरा पनि आउँछ, तपाईं कुन गुटमा हुनुहुन्छ ? 
मेरो कुनै पनि गुट छैन । मेरो गुट छ भने गजल मात्र छ । गजलभित्रको कुनै गुटमा भने म छैन । म गोरखाको एउटा गाउँमा बसेर गजल लेखिएको छु । कहिलेकाहीँ सौभाग्यवश गजलकार साथीहरूलाई भेट्न पाउँछु । यहाँ वरिपरि म सँगै बसेर चियागफमा भेटिने गजलकार साथीहरू हुनुहुन्न । म कुनै गुटमा बसेर कसैको विरोध गर्ने, कसैको कुरा गर्ने खालको व्यक्ति हैन । 

मैले हेर्ने भनेको गजलको विकास कसरी हुन्छ र गजलको विवादलाई कसरी निराकरण गरेर गजललाई कसरी फैलाउन सकिन्छ भन्ने मात्र हो । गजललाई मूल्य कसरी दिन सकिन्छ ? गजललाई अन्य विधाहरूको हाराहारीमा कसरी उभ्याउन सकिन्छ ? यति मात्र सोच हो मेरो । यो सोच जुनसुकै गुटमा छ भने म नैतिक रूपमा समर्थन गर्छु । 

तपाईंलाई कुनै कार्यक्रममा बोलाउन पारिश्रमिक कति दिनुपर्छ ? विदेशमा कति लिनुभयो ?
मलाई होइन, नेपाली गजललाई यदि मञ्चमा उभ्याउने हो भने पारिश्रमिक कति हुनुपर्छ भन्ने खालको मेरो चैँ बेसिक मान्यता सुरुवातदेखि नै थियो । सुरुवाती सङ्घर्षका चरणहरूमा ती कुराहरूलाई मैले व्यक्त नगरे पनि पछिल्लो समयमा मलाई मात्र होइन, प्रदीप रोदनलाई बोलाउँदा यति दिनुपर्छ । अर्को बोलाउँदा यति दे भन्ने खालको मेरो मानसिकता कहिल्यै पनि भएन र आज पनि छैन । नेपाली गजलले कम्तीमा कति पारिश्रमिक पाउने त ? कतिवटा गजल वाचन गर्नुपर्ने ? दसवटा गजल न गर्दा कति पारीश्रमिक हुनुपर्ने ? पाँचवटा गजल वाचन गर्दा कति हुने ? अनि स्वयं स्रष्टा कुन ठाउँबाट आएको छ ? त्यहाँसम्म आउँदा उसको खर्च कति हुन्छ । अनि ऊ यदि कुनै पेसा–व्यवसायमा छ भने त्यहाँसम्म जान र आउन उसले लिनुपर्ने बिदाका समय अथवा उसले गुमाउनुपर्ने व्यक्तिगत काम त्यसको मूल्य कति छ ? यी कुराहरूलाई मेन्टेन हुने किसिमले र यी कुराहरूलाई ढाकिने हिसाबको पारिश्रमिक हुनुपर्छ भन्ने मेरो मान्यता हो । भोलि प्रदीप रोदनले कहिलेसम्म गजल लेख्छ ? अथवा प्रदीप रोदनले गजलै लेखेर जिन्दगी काट्छ ? अथवा प्रदीप रोदनले पारिश्रमिकबाटै जिन्दगी चलाउँछ । भन्ने खालको यस्तो सपना प्रदीप रोदन स्वयंले पनि देखेको छैन । तर एउटा सपना प्रदीप रोदनले के देखेको छ भने भोलि तपाईं हाम्रा छोराछोरीले गजल लेखेको खण्डमा उनीहरू गजल मात्र लेखेर बाँच्न पाउने वातावरणको सिर्जना गर्नुपर्छ भन्ने मेरो मान्यता हो । हामी यो संघर्षमा उत्रिनैपर्छ । हामीले यो आधार बनाउनै पर्छ । त्यसका लागि बरु आयोजक खोज्न सकिन्छ । प्रायोजनहरू हुन सक्छन् । मैले न्यूनतम पारिश्रमिक यति चाहिन्छ भनेको छैन । कहिल्यै पनि यति भन्दिनँ । 

धेरै आख्यानकार गजलको पृष्ठभूमिबाट आएका छन अबको तपाईंको बाटो पनि आख्यानतिर हो कि गजलतिर नै ?
म गजल छोड्दिनँ । आज तपाईंले गरिरहनुभएको प्रश्न पनि गजलले नै दिएको अवसर हो । तसर्थ म गजललाई छोड्दिनँ । तर यहाँ भइदियो के भने गजलबाट धेरै आख्यानमा लाग्नुभयो तर उहाँहरूले गजललाई स्थापित गर्न कति प्रयास गर्नुभयो भन्ने कुरा हो । प्रदीप रोदन चाहिँ गजललाई नै स्थापित गर्नुपर्छ भनेर अगाडि बढेको हो । 

‘मफलर’ विमोचनको समयमा गजललाई बाहिरबाट सुन्ने स्वतन्त्र व्यक्तिहरूको उपस्थिति धेरै पाएँ । जो गजलकारहरू नै हुनुहुन्छ, जो गजलकार हौँ अथवा गजलका लागि हामी लडिराखेका छौँ भन्नुहुन्छ त्यस्ता साथीहरूको उपस्थिति त्यहाँ न्यून थियो । यसरी हेर्दा गजलमा के भविष्य नै छैन ? के लेखक भएर उसले जीविका चलाउन सक्दैन र गजलमा ? गजलमै लागेर के जिन्दगी देख्न सक्छ त ? अथवा गजलमै लागेको एउटा लेखकले गजल मात्र लेखेर जिन्दगी बिताउन सक्छ र ? भन्नेखालको प्रश्न मलाई विमोचनको दिनमा मनमा उठेको थियो । 

म गुट उपगुटमा नभएको कारणले गर्दा मलाई दुवैतिरबाट मार परेको पनि हुनसक्छ । तपाईं स्वयम् पनि उपस्थित हुनुहुन्थ्यो त्यहाँ तपाईंले पनि अन्दाज गर्नुभयो होला । आख्यान लेख्नै हुँदैन प्रदीप रोदनले भन्ने कुरा भने होइन । आख्यान लेख्ने सम्भावना रहन्छ । तर गजल पूरै छोडेर आख्यानमा लाग्दिनँ । 

मफलर किन पढ्नुपर्छ जस्तो लाग्छ तपाईंलाई ? 
तपाईं गजल अनुरागी हुनुहुन्छ भने, गजललाई प्रेम गर्नुहुन्छ भने गजलका जुनसुकै संग्रह आए पनि तपाईंले त्यसलाई प्रेम गर्न सक्नुपर्छ, पढ्नुपर्छ । मफलर पनि एउटा गजल अनुरागीको भोगाइ, चेतना उसको सोच्ने शैली, उसले देखेको अवस्था, व्यवस्था आदि सबै कुरालाई समेट्ने प्रयास हो, मफलर । तपाईं गजलप्रेमी हुनुहुन्छ भने गजल यो दशकमा कसरी लेखिएको छ भन्ने प्रतिनिधि गजल मफलरभित्र छन् । 

अन्त्यमा, गजल लेख्दै गरेका सिक्दै गरेका सर्जकलाई के भन्न चाहनुहुन्छ ? 
गजल लेख्दै गरेका, सिक्दै गरेका सर्जक हुनुहुन्छ भने तपाईं कुनै पनि गुट–उपगुटमा लाग्नु हुदैन । जुनसुकै गुटको होस् यदि गजलको हितको कुरा उठेको छ भने निःस्वार्थ हुनुपर्छ । अर्को गुटलाई हराउनका लागि, अर्को गुटलाई तल पार्नका लागि सरिक हुनुहुँदैन । गजलको विकासका लागि कार्यक्रम भएका छन् भने तपाईं त्यो गुटका सकारात्मक कुरा लिनुस् । गजलका सामान्य विशेषता तपाईं पढ्नुहोस् । गजल मजबुत बनाउन साधनारत हुनुपर्छ । साधना गर्नुस् । झैँझगडामा नफस्नुस् । बोल्नतिर भन्दा पनि लेख्नतिर लाग्नुस् । तपाईंको सिर्जना नै तपाईंको विशेषता हो । साधना गर्दै गएपछि एकदिन एउटा सुन्दर बाटोमा तपाईं हिँड्न सक्नुहुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा अध्ययन हो, अध्ययन गर्नुहोला । मैले गजल लेख्दै गएँ भने मेरो भविष्य हुन्छ कि भनेर विशुद्ध गजललाई मात्र ध्यान दिनुहोला भनेर सुझाव दिन चाहन्छु । मैले गर्न सक्ने सहयोग सदा रहनेछ ।

आँसु पिएर, धोका खाएर बसेको छु
यो दुनियाँसँग म अघाएर बसेको छु 

माटो बोकेर कुनै दिन त गौंथली आउला 
मैले वर्षौंदेखि दलिन बनाएर बसेको छु

जमाना हातमा गुलेली लिएर बसेको छ
अझै पनि म परेवा उडाएर बसेको छु 
रोदनका केही फुर्दहरू 
सयौं चोट खाएको छ, आँसु पिएको छ 
महोदय ! जिन्दगी यसै कहाँ उभिएको छ 

कतै नमज्जा त लागेको छ छानो चुहिँदा
केही रित्ता भाँडा पनि त भरिएको छ ।

थाप्लोमा राखेर जिन्दगी नचलेपछि 
आज उसले घाँटीमा नाम्लो राख्यो ।

कहाँ भरिन्छ बच्चाको पेट मूर्तिको स्तनले 
आमा नभए भगवान्को पनि केही लाग्दैन ।
 


Author

थप समाचार
ad
x