वार्ता

इकागज संवादमा विष्णु सापकोटा

बुवाआमा अलिकति ‘मार्क्सवादी’ भइदिएको भए यो विष्णु सापकोटा हुने थिएन

प्रेम : लडाइँ नगरी, तिघ्रा नबजारी, कविता लेखेरै पनि प्राप्त हुन्छ

विमल आचार्य |
जेठ २५, २०७८ मंगलबार १७:१९ बजे

अखबारमा छापिएका लेख पढ्ने लत लागेका पाठकले विष्णु सापकोटालाई पढेको मात्र होइन, पक्कै मन पराएको हुनुपर्छ । उनी पहिला ‘दि काठमाण्डू पोस्ट’ र ‘रिपब्लिका’तिर अनि एक दशकदेखि ‘कान्तिपुर’मा लेख्छन् । ‘विचार’ भनेर छापिने प्रायः लेखमा विवरणको बाढी, बासी ‘गसिप’को विस्तार, उही शब्द-शैलीको अनन्त दाइँ, वैश्विक उभार र लहरको हेक्का कम अर्थात् ‘विचार’मा कमी भनेकै ‘विचार’ ।

तर, सापकोटाले आफ्ना अखबारी लेखनमा एकल उद्धरण चिह्नभित्र हुल्ने बाक्लै शब्द-शब्दावलीमा ‘विचार’ कैद हुन्छ । उनले लेखको सुरु अनुच्छेदलाई यस्तो बनाएका हुन्छन्, जर्नल आर्टिकलको जस्तो, यसमा यो-यो मात्र कुरा गरिनेछ, यो यो छैन टाइपमा । वाक्य-अनुच्छेदबीचको ‘कोहिजन-कोहिरेन्स’ अन्तिमसम्म टुटेको हुँदैन । पाठकका मनमा पत्रपत्र हुँदै थपिँदै गरेका प्रश्‍न अनुमान-सम्बोधन गर्दै लेखेजस्तो लाग्‍ने उनका लेख छिनमै वा दिनमै बासी भइजानेजस्तो लाग्दैन । जस्तो, उनले दुई ‘कम्युनिस्ट’ पार्टीबीचको एकताबाट हौसिएका विश्लेषकतिर संकेत गर्दै त्यो नटिक्ने ‘ठोकुवा’ एकताको ‘न्वारन’ नसकिँदै गरेका थिए । साहित्यको स्वाद, सिद्धान्तको संकेत, शोधको शैली र सम्यक समीक्षा उनका हजार-१२ सय शब्दका लघुलेखको विशेषता हो ।


स्याङ्जाको करेनडाँडामा छ जना दिदीपछिको एक्लो भाइका रूपमा जन्मेका सापकोटाले स्कुलमा मास्टरी गर्दै पोखरामा आईए र बीए पढे । पछि कीर्तिपुर आएर अंग्रेजीमा एमए गरे, गोल्ड मेडलिस्ट भए । कीर्तिपुरमै पढाए, केही वर्ष स्थायी उपप्राध्यापकका रूपमा । सन् २००१ मा अंग्रेजीमा एमफिल कार्यक्रम सुरु भएपछि पहिलो ब्याचदेखि पाँच वर्ष यतातिर पनि पढाए । ‘लोकसेवा जिल्ला’मा जन्मेको भए पनि उनी आफू ‘यस धर्तीमा पैदा भएकै’ प्राध्यापक बन्‍न हो भन्ठान्थे । तर, आखिरमा उनलाई ‘पुँजीवाद’ले घुमाएरै छाड़्यो । विश्वविद्यालयमा प्राज्ञिक-आर्थिक सबल वातावरण पाएनन् अथवा उनलाई ‘भौतिकवादी ग्ल्यामर’ले तान्यो । अन्ततः उनी आफ्नो प्रिय सपनाबाट विरक्तिए अर्थात् पहिलो प्रेम प्राध्यापनबाट पलायन भए । संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाको ‘आकर्षक’ पेसातर्फ मोडिए, उनी । क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका उनले विभिन्‍न विश्वविद्यालयमा भिजिटिङ फेलोका रूपमा काम पनि गरेका छन् । राष्ट्रिय-अन्तर्राष्ट्रिय थुप्रै संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी हाल क्याम्बोडियामा छन् । 

सापकोटासँग उनको सपना, उनको स्याङ्जा, उनको साहित्य पठन र प्राध्यापन, उनको विचार लेखन र विश्लेषण शैलीबारे यहाँ कुरा कोट्याउने प्रयास गरिएको छ । सभ्यता र बौद्धिकताको इतिहास उनको रुचिका विषय हुन्, यहाँ छुस्स छोइएको मात्र छ । राजनीतिक गफ यहाँ धेरै छैन, उसो त राजनीति कहाँ पो छैन र ? कुराकानीको अन्तिम प्रश्‍नोत्तर उनको प्रेम-प्रसंग हो, जुन झनै ठूलो राजनीतिक जवाफ बन्‍न पुगेको छ । उनै सापकोटासँग इकागजका विमल आचार्यले गरेको छरपस्ट तर प्रस्ट गफगाफ यहाँका लागि :

तपाईं अहिले कहाँ के गर्दै हुनुहुन्छ ? 

विगत डेढ वर्षदेखि क्याम्बोडियामा छु । एउटा अन्तर्राष्ट्रिय संस्थाको जिम्मेवारीमा ।

यसरी अन्तर्राष्ट्रिय एजेन्सीतिर काम गर्दा राजनीतिबारे टिप्पणी सार्वजनिक गर्न पाइँदैन भनिन्छ । कतिपय राम्रा लेखक यस्तै जागिरले बाँधिएको पनि देख्छु म । तपाईं कसरी राजनीतिक टिप्पणी दिएको दियै हुनुहुन्छ ? जब कि तपाईंका लेखको पुछारमा ‘यी विचारले लेखक आबद्ध संस्थासित सरोकार राख्दैन’ भनेर लेखिएको पनि कहिल्यै देखिएन । विचार बन्देज गरिनुको कारण-अकारण के हो ?

प्रायः अन्तर्राष्ट्रिय संस्थामा आफ्नो स्वतन्त्र विचार राख्‍न पाइँदैन भन्‍ने होइन । तर, संस्थाका आआफ्ना नीति त हुने भइहाले । निजी विचार अभिव्यक्त गर्न कतिले स्वतन्त्रता दिन्छन्, कतिपय बढी नै संवेदनशील पनि हुन्छन् । नलेखिरहन नसक्ने मजस्ता केहीले आफ्नो संस्थासँग नेगोसिएट पनि गर्न सक्छौँ । म सन् २०१४ मा दोस्रोपटक संयुक्त राष्ट्र संघमा काम गर्न जाँदा साढे दुई वर्षजति राजनीतिबारे लेख्‍न पाइएन । तर, त्यतिबेला पनि कान्तिपुर कोसेलीमा अरुन्धती रोय र बीपी (कोइराला) को बौद्धिकतामाथि विभ्रमजस्ता चलनचल्तीको भाषामा गैरराजनीतिक लेख लेख्‍न भने छाडिएन । आखिर नेपाली नागरिकको हैसियतमा आफ्नो विवेकले देखेको कुरा आफ्नो मुलुकबारे (राम्रो होस् भनेर) लेख्‍ने-बोल्ने न हो । कसैले यो देश तेरोभन्दा बढी मेरो हो भन्छ र तँ चुप लाग् भन्छ, यताको चिन्ता मैले मात्र लिन्छु भन्छ भने त्यस्तासँग कसरी डिल गर्नुपर्छ भन्‍ने सधैँ सोचेको हुन्छु म ।   

तपाईंको पारिवारिक परिवेश, बाल्यकाल कस्तो थियो ? 

स्यांजाको करेनडाँडा हो मेरो गाउँ । सिद्धार्थ राजमार्गको छेउमै । आफ्नो बाल्यकालबारे भन्‍नुपर्दा छुटाउनै नमिल्ने कुरा के छ भने म छ जना दिदीपछि जन्मेको एक मात्र छोरो । छोरो भए स्वर्गको सम्भावना हुन्छ भन्‍ने ठानेर होला, सातौँ सन्तानसम्म पुगेको । बुवाआमा अलिकति ‘मार्क्सवादी’ भइदिएको भए यो वार्तालाप नै हुन पाउने थिएन । त्यस्तो ‘छोरा-सत्ता’को सामाजिक संरचनाले मलाई यथेष्ट लाभ दियो । बाल्यकाल निकै पुल्पुलिएर नै बित्यो । कान्छी दिदीको हात समातेर ‘शिशु’ पढ्न पठाउनुभएछ, दिव्यज्ञान प्राथमिक विद्यालयमा । तीन कक्षामा हुँदा एक जना सरले हल्का चड्कन लगाउनुभएको थियो । म रुँदै घर पुगेछु । आमाले तुरुन्त ती गाउँकै शिक्षकको घरमा गएर भन्‍नुभएछ, ‘बाबु, मेरो छोरा बरु फेल भए हुन्छ तर ऊमाथि हात त नउठाउनु । खिइन्छ जस्तो लाग्छ, त्यति दुःख गरेर पाएको ।’ गाउँभरि पुल्पुलिन पाइयो बाल्यकालमा । 

पारिवारिक पृष्ठभूमिको कुरा गर्दा अति ‘हम्बल’ । मायाप्रेम यथेष्ट, अरू अवस्था त त्यस्तै । म जन्मँदा बुवा ५७ वर्षको हुनुहुन्थ्यो, आमा चाहिँ ३७ । बुवा साक्षर हुनुहुन्थ्यो । घरमा रामायण, कृष्णचरित्रलगायतका पुस्तक थिए । जिल्लाको सबैभन्दा पुरानो २०१० सालमा स्थापित मातृभूमि माविबाट एसएलसी दिएको हुँ । आँधीखोला पारि, घरबाट आधी घण्टाजति टाढा स्कुल ।      

पोखरामा मास्टरी गर्दै कलेज पढ्दाको तपाईंको संस्मरण ‘साइकल इपिफेनी’ पढ्ने मौका पाइएको थियो । कलेज लाइफमा जाऊँ न अब । 

आईए पढ्न पृथ्वीनारायण क्याम्पसमा आउँदा भर्खर १४ वर्ष पुग्दै थिएँ । (त्यही भएर आफू २३ वर्ष मात्र हुँदा एमए दोस्रो वर्षका आफूभन्दा प्रायः सबै ‘जेठा बाठा’ विद्यार्थीलाई सेक्सपियरका ह्यामलेट र शेली-किट्सका कविता पढाउन पाइयो ।) आईए पहिलो वर्ष त पढाइको केही पनि मेसो नपाउँदै बित्यो । स्याङ्गजाबाट पोखरा आएपछि सबैभन्दा पहिले साइकल सिक्ने कुरा हुन्थ्यो, थोत्रा साइकल भाडामा लिएर । नबुझे पनि हिन्दी ‘फिलिम’ हेर्ने गरिन्थ्यो । आफू पूरै पथभ्रष्ट भएको छैन भन्‍ने आत्मस्वीकृतिका लागि कहिलेकाहीँ लाइब्रेरी जाने पनि गरिन्थ्यो । 

०४६ सालको भारतीय नाकाबन्दी मेरा लागि एउटा बौद्धिक कायापलटको समय बनेर आइदियो । म आईए दोस्रो वर्षमा पढ्थेँ । फर्केर हेर्दा, आईएको दोस्रो वर्षबाट मेरो खास कोग्निटिभ यात्रा सुरु भएको हो, प्राज्ञिक रूपमा । आईएमा पूरै फुल टाइम विद्यार्थी थिएँ । तर बीए पढ्न आउँदासम्म म अर्कै भएर आएको थिएँ, जसको कथा पनि सुनाउँछु । अति सुन्दर समय थियो बीए पढ्दाको, व्यक्तिगत रूपमा । संसारै जता हेर्‍यो त्यतै सुन्दर, त्यस्तो थियो ।   
    
तपाईं कसरी के कारणले पढैया हुनुभयो ? कीर्तिपुरमा पनि आफूलाई अब्बल साबित गर्नुभयो, पढाइमा एकोहोरिनुको कारण के हो ? 

भारतीय नाकाबन्दीपछि क्याम्पस बन्द भयो, हामी गाउँ फर्क्यौं । काठमाडौँमा पढ्ने मेरो मिल्ने साथी कपिलदेव रेग्मी पनि गाउँ आए । दिनभरि डुल्ने, कहिले आँधीखोलामा पौडी खेल्ने, अरू खासै काम भएन । त्यति बेलै जिल्लामा कहलिएका विद्वान् हुनुहुन्थ्यो शिवकुमार अधिकारी, जो प्रजातन्त्र आएपछिको ०४८ सालमा पहिलो जिल्ला सभापति पनि निर्वाचित हुनुभएको थियो । (दुई वर्ष पहिले दिवंगत हुनुभयो ।) उहाँ मेरो फुपूको छोरा दाजु पनि । 

त्यस्तै कुनै संयोगमा कपिल र म उहाँको रांगखोला घरमा गएर आईएको अंग्रेजी पढाइदिन आग्रह गर्‍यौँ । त्यसपछि कपिल र म प्रत्येक दिन दिउँसो ४ बजेतिर उहाँको घरमा पुग्‍न थाल्यौँ । उहाँ दहथुमको एक माविमा पढाएर घर आउनुहुन्थ्यो, जतिबेला हामी दुई कुरेर टुक्रुक्क बसेका हुन्थ्यौँ । उहाँ २०२० को दशकमा त्यतिबेलाको चर्चित वनारस हिन्दु विश्वविद्यालय (बीएचयू)को अंग्रेजी साहित्यको ‘अनर्स’ । त्योभन्दा पनि उहाँ मनोवृत्तिबाटै बौद्धिक व्यक्ति । बौद्धिकता भनेको त मनोभाव पनि हो । जीवन जगतलाई हेर्ने दृष्टिकोण बौद्धिक । 

उहाँसँग हाम्रो सेसन सुरु त किताबको कुनै पन्‍नाबाट हुन्थ्यो । तर, त्यसपछि अघि बढ्थ्यो उहाँको चिन्तन र टिप्पणीको शृंखला : खासमा गान्धी के थिए ? नेहरू विद्वान् थिए कि थिएनन् ? राधाकृष्णन बीएचयूको दार्शनिक शेक्सपियर पढेर के हुन्छ ? वर्डस्वर्थ र देवकोटामा के समानता छ ? चर्चिलको बाल्यकाल कस्तो थियो ? बीपीले राजा महेन्द्रबारे के सोच्थे ? यहाँ हुन्थे हामीले सुन्‍ने विषय ।

अहिलेको पोलिटिकल क्लासबाट मलाई केही आशा छैन ।

प्रसंगवश, शिवकुमार पनि निर्वासनबाट बीपीसँगै ०३३ सालमा नेपाल फर्किनुभएको रहेछ । जेहोस्, भइदियो के भने– कपिल र मैले उहाँको युवावस्थादेखिको बौद्धिक/दार्शनिक चिन्तन र ज्ञानसँग दैनन्दिन सत्संग गर्ने मौका पायौँ । त्यो त्यस्तै तीन महिना जति चल्यो । उहाँबाट हामीले के पाएका थियौँ भन्‍ने हामीलाई त्यतिबेला थाहा नै थिएन । अहिले सम्झँदा लाग्छ, शिवकुमारले पनि त्यो स्वतन्त्र बौद्धिक विचरण गर्ने रमाइलो समय भेट्टाउनुभएको थियो हामीलाई सिकाउने बहानामा । हामी दुई उत्सुक शिष्यमा ज्ञानका कुरा जे पनि सुन्‍न खोज्‍ने उत्सुकता थियो । उहाँ यस्तो प्यासन र गहिराइका साथ भन्‍नुहुन्थ्यो कि ती विभिन्‍न व्यक्तित्वका किस्सा र त्यसको प्रभावले गर्दा आफूले पाए जति खोज्दै पढ्ने उत्सुकता जाग्‍न थालेको त्यहीँबाट हो । एक हिसाबको स्वच्छन्द गुरुकुल भयो त्यो- ज्ञानगुनका जे कुरामा पनि विचरण गर्न पाइने ।   

‘कायापलट’सँग जोडिएको अर्को छोटो प्रसंग पनि छ । त्यही समयमै कपिल र म वरिपरि डुल्दै गर्दा नजिकै बगालथोक भन्‍ने ठाउँमा एउटा लाइब्रेरी केही वर्षदेखि बन्द रहेको अवस्थामा भएको थाहा पायौँ । पञ्चायत काल नै थियो अझै । एक जना स्थानीय पञ्चले कताकताबाट डोनेसन ल्याएर लाइब्रेरी खोल्नुभएको रहेछ, बस प्रतीक्षालयको माथिल्लो तलामा । हामी दुईले त्यो बन्द लाइब्रेरी खोलेर पढ्ने इच्छा व्यक्त गर्‍यौँ

। पुस्तकालय खोलेर अलिअलि जे छ, त्यही पढ्न थाल्यौँ । ती किताब कस्ता थिए पनि धेरै थाहा थिएन । तर, ध्रुवचन्द्र गौतमको ‘कट्टेल सरको चोटपटक’देखि डीएल कार्नेगीका ‘हाउ टु स्टप बोरिङ एन्ड स्टार्ट लभिङ’जस्ता किताब पढेको याद छ । अरू नेपाली, अंग्रेजी के-के पढियो सबै याद छैन तर पढ्न चाहिँ थालियो । तर, गाउँमा हिँड्दा हातमा एउटा किताब लिएर हिँड्ने फुर्ती पनि गर्न थालियो । भारतबाट निस्कने ‘विज्डम’ म्यागेजिनको पुराना अंकसमेत खोज्दै पढियो त्यतिबेला ।

नाकाबन्दीको असर कम हुँदै गएपछि दोस्रो वर्ष पूरा गर्न पोखरा फर्किइयो । यतिबेलासम्म त म अर्कै भइसकेको थिएँ । परिणाम पनि देखियो । त्यो बेलाको मानविकी विषयमा आईए दोस्रो वर्षमा ६५ प्रतिशत आएछ । दोस्रो वर्षको मात्र हेर्दा त नेपालभरिकै दुई-चार जनाभित्र परेको म । अनि त आत्मविश्वासका लागि के चाहियो ! बीएमा पनि ‘टप’ गरियो, समग्रमा । 

तर, एउटा कुरा भन्नैपर्ने छ यहाँ । स्याङ्गजाली भएर पनि यो लोकसेवावाला जागिर खाने कहिल्यै सोचाइसमेत आएन ममा । कीर्तिपुर पढ्न जाने, त्यहीँ फेरि राम्रो गरेर त्यहीँ पढाउने सोचाइ नै पालियो सधैँ । पढाउनेबाहेक अरू कामलाई खास काम नै मानेको थिइनँ, बीए पढ्दादेखि नै । ठूला मान्छे भनेको कवि, लेखक, प्राध्यापक नै लाग्थे । राज्यका ओहोदावालाप्रति खासै आकर्षण कहिल्यै भएन ।

पढाइमा एकोहोरिनुको अर्को कारण पनि छ । त्यो के भने, मसँग अरू विकल्प पनि थिएन । एमए पढ्दाको एउटा प्रसंगसाथ यो कुरा टुंग्याउँछु । अंग्रेजी विभागमा त्यति बेला यस्तो परम्परा थियो कि प्रथम वर्षको रिजल्ट आएपछि जसले सबैभन्दा राम्रो गर्छ, ऊ अब श्रीधर लोहनी सरसँग थेसिस लेख्‍ने मौका पाउन सक्छ भन्‍ने थियो । लोहनी सर त्यस्तो लेजेन्ड कि उहाँको निर्देशनमा थेसिस लेख्‍न पाउनु भनेको नै एउटा गतिलो प्राज्ञिक यात्राको सुरुवात हुन सक्थ्यो । त्यो मौका त मलाई मिल्यो तर त्यसपछि मात्रै थाह भयो- मन लागेका कुरा पढ्नु, जाँचमा नम्बर ल्याउनु र एउटा अनुशासित रिसर्च गर्नुमा कति फरक छ । 

लोहनी सरको प्रभाव ममा यति छ कि, अहिले पनि उहाँलाई सम्झनेबित्तिकै यस्तो लाग्छ- ला, मैले पढेको कुरा मिलेको छैन कि ! मैले बुझेको कुरा उल्टो पो हो कि ! पढ्नुपर्ने कुरा नपढेर नपढे पनि हुने कुरा पो पढ्दै पो छु कि ! 

जोसँग भन्‍ने कुरा छ ती मौन छन्, जोसँग केही छैन तिनैलाई बोलिराख्‍ने जाँगर र फुर्सद दुवै छ । 

मेरो थेसिसको सुरुवाती टपिक थियो ‘पोस्टमोडर्न भ्यु अफ मोडर्निज्म’ । तर सरले यसरी पढ्न लगाउनु भयो कि ग्रीक दर्शनदेखि सुरु गरेर बल्ल उत्तरआधुनिकतासम्म आउन पाइयो । पछि थाहा भयो- लोहनी सरले एमएमा इन्टेलेक्चुअल हिस्ट्रीको पेपर सुरु गर्ने तयारी गर्नुभएको रहेछ । मैले थेसिसमा काम गर्ने सन्दर्भमा तिनै पाश्चात्य बौद्धिक परम्परामा विचरण गराउनुभयो धेरै । थेसिसमा त कति नै लेखियो होला र तर बौद्धिक परम्परालाई ऐतिहासिक रूपमा हेर्ने प्राज्ञिक तालिम त्यति बेलै मिलेको हो ।

छोटकरीमा, सन् १९९९–२००० मा एमफिलका लागि क्याम्ब्रिज विश्वविद्यालय जाँदाको कुरा सम्झँदा- कोर्सको कुरा पढ्ने, डिग्री आदि त भइहाल्यो । त्यो भन्दा रमाइलो के हुन्थ्यो भने- संसारका नाम चलेका विद्वान् बाटो-चौबाटोमै भेटिने । त्यति बेलै संसारकै एक नम्बर भनिएर चिनिएका स्टेफेन हकिङ मेरो होस्टलको सय मिटर दूरीमा रहेको थाई रेस्टुरेन्टमा नियमित आएका देखिन्थे, ह्विल चेअरमा । अमत्र्य सेन त्यहीँको ट्रिनिटी कलेजमा मास्टर/प्रिन्सिपल थिए, एक-दुई पटक उनका कुरा प्रत्यक्ष सुन्‍न पनि पाइयो । फतवाका कारण भूमिगत रहेका सलमान रुश्दी कडा सुरक्षाबीच आएका थिए, बोल्न । अरुन्धती रोयलाई त्यहीँ भेट्न पाइयो । नोबेल लरेटहरू त दर्जनौँ थिए, विभिन्‍न विभागमा । विश्वविद्यालयका चर्चित हस्ती त भइहाले, हरेक हप्ता जस्तो कुनै प्रसिद्ध व्यक्ति लेक्चर दिन आएका हुन्थे, कतैबाट । ठूलो ठाउँमा पढ्नुको रमाइलो नै त्यही हो, पढाइभन्दा बढी । पछि संस्थाको ब्रान्ड जिन्दगीभर काम लाग्‍ने त भइहाल्यो, आफ्ना मूर्खता ढाक्न ।         
     
यति अनुभव बाँड्दासम्मको आधारमा आफू हिँडेर आएको बाटो सम्झिँदा तपाईंले आफूलाई त्यही बाटोमा हिँडिरहेको बटुवाका रूपमा सोच्नुभयो, प्रस्तुत गर्नुभयो कि अहिलेको दर्शक वा विश्लेषक विष्णु प्रस्तुत गर्नुभयो ? 

बटुवाका रूपमा । सामाजिक न्यायका हिसाबमा हेर्दा यहाँ धेरै विसंगति छन् भन्‍ने त जहिले पनि लाग्थ्यो । आफू जस्तै हम्बल परिवारबाट आएको भए तापनि स्वभाव फेरि स्वच्छन्दतावादी । मान्छे भएर जन्मेपछि निश्चित कर्तव्य हुन्छ– यस्तो मलाई कहिल्यै लागेन । यहाँ जे जति नियम छन्, ती सबै आफैँ बन्दै भत्कदै जाने हुन् । शाश्वत कुरा केही होला, तर त्यो मान्छेलाई अहिलेसम्म थाहा छैन । आस्था-विश्वासको एउटा कुरा, तर कुनै पनि आस्था त्यस्तो छैन, जो आफैँमा गलत हुने सम्भावना राख्दैन । त्यस हिसाबमा म हुन खोजेको त दर्शक नै हो । तपाईंले सोध्नुभएका माथिका प्रश्‍नबारे उत्तर सोच्दा पनि आफ्नै जीवनको एउटा दर्शकका रूपमा सोचेँ । 

संस्मरण, आत्मकथा, वार्ता-आत्मर्वार्ताहरूलाई ननफिक्सन क्याटगोरीमा राखिन्छ, फिक्सनमै राख्दा हुने हो कि ?

संस्मरण, आत्मकथा वा आत्मवार्तालाई पनि फिक्सनमै राखे हुन्छ । कसको र किन भन्‍ने त थाहा छैन तर मान्छेको जीवन नै एउटा फिक्सन न हो । हाम्रो जीवनमा घटना घट्छन्, तर ती घटनालाई हामीले कसरी बुझ्छौँ भन्‍ने कुरा फेरि फिक्सन नै हो । जसरी मैले आफ्नो जो अनुभव सुनाएँ, जसमा केही अरु पात्र पनि जोडिनुभएको छ, उहाँहरूको त्यही घटनाबारे बुझाइ अर्कै हुन सक्छ । वेदान्त दर्शनअनुसार हेर्दा पनि– यो ब्रह्माण्ड नै एउटा चेतना हो, कन्ससनेस । कसैको कल्पना । फिक्सन । माया । बिग ब्याङको सिध्दान्तबाट हेरे पनि त्यो एउटा फिक्सन नै हो । बिग ब्याङको स्रोत के होला त ? शून्य ? अर्थात् फिक्सन ? आत्मवार्ता त झन् फिक्सन नै हुन् । जस्तो, यिनै कुरा हामीले एक वर्ष पहिले वा पछि गरेको भए मेरो जवाफ (फिक्सन) अर्कै हुन सक्थ्यो ।    

तपाईंले नेपालमा पछिल्लो समय निस्केका एक-दुइटा आत्मचरित पुस्तकलाई लिएर ‘कडा’ ट्‍वीट गर्नुभएको थियो । अनि यो वार्ताकारसँगको अर्काे एक सोधाइमा बीपी, जगदीश घिमिरे, झमक घिमिरेहरूका आत्मकथाहरू मन पराएको भन्‍नुभएको थियो । के कारणले आत्मकथा पढ्नलायक वा नालायक हुन्छन् ? 

आत्मकथाको प्रमुख समस्या के हो भने लेख्‍नेले सारा ब्रह्माण्ड थामिनुमै आफ्नो भूमिका रहेको भन्‍ने जस्तो गर्छन् । आफ्नाबारे कुरा गर्दा आत्मप्रशंसा अति भइहाल्छ । मैले नै यहाँ आफ्नो बाल्यकालबारे भन्दा के-के न भयंकर थियो मेरो बाल्यकाल जस्तो भइसक्यो । म सचेत हुन खोज्दा खोज्दै पनि । हरेकका कथा हुन्छन्, ती सबै आफ्ना लागि महत्वपूर्ण लाग्छ, लाग्‍न पाइन्छ । तर आफ्ना नालायकीबारे पनि बोल्ने साहस गरेका कृति पढ्दा ती अलि बढी अथेन्टिक हुन् कि जस्तो लाग्छ । जस्तो : बीपीका । आफूले अति मन पराएको व्यक्तिको आत्मकथा– त्यो त रमाइलो लाग्‍ने नै भयो । मैले सार्त्रको आत्मकथा पढ्दा उनका जे कुरा पनि मन पर्थे ।

संस्मरण, आत्मकथा वा आत्मवार्तालाई ननफिक्सन हैन, फिक्सनमै राखे हुन्छ ।

कथा भन्‍ने शैली विशेष हुनुपर्‍यो कि कथा विशेष हुनुपर्यो । कुनै पदीय ओहोदामा पुगेको व्यक्तिका आत्मप्रशंसा, मैले गर्दा नै आज घाम लागेको हो भन्‍ने खालका, नेपालका अधिकतम आत्मकथा त्यस्तै छन् जस्तो लाग्छ । लेख्‍नु स्वयंमा ठूलो कुरा होइन । पढ्नु त झन् होइन । के लेखिन्छ, के पढिन्छ भन्‍ने हो । तर सबैको आफ्नो स्वतन्त्रता उपभोग गर्ने कुरा हो- ठीकै छ । मैले आफ्नो कुरा मात्र भनेको ।    

तपाईं साहित्यको विद्यार्थी, किन लेखनमा साहित्यगिरी वा साहित्य समीक्षागिरीमा नलागी नेतागिरी मतलब राजनीतिक टिप्पणीतिर लाग्‍नुभयो ? अमरत्व मिल्नेतिर नलागी किन बासी भइजाने टिप्पणीतिर आनन्द वा आदत बस्यो ? 

पहिले पहिले साहित्यिक समीक्षा पनि लेखियो । पछि सांस्कृतिक खालका विषयमा लेख्‍न थालेँ । तर मेरो इन्स्टिन्क्ट चाहिँ पोलिटिकल छ । पढ्न मलाई अहिले पनि साहित्य र दर्शन नै रमाइलो लाग्छ । तर जीवन त राजनीतिक पनि छ । तर मेरो रुचि राजनीतिलाई मनोवैज्ञानिक र सांस्कृतिक रूपमा हेर्नेमा छ । दीर्घकालीन ट्रेन्ड हेर्नमा । जस्तो : अहिले ओलीले जे गरेर भए पनि सत्ता छोड्न चाहँदैनन् भन्‍ने त त्यसै देखिन्छ ।

तर मान्छेको जातले किन शक्ति छोड्न चाहँदैन, आखिर उसले जीवनमा के खोजेको हुन्छ भन्‍ने हेर्न बढी रमाइलो लाग्छ । अमरत्वतिर त धेरै चासो भएन (किनकि त्यो जीवन छँदा प्राप्त हुँदैन, पछि आवश्यक नै नहोला) । तर आख्यानको योजना नै नभएको होइन, पूरा गर्न नसकेको मात्र हो । भन्‍नैपर्ने, लेख्‍नैपर्ने कति कुरा यस्ता हुन्छन् जसको अभिव्यक्ति आख्यानमा मात्र हुन सक्छ ।  

राजनीतिक (दलीय) प्रश्‍न धेरै गर्ने मुड छैन । तपाईंका सयौँ लेख अनि दर्जनौँ वार्ता सुनि-हेरिएकै छ । एउटा घिसिपिटी प्रश्‍न सोध्छु, तपाईंले लेख्‍ने राजनीतिक टिप्पणी र हाम्रो राजनीति नदीका दुई किनारा हुन् वा तपाईंहरूबीच भेट पनि हुन्छ ? 

दुई किनारा नै भने पनि हुन्छ । कहिलेकाहीँ कुनै ‘उच्च’ नेताहरूले लौ न, बस्‍नुपर्‍यो, कुरा सुन्‍नुपर्‍यो तपाईंका भन्छन् । तर मलाई थाहा छ, त्यो एउटा पीआर (पब्लिक रिलेसन) का लागि हो । मलाई थाहा नभएको कुरा अर्कोलाई थाहा होला भनेर नसोच्ने केपी ओली मात्र एक्ला छैनन्, नेपालमा ।    

यो भयो, त्यो भयो, देश बर्बाद भयो, नेताहरू खत्तमै भए, यस्ता टिप्पणी त सामाजिक सञ्जाल, लकडाउन नहुँदा सार्वजनिक बसयात्रा, चियापसल जताततै सुन्छु म । हाम्रा धेरैजसो विद्वान् र शास्त्रीहरूका टिप्पणी पनि किन आम मान्छेकै जस्तो ? त्यो किन भइरहेछ भनेर जरामा छिर्ने, कार्य-कारण हेर्ने किन धेरै भेटिँदैन ? 

मलाई के लाग्छ भने, आम रूपमा पाठकले के खोज्छन् भन्‍ने मात्र लेख्‍न जरुरी छैन । पाठकको रुचिलाई लेखकले सेप गरिदिन पनि सक्छन् । सबैभन्दा सजिलो दैनिक राजनीतिक घटनाक्रममा ‘लेख’ लेख्‍नु हुन्छ । जस्तो : नेपालका नेता सबै काम नलाग्‍ने छन्, देश यिनै नेताले बिगारेका हुन् । यस्ता कुरा लेख्‍न मसी खर्च नगरे हुन्थ्यो । एउटा थिम त हुनुपर्यो नि एउटा लेखमा । आफैँले आफ्नो लेख पढेपछि आफैँलाई यति सोध्ने नैतिक साहस हुनुपर्यो कि- मैले यो लेखमा अरुले नभनेको के कुरा भनेँ ? अथवा, मैले यो लेख किन लेखेँ ?

इन्द्रबहादुर राईले मार्क्सवादले साहित्यको अपहरण गर्‍यो भनेर लेखेजस्तो यहाँ ‘विचार’को अपहरण  कोबाट, कसरी, किन भइरहेछ ? 

पुँजीवादले मान्छेलाई क्रमशः बोधो बनाउँछ । पेसातिर लाग्यो, वृत्ति विकासबारे सोच्यो । यता उता जोडजाम गर्दागर्दै कतिपयको सिर्जनशीलता त्यसै सकिन्छ । धेरै नयाँ विचार विश्वविद्यालयतिरबाट आउनुपर्ने हो । तर न त विश्वविद्यालयको तलबले मन लागेको पढेर-सोचेर बस्‍न सहयोग गर्छ, न त्यहाँ कुनै गतिलो अनुसन्धान गर्ने स्रोत नै मिल्छ । मैले आफूले छोडेको भएर त्यो कुरालाई मनोवैज्ञानिक रूपमा डिफेन्स गर्न यो भनेको छैन ।

 मलाई थाहा नभएको कुरा अर्कोलाई थाहा होला भनेर नसोच्‍ने केपी ओली मात्र एक्ला छैनन्, नेपालमा ।  

तर मेरो आफ्नै यथार्थ के भने– मैले कीर्तिपुरमा पढाउँदाको समयमा भन्दा अहिले धेरै किताब पढ्न भ्याउँछु, आफ्नो रुचिअनुसारका । त्यहाँ पढाउनु भनेको ‘भौतिक’ काम जस्तो भइसकेको थियो- दौडादौड । वर्षमा ३०-४० जनाको थेसिस सुपरभाइज गर्नुपर्ने, अन्त कतै काम गर्न नगए काठमाण्डूमा बस्‍नै गाह्रो हुने ।

चार सय-पाँच सय उत्तरपुस्तिका चेक गर्नुपर्ने परीक्षाका । विश्वविद्यालय किन छोड्नुपर्यो भन्दा लेखपढ गर्ने समय नपाएर भन्‍नुपर्ने जस्तो । तसर्थ, विचार पुँजीवादबाट अहृरित छ भन्दा सजिलो होला । एउटा अर्को पनि कुरा–जोसँग भन्‍ने कुरा धेरै छ, तिनलाई भन्‍ने उत्साह छैन । जोसँग भन्‍ने कुरा सकिएको छ, तिनैसँग बोली राख्‍ने जाँगर र फुर्सद दुवै छ । जो आफैँ लेख्‍न तयार छैनन्, उनीहरूकहाँ गएर अनुरोध गर्ने चलन पनि धेरै छैन । 

तपाईं अखबारी लघुलेख लेख्‍नुअघि, लेखिरहँदा, स्वसम्पादन गर्दा के कस्तो मानस-पाइन लगाउनुहुन्छ ? 

मेरो एउटा छोटो तर सुन्दर इतिहास ओझेलमा परेको छ है । मैले सन् १९९५–१९९६ मा लगभग एक वर्ष (त्यसको सुरुदेखि अन्त्य सम्म) अंग्रेजी दैनिक ‘एभरेस्ट हेराल्ड’मा काम गरेँ । मास्टर्स दोस्रो वर्ष सकेर थेसिस लेख्‍ने समय थियो, त्यो । त्यतिखेर एउटा ‘भोइसिज’ भन्‍ने स्तम्भ थियो, हामी इनहाउस पत्रकारका लागि । पहिला लेख्‍न सुरु गरेको त्यहीँबाट हो, मैले । दैनिक पत्रिका कसरी निकालिन्छन्, लेख कसरी छनोट गरिन्छन् भन्‍ने जस्ता कुरा प्रत्यक्ष अनुभव पनि गरियो । सबैभन्दा ठूलो, त्यहीँबाट धेरै सुन्दर मित्रता सुरु भए, जुन अमर छन् ।

पछि फाटफुट ‘दि काठमाण्डु पोस्ट’मा लेख्‍न थालेँ । तर विषय छरपस्ट हुन्थे– साहित्य, संस्कृति, राजनीति जे पनि । सन् २००४ तिर स्तम्भ नै सुरु गरेँ, ‘दी काठमाण्डू पोस्ट'मा– अभाँ गार्ड नामको । तीन वर्ष जति लेखेँ हुँला नियमित । पछि ‘रिपब्लिका’ दैनिक सुरु भएपछि फेरि स्तम्भ नै सुरु गरेँ त्यही नामको, दुई वर्ष जति । तर सुरुमा लाग्थ्यो कि आफूले एउटा ‘खतरा’ लेख लेखेपछि अब देशै बदलिन्छ । आफू त निकै ठूलो मान्छे भइयो– आदि । पछि ‘यो अंग्रेजीमा लेखेर मैले कसका लागि लेख्दै छु’ भन्‍ने लाग्यो । 

यो ‘पब्लिक इन्टेलेक्चुअल’ शब्दावलीले ऊ सत्ताको भाट छ तर बौद्धिक छ भने तिनलाई गन्दैन ।

त्यहीबीचमा एउटा विषयमा निकै झोँक चल्यो । त्यो युनिभर्सल पिस फाउन्डेसन भन्‍ने संस्था छ नि, हाम्रा प्रधानमन्त्री सोल्टी होटलमै गएर बसेरै उसको आतिथ्य गरेको दुई वर्ष पहिले । तर त्यसका हर्ताकर्ता माधवकुमार नेपाल थिए । ‘कान्तिपुर’मा २०६६ देखि लेख सुरु गर्नुमा त्यो संस्था कारणमा छ । माधव नेपाल प्रधानमन्त्री थिए । रामवरण यादव राष्ट्रपति । त्यो पिस फाउन्डेसनवाला ले काठमाण्डूमा ‘ठूलो’ सम्मेलन गर्‍यो । राष्ट्रपतिलाई रंगशालामा लग्यो । ह्यात होटलमा दुई दिनको सम्मलेनका प्रमुख अतिथि माधव नेपाल थिए । राष्ट्रपति, प्रधानमन्त्री नै सहभागी भएपछि त्यहाँ नेपालका गन्यमान्य को थिएनन् भने जस्तो ! संयोगवश, माधव नेपाल बोल्ने उद्घाटन सत्र लगत्तैको प्रथम वक्ता म थिएँ । त्यो कसरी भने- म नेपालको द्वन्द्व र शान्ति प्रक्रियामा राजनीतिक दलहरूसँग काम गरिराखेको थिएँ, सन् २००५ बाट नै । 

त्यो पिस फेडरेसनसँग आबद्ध कुनै अमेरिकी प्राध्यापकले अनुरोध गरे मलाई, त्यहाँ भाग लिन । राष्ट्रपतिदेखि प्रधानमन्त्री सबै संलग्न कार्यक्रममा नेपालको शान्ति प्रक्रियाबारे बोल्ने कुरा त रमाइलो नै हुन्छ भनेर सहमत भएँ म । तर उद्घाटन सत्रमै थाह पाइहालेँ, यी आयोजक कुन खालका रहेछन् (शुध्द आफ्नो धर्म प्रचारवाला) । र, मैले आफ्नो प्रस्तुतिको सुरुमै, सबैका अगाडि भनेँ– धर्मले शान्ति ल्याउँछ भन्‍ने कुरा मलाई थाह छैन । धर्मले धेरै द्वन्द्व सिर्जना गरेको देखिएको छ बरु । र, नेपालको माओवादी द्वन्द्व राजनीतिक हो, धार्मिक होइन । तपाईंहरूको यो एकल ईश्वरवाला कार्यक्रम भन्‍ने थाहा भएको भए सायद म आउने थिइनँ । तर आइहालेँ, द्वन्द्व समाधान कसरी हुन सक्छ भनेर मेरा राजनीतिक कुरा सुन्‍नुस् । (अहिलेभन्दा बढी झोँकी थिएँ म, त्यति बेला !)  

भन्‍न त त्यति भनेर फर्कें तर नेपालका धेरै गन्यमान्य त दिनभरि त्यतै छन् । उनीहरू त पूरै प्रतिबद्ध सहभागी, त्यसैमार्फत देश-विदेश डुल्ने । अघिल्लो दिन राष्ट्रपति स्वयं रंगशाला गएका थिए, स्कुलका साना नानीहरूलाई लाइन लगाएर स्वागतका लागि । देशका प्रमुख कार्यकारी माधव नेपाल आफैँ खटिएका छन् । अनि मलाई लाग्यो- नेपालको समस्या राजनीतिक मात्र होइन । हाम्रो समस्या यहाँका मान्छेको इन्टेलिजेन्सको पनि हो । यिनीहरू साधारण कुरा बुझ्न पनि नसक्ने खालका छन् । त्यो संस्था कस्तो खालको हो भनेर बुझ्‍न एक घन्टा पनि लाग्नुपर्ने थिएन । (तर यिनीहरूले अहिलेसम्म बुझेका छैनन ।) 

राष्ट्रपति भण्डारीलाई सेक्सपिअरका वियोगान्त पढ्न सुझाउँछु । ओलीले चाहिँ थप त्यो स्यप्लोस्कीको ‘बिहेभ’ पनि पढे हुने ।

यो कुरा त नेपालीमै लेख्‍नुपर्यो भनेर ‘समस्या राजनीतिक होइन’ भन्‍ने मेरो पहिलो स्तम्भ ‘कान्तिपुर’मा लेखेँ । ‘समस्या राजनीतिक होइन’ भन्‍ने लेख नै मेरो राजनीतिक लेख हो । लेख लेखेँ र केही नभनी सम्पादक सुधीरजी (शर्मा) लाई इमेल गरेँ । त्यति बेला नियमित लेख्‍ने कुनै योजना थिएन । ‘कान्तिपुर’मा लेखेपछिको प्रभाव त गजब लाग्यो, त्यो पनि नेपालीमा । अनि दुई साता जतिमा दोस्रो लेखेँ, ‘बहुलवादको राजनीतिक विनिर्माण’ भनेर । त्यो बेला संविधानमा बहुलवाद राख्‍ने कि नराख्‍ने भन्‍ने बहस थियो संविधानसभामा । त्यो दोस्रो लेख छापिएको दिनमै हरि फुँयाल (अहिले सर्वोच्चका न्यायाधीश) ले कान्तिपुर टेलिभिजनमा बहसका लागि बोलाउनुभयो, बहुलवाद भनेको के हो भनेर । उहाँले त्यहाँ चलाउने कार्यक्रममा बेदुराम भुसाल, सीपी गजुरेल अनि म थियौँ । त्यसपछि त म रन्किने क्रम बढ्यो, जो अझै जारी छ ।

लेख्‍ने प्रक्रियाबारे भन्‍नुपर्दा– म त लेख पहिला मनमा लेख्छु । थिम, तर्क-वितर्क सबै एक-दुई राउन्ड मनमै लेखिन्छ । त्यो प्रक्रिया कहिले निकै छोटो हुन्छ (झोँक चलेको विषयमा) । कहिले एक-दुई दिन लाग्छ । त्यसैले, लेख्‍न बसेपछि मलाई धेरै समय लाग्दैन । धेरै मिलाउन लाग्यो भने झन् बिग्रिन्छ जस्तो लाग्छ । 

लेख छापिइसकेपछिका समीक्षाले तपाईंलाई प्रभावित-निर्देशित गर्छ कि गर्दैन ? 

असहमतिका प्रतिक्रियाले खासै फरक पर्दैन । तर हाम्रोमा प्रतिक्रिया त बढी व्यक्तिगत गाली गरेर आउँछन् । तर कहिलेकाहीँ आफ्ना लेखमा अरूका ‘रिजोइन्डर’ आउँदा रमाइलो लाग्छ । सिंगल लेखमा सबैभन्दा धेरै प्रतिक्रिया आएको र मान्छे ‘उत्तेजित’ भएको एउटा याद छ : ‘मार्क्सवाद, माओवाद र नेपाली राष्ट्रवाद’ शीर्षकको लेख । तर्क के थियो भने त्यस्ता पार्टी, जसको नाममै विदेशी छन्, त्यस्ताले किन नेपाली राष्ट्रवादको कुरा गर्नु ? अर्को लेख चाहिँ एमाले र माओवादीको एकता हुने भएपछि ‘नेपाली वामपन्थी सपनाको वियोगान्त’ भन्‍ने थियो । रोचक के छ भने– ती दुवै लेख दुई घण्टा जतिमै लेखिएका हुन् । म धेरै सम्पादन गर्दिनँ, त्यसो गर्दा लेख बोधो हुन्छ भन्‍ने लाग्छ । 

तपाईं लेख्दा वा बोल्दा बडो मीठो देखिनुुहुन्छ । जता पनि शिष्ट र विनम्र हुँदै प्रस्तुत भएको देखिन्छ, केपी कम्पनीबाट केही सिक्नुपर्दैन ? (एक टीभी वार्तामा विश्वविद्यालयका पदाधिकारी र तपाईं सँगै हुनुहुन्थ्यो, डिफेन्स गने तिनीहरू 'रफ' भइसकेका थिए, प्रश्‍न गर्ने तपाईं चाहिँ बडा हाँसीहाँसी, कुल भएर प्रस्तुत हुनुभ'को छ ।)

हाहा...नसकिने । त्यो बहस कार्यक्रममा म चाहिँ सरकारको आलोचना गर्ने, त्रिविलाई शिक्षा मन्त्रालयको विभागजस्तो बनाउन खोजियो भनेर । उपकुलपति तीर्थ खनियाँ उल्टो सरकारको बचाउ गर्ने । त्यति बेला अचम्म लागेको थियो तर पछि थाह भयो, खनियाँ ओलीलाई रिझाएर फेरि नियुक्ति खान खोजेका रहेछन् । त्यसैले त्रिविको उपकुलपति भएर त्रिविविरुद्ध बोलेका रहेछन्, सरकारी भएर । 

रिस त उठिराखेको हुन्छ नि, तर बोल्दा मुस्काउने बानी छ, के गर्नु !  

फेरि राजनीतितिरै । हामीकहाँ पछिल्लो सात दशकमै ‘प्रजातन्त्र’ पनि झन्‍नै आधा दर्जन पटक आइसक्यो । कांग्रेसले केही गर्ला कि, राजाले पो गर्लान् कि, एमालेले पो गर्ला कि, माओवादीले पो गर्ला कि वा व्यक्तिगत रूपमा बाबुराम भट्टराई वा केपी शर्मा ओली वा प्रचण्ड आउँदा आशावाद पनि चर्कै थियो । तर, ‘नेपाल बनेन’ । शीघ्र स्खलनको समस्याले सतायो भनेर डा. राजेन्द्र भद्रालाई सबैभन्दा धेरै प्रश्‍न आउँथ्यो रे, शासनमा चढ्न पाएको छैन, यहाँ जो पनि शीघ्र स्खलित भइहाल्ने कारण के होला ?

शीघ्र स्खलनको गति झनै तीव्र छ । उदाहरणका लागि, केही राम्रै भनिएका माधव नेपाल समूहका नेता हेरौँ । ओली पूरै प्रतिगामी भए, संविधान मास्न खोजे पनि भन्छन् । तर ७५ जेठ २ अघि पार्टी फर्कियो भने उनीहरू ओलीका सबै कदम स्वीकार्न तयार छन् । किनकि आफ्नो आदर्शमा रहने भन्दा पनि उनीहरूलाई आफ्नो करिअरको चिन्ता छ । यस्तो किन भयो होला भने नेपालमा आदर्शका मानक स्थापित नै हुन पाएनन् । सादगीको जीवनले कमाउने सम्मानको चेत नै भएन । भारतमा गान्धीकालीन र समाजवादीहरूको आदर्श जीवनले धेरै जग दियो । नेपालमा केही उदाहरण त थिए तर ती अति कम भए । हाम्रो समाजले आमरूपमा शक्तिलाई अति मान्छ । आफ्ना परिवारका, नजिकका भ्रष्ट सदस्यलाई छोराछोरी, ईष्टमित्र कसैले प्रश्‍न गर्दैन । 

हाम्रो सोच र व्यवहारको शीघ्र स्खलनको ओखती के त अब ?

यसका लागि एक अर्को युग र क्रान्ति नै चाहिने जस्तो छ । हाम्रा राजनीतिक नेतृत्व भ्रष्ट मात्र नभए र काम गर्न सक्नेलाई जिम्मेवारी दिए यिनको अरु क्षमता नभए पनि केही राम्रो हुँदै गर्थ्यो । तर आर्थिक रूपमा भ्रष्ट र नैतिक रूपमा पतित भएको कारणले अहिलेको पोलिटिकल क्लास नै समग्रमा असफल भएको छ । यसमा ठूलो कुनै सामाजिक अभियानको हस्तक्षेप नभई अहिलेकाबाट मलाई केही आशा छैन ।

तपाईं सभ्यताको विश्‍व इतिहासबारे रुचि राख्‍नुहुन्छ । सभ्यता के हो अनि समयसापेक्ष सभ्यतासापेक्ष हाम्रो जीवन कसरी कसरी गुज्रियो ? कहाँ थियौँ, छौँ र रहौँला ? 

हामी कहाँ थियौँ भन्‍ने त अहिलेसम्म थाहा छैन । अहिलेको हाम्रो जात कसरी हुर्कंदै अहिलेको रूपसम्म आइपुगेको हो भन्‍नेबारे त धेरै नै लेखिएको छ । यो विषय त बृहत् भयो । म छोटकरीमा एक-दुइटा कुरा भन्छु :

अरु जीव जस्तै बाँच्‍न जेजे गर्नुपर्छ, त्यो गर्दागर्दै अहिलेको रूपमा आइपुगेका हौँ हामी । जीवनको उद्देश्य बाँच्‍ने मात्रै हो । त्यो भन्दा अरु छ भने पनि त्यो मानिसलाई थाहा छैन । बाँच्‍नैपर्ने भएपछि विभिन्‍न आदर्श कारण बनाइएको हो । मान्छेको चेतनाले बुझेसम्म जीवन आफैँमा निरपेक्ष छ । अब यो ब्रह्माण्ड, पृथ्वी, हामी सबै बन्‍नुका पछाडि कुनै कारण छ कि छैन, त्यो मान्छेलाई थाहा छैन । हुन सक्छ, तर थाहा छैन । यी देश, समाज, नाता सम्बन्ध जस्ता संस्था त धेरै पछि बनेका हुन् र यिनले आफ्ना स्वरूप फेर्दै रहन्छन् । 

 मान्छे रहेर वा नरहेर ब्रह्माण्डको डिजाइनलाई कुनै फरक पर्छ जस्तो लाग्दैन ।

धेरै मान्छेले मानव जातिलाई ‘सर्वश्रेष्ठ’ प्राणी ठान्छन्, जुन हाँस्यास्पद हो । के मापदण्डमा हामी सर्वश्रेष्ठ ? अरु कुनै एउटा प्राणीले त मानिदिनुपर्यो नि– हो, तिमीहरू हामीभन्दा श्रेष्ठ छौँ भनेर । मान्छे रहेर वा नरहेर ब्रह्माण्डको डिजाइनलाई कुनै फरक पर्छ जस्तो लाग्दैन । त्यसैले मेरो सभ्यता ठूलो, मेरो ज्ञान ठूलो, मेरो परम्परा ठूलो, मेरो राष्ट्र महान् भन्‍नु सबै हाँस्यास्पद कुरा हुन् । मूल कुरा– मान्छेको जातको ‘कोग्निटिभ क्षमता’ नै अति सीमित छ, ब्रह्माण्डको विशालता वा अनन्तताका अगाडि । मान्छे पृथ्वीमा हुनुपर्नाको कारण त त्यति हो, जति एउटा फूल वा रुख यहाँ हुनुको कारण छ वा छैन । हो, हामी घोत्लिन त जति पनि पाउँछौँ– कुरा के होला भनेर, पछि के होला भनेर । त्यत्ति हो ।      

मान्छे वा समूह वा राज्य कोही असभ्य हुन्छ कि बनाइन्छ ? 

बनाइन्छ । जसले अरुको परिभाषा गर्ने शक्ति बोकेका हुन्छन्, तिनले बनाउने हुन्, ‘असभ्य’ । 

तपाईंको रुचिको विषय बौद्धिकता पनि हो । हामीकहाँ यसबारे बुद्धिविलासको तहमा बाहेक खास विमर्श भएको छैन भन्‍न सकिन्छ । के बौद्धिकता समाजको आम तहमा छलफल हुनुपर्ने विषय हो ? 

हो जस्तो लाग्छ । राष्ट्रवादीहरूलाई यो कुरा मन पर्दैन तर नेपालको बौद्धिक परम्परा अति कमजोर छ । ‘भारत वर्ष’को सभ्यता र बौद्धिक परम्परा त छ । उपनिषद्हरू संसारका अति प्राचीनमध्येका ग्रन्थ हुन्, अरु पनि छन् । तर नेपालको आफ्नो हेरौँ त, विगतका केही शताब्दीको । खासै धेरै केही छैन । पन्ध्रौँ शताब्दीदेखि बीसौँसम्म खास धेरै केही भएन । तर भारत नजिक र खुला आउजाउ भएकाले राम्रो भयो । अघिल्लो पुस्ताका विद्वान् त सबै उतै पढेका नै हुन् । तर यो शताब्दीमा भएका प्रगति त राम्रै लाग्छन्, खासै केही नभएको स्थितिसँग तुलना गर्दा ।   

हामीकहाँ प्रज्ञा-प्रतिष्ठानहरू, विश्वविद्यालयहरू, पार्टीका बुद्धिवीजी-प्राध्यापक-लेखक संगठनहरू, मार्टिन चौतारीजस्ता लेखपढको काम गर्ने केही संस्थाहरू अनेक छन्, तर देशमा बौद्धिक भएनन् भनिन्छ, यस्तो किन भनिन्छ ? पब्लिक इन्टेलेक्चुअल को हो अथवा को होइन ?

पब्लिक इन्टेलेक्चुअल भनेका नोम चोम्स्की, अरुन्धती रोयहरू हुन् । आफ्नो प्रखर बौद्धिकताका कारण, उनीहरूलाई सत्ताले कत्ति मन नपराए पनि डिसमिस गर्न सक्दैन । उनीहरू आफ्नो विद्वतालाई विवेकसँग जोडेर सामाजिक न्यायका मुद्दामा जनतासँग जोडिन्छन् । त्यस हिसाबमा कोही व्यक्ति प्रकाण्ड विद्वान् होला, तर ऊ सामाजिक मुद्दामा बोल्दैन भने बोलीचालीमा उसलाई पब्लिक इन्टेलेक्चुअल भनिँदैन ।

धर्म प्रचारक संस्था पिस फेडरेसनमा राष्ट्रपति रामवरण यादव सहभागी र प्रधानमन्त्री माधव नेपाल हर्ताकर्ता भएको देखेपछि म राजनीतिक लेखनमा आएँ, नेपालीमा । धर्मले शान्ति ल्याउँछ भन्‍ने कुरा मलाई थाह छैन ।

त्यसैले, यो शब्दावलीले ऊ जति नै बौद्धिक भए पनि सत्ताको भाट छ भने उसलाई गन्दैन । तर यो अति राजनीतिक शब्दावली पनि हो । एकथरीका लागि जो पब्लिक इन्टेलेक्चुअल हुन्छ, अर्कोका लागि त्यो मूर्ख, विदेशीको दलाल पनि लाग्‍न सक्छ । नेपालमा त आफूलाई मन परेको विषयमा त्यही पक्षमा बोलिदिने व्यक्ति कसैका लागि विद्वान् हुन्छ, अरुको लागि दलाल । 

विदेशी दलालको कुुरा आइहाल्यो । सामाजिक मुद्दामा बोले मात्र बौद्धिक भनिने कुरा पनि आयो । तर हामीकहाँ सामाजिक सवाल सुन्यो कि एनजीओको अजेन्डा भनेर डिसमिस गर्ने प्रयास गरिन्छ । (सामाजिक मुद्दासँग तर्सिएका यिनले धन्‍न स्कुलको ‘सामाजिक विषय’लाई अराष्ट्रिय तत्‍व घोषणा गरेर, पढ्न बन्देज गरेका छैनन्) सामाजिक शोध-लेखन विलासिता हो, यो विदेशीको अजेन्डा हो, बिकाउ अजेन्डा हो, मिलेर बसेको समाज भड्याउने खेल हो, देश बिगार्‍यो यसले, यस्ता ह्यानत्यान माथिबाटै सुनिन्छ । सामाजिक शोधको साइड इफेक्ट हुन्छ, कति छ यहाँ ? 

नेपालमा सामाजिक विषयमा शोध हुनुपर्ने जति त भएकै छैन । अनि यो अनुसन्धान गर्ने कुरा विलासिता त हुँदै होइन । सामाजिक सोधको साइड इफेक्ट हुन सक्छ, तर बढी सकारात्मक नै हुन्छ । देश बिगार्‍यो भनेको त तिनले मात्रै हो, जो संरचनागत लाभांश पाइराखेको वर्ग छ । आफ्नो ‘सुन्दर, शान्त’ देशमा अरुले रजाइ गर्ने भए भनेर हो, छटपटाएको । तथ्यमा टेकेर तर्क गर्न नसक्नेले भन्‍ने हो, विदेशीको दलाल । 

तपाईं त्रिविमा पढे-पढाएको मान्छे । मानौँ, तपाईं त्रिविको सर्वाेच्च पदमा पुग्‍नुभयो, के-के गर्नुहुन्थ्यो होला ? यो हाइपोथेटिकल प्रश्‍न हो तर हाम्रो महामहिम राष्ट्रप्रमुखको नाम ‘विद्या’ भए पनि हाम्रा सबै तहका, सबै खाले विद्यालयमा नपाइने भनेकै सिर्फ ‘विद्या’ मात्र हो । 

त्रिवि कसरी सुधार्नुपर्छ भन्‍ने राम्रो ज्ञान र योजना भएका व्यक्ति नेपालमा धेरै छन् । तर समस्या के हो भने त्यस्ता व्यक्तिलाई जिम्मेवारी नै दिइँदैन । एउटा उदाहरण, केदारभक्त माथेमा भिसीलाई हटाएर एमालेवाला कमलकृष्ण जोशीलाई भीसी बनाइयो । बिग्रने यस्तै कदमबाट हो । राजनीति नसुधारी त्रिवि सुध्रने देखिँदैन । अब त हुँदाहुँदा केयू (काठमाडौँ विश्वविद्यालय) पनि बिगार्न लागिसकेकका छन् । 

२०७२ वैशाख १२ गते शनिबार म भातसात खाइवरी कान्तिपुर कोसेलीको पहिलो पेजमा छापिएको लेख पढ्दै थिएँ । लेख थियो, तपाईंकै । त्यो लेख आधी पढ्दापढ्दै भुइँचालो आएपछि त्यो पत्रिका पछि भेटिएन । अरुन्धती रोयबारे संस्मरणसहित लेख्‍नुभएको थियो । अघि भनिहाल्नुभयो– चम्स्की, अरुन्धतीहरू हुन् बौद्धिक भनेर । हामीलाई उताका चम्स्की, रोयहरू मन पर्ने अनि यता यस्तै खाले राज्य-अराजकताविरुद्ध लेख्‍ने दुई-चारजना अराजक लेखकहरूलाई चाहिँ हामीले देखी नसहने, किन होला ? ट्रम्प, मोदीको आलोचना गर्नेले ओली-दाहाल-देउवाहरूलाई महान् राजनेता भनिरहेको हुन्छ, के भन्‍नुहुन्छ ? 

त्यही त, कोसेलीमा त्यो लेख आएकै दिन भुइँचालो आयो । म सोच्दै थिएँ– अरुन्धतीबारे त्यत्रो चर्चा गरेको दिन नआएर त्यो भुइँचालो अर्को दिन आए पनि हुने ! हरि शर्मा दाइसँग त्यही लेखकै प्रसंगमा कुरा गर्दा खाना खान ढिलो भएको थियो । भुइँचालो आइहाल्यो र दिनभरजस्तो भोकै रहियो, भान्सामा जान डराएर । हाम्रा नेताहरूलाई राजनेता भन्‍ने व्यक्तिको पृष्ठभूमि हेर्दा मलाई धेरै अचम्म लाग्दैन । टुहुरा भएका पूर्वराजावादी, हिन्दूवादीदेखि दलाल पुँजीवादी छन्, त्यो कित्तामा । ओलीमा अभिभावक खोज्नेका दुःख धेरै छन् । बाँकी, केही भाट बुद्धिजीवी पालेका छन्, जसको काम नै उनको आलोचना गर्नेलाई खुइल्याउने हो । 

अब अलिकति फरक प्रसंगतिर अर्थात् तपाईंको अध्ययनतिर । हाम्रो साहित्य विश्वस्तरको छ/छैनको वादविवाद उहाँ खुबै चल्छ । विश्‍व भनेको कुन देश हो र ? विश्‍व साहित्य भनेको के हो ?

विश्‍व भनेको हामी सबै हो । हाम्रा केही कृति विश्वस्तरका छन् । अरुले नपढ्लान्- त्यो अर्कै कुरा हो । को राम्रो, को नराम्रो भन्‍ने त शक्तिशालीले परिभाषित गर्छन् नि, त्यति मात्र हो । परिभाषामाथि जसको नियन्त्रण छ, उसैलाई विश्वस्तरको भन्छन् । त्यति हो । 

हाम्रा साहित्यिक लेखकहरूको बलियो पक्ष के हो ?

लेखिरहनु । सबै कुराको बाबजुद । सिर्जनशीलता पनि राम्रै लाग्छ । तर थोरैको मात्र है, सबैको त कसरी हुनु ? मैले सबैको पढेको पनि छैन । 

अनि कमजोरी नि ?

कतिपय राम्रो शिल्प भएकाहरू अरु भाषाको ज्ञान नभएर धेरै एक्सपोजर नहुन सक्छ । नेपालीमा बाहिरका धेरै स्रोत उपलब्ध छैनन् । 

के नेपाली भाषाका वक्ता वा बोधकर्ता कम हुनु पनि नेपाली कला खुम्चिनुको मुख्य कारण हो र ? 

होइन होला । त्यस्तो धेरै खुम्चिएको पनि कसरी भन्‍ने र ? हाम्रो आम शैक्षिक स्तर, पुस्तक किन्न सक्ने क्षमता, देशको गरिबीको स्तर, विश्वसँग तुलना गर्दा– समकालीन रूपमा धेरै तल म देख्दिनँ । हो, बौद्धिक परम्पराको इतिहास कमजोर छ, जुन मैले अघि भनिसकेँ । 

तपाईंलाई मन परेका केही लेखक र पुस्तकको नाम लिइदिनुस् न । 

वास्तवमा मन परेका अति धेरै छन् । अंग्रेजी साहित्यको विद्यार्थी भएकाले त्यतातिरका मास्टरपिस त धेरै नै पढियो । तीमध्ये प्रायः अति मन पर्ने नै छन् । कविता, नाटक, उपन्यास धेरै छन् । सार्त्र, कामु, काफ्का, मार्क्‍वेज त प्रिय भइहाले । अरुन्धती रोय, सलमान रश्दी, ओले सोयंकालाई बिर्सन भएन । हारुकी मुराकामीको पनि स्वाद फरक छ । नेपालीको नाम लिएन भन्‍ने आउला– तर हाम्रा जति पनि क्यानन छन् नि मास्टर पिस, मैले जति पढेको छु, प्रायः मन परेकै छन् । ‘माधवी’, ‘शिरीषको फूल’, विश्वेश्वरका उपन्यास त सम्झँदै सिरिंग हुन्छ, रोमाञ्चकताले । धेरै छन् । ननफिक्सन पनि कति गजब छन्, जस्तो पछिल्लो समयमा पढेका ड्यानियल काहनेमनको ‘थिङ्किङ फास्ट एन्ड स्लो’, रोबर्ट स्यप्लोस्कीको ‘बिहेभ’ । युभल नोहा हरारीको ‘स्यापियन्स’ । कतिको नाम लिनु है !   

तपाईं हाम्रो राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेतात्रय शेरबहादुर देउवा, पुष्पकमल दाहाल अनि बाबुराम भट्टराईलाई कुन-कुन पुस्तक सिफारिस गर्नुहुन्छ ? 

निश्चित पुस्तकभन्दा पनि म राष्ट्रपतिलाई सेक्सपिअरका वियोगान्त पढ्न सुझाउँछु । र बाँकीलाई शेली र किट्सका जस्ता कविता । त्यसको अर्थ उहाँहरू आफैँ बुझ्नुहोला, पढ्नुभयो भने । ओलीले चाहिँ थप त्यो स्यप्लोस्कीको ‘बिहेभ’ पनि पढे हुने ।   

अब अन्त्यमा, ‘नीरस’ विषयमा सुनि-पढिरहेका पाठकले विष्णु सापकोटाको रसिलो पाटो पनि जान्न पाउनुपर्छ । तपाईंको कलेज लाइफमा पोखराको घुम्तीमा सधैँ देखिने तर परिचयसमेत नभएकी युवतीसँगको तपाईंको प्रेमदेखि प्रेमसम्म पनि सुनौँ न । ‘विष्णुपुराण’को हृदयका पानापानामा प्रेमसम्बन्धी के-कस्तो भावना, धारणा वा सिद्धान्त उल्लेख छ ?

यस्तो प्रश्‍न छ है भनेर रुचि (श्रीमती) लाई भनेको, उनले त अग्रिम आममाफी दिइन्, सबै कुरा खुलाउन । तर स्वाभाविक रुपमा यसका स्टेकहोल्डर अरु पनि हुने भइहाले, जसलाई सोध्‍ने दुःख कति गर्नु ! त्यसैले जवाफ सैध्दान्तिक मात्र हुने खतरा भो । खासमा प्रेम एक अवधारणा हो, जसलाई मान्छेले संस्थागत गरेको हो समयक्रममा । सभ्यताको क्रममा बनेको एउटा सुन्दर संस्था हो । जीवनमा जे छ, त्यसभन्दा बढी केही भइदिए हुन्थ्यो भन्‍ने लाग्छ धेरैलाई । प्रेमले त्यो मनोवैज्ञानिक पूर्णता दिन्छ । तर यो एउटा मान्छेको मनमा सधैँ एकै प्रकारले रहने तत्व होइन । र, एक खालको प्रेम मात्रले हामीलाई पुग्दैन । प्लेटोनिक लभ (भावनात्मक तहमा मात्र हुने) को आफ्नै रमाइलो छ ।

क्याम्ब्रिज विश्वविद्यालयको रमाइलो के हुन्थ्यो भने– संसारका नाम चलेका विद्वान् बाटो-चौबाटोमै भेटिने । स्टेफेन हकिङ, अमत्र्य सेन, सलमान रुश्दी, अरुन्धती रोयलाई त्यहीँ भेट्न पाइयो । नोबेल लरेटहरू त दर्जनौँ ।

कुनै सुन्दर व्यक्तिप्रति हुने यौनिक आकर्षणलाई प्रेमको आदर्श जलप लगाउन पाइने अर्को उपयोगिता पनि छ । किनभने कसैसँग केवल आकर्षण भयो भन्‍नुभन्दा ऊसँग प्रेम पर्यो भन्दा ‘सभ्य’ सुनिन्छ । कसैसँग प्रेममा पर्नु भनेको उसलाई सबै सुम्पनु हो भन्‍ने समर्पणभाव जुन छ, त्यो मलाई निकै रोचक लाग्छ । प्रेम गर्छु भन्‍नुको अर्थ उसको आत्मा समेतको स्वामित्व आफूकोमा आउनु हो भन्‍ने कुरा पनि रोचक छ ।

प्रेमका कारण व्यक्तिका नालायकी सबै लुक्छन् । इगोले प्रचुर मात्रामा खेल्न पाउँछ । तिमी नै मेरो संसार हौ भन्‍ने कोही निस्केपछि इगो त कति मक्ख पर्नु । कसैले भनिदिन्छ, तिम्रा लागि मर्न तयार छु । लडाइँ नगरी, तिघ्रा नबजारी, कविता लेखेरै पनि प्राप्त हुन सक्छ, यो । तर मौनता नै प्रेमको शक्तिशाली अभिव्यक्ति हो । त्यसैले म पनि यतिमै मौन रहनु नै धेरैको स्वास्थ्यका लागि लाभदायी हुन सक्छ ।


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x