वार्ता

विधि र प्रणालीको रक्षा गर्ने सवालमा कांग्रेसले आफ्नो अनुकुलता र प्रतिकूलता हेर्दैन

इकागज |
साउन ४, २०७८ सोमबार १९:२० बजे

नेपाली कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला र कृष्णप्रसाद भट्टराईको सङ्गतबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका ज्ञानेन्द्रबहादुर कार्की नेपाल विद्यार्थी संघका नेतृत्व गर्दै पार्टीको केन्द्रीय राजनीतिमा आएका हुन् । समन्वयकारी राजनीतिक छवि बनाएका कार्कीले नेपाली कांग्रेसमा विभिन्न भूमिकामा रहेर काम गरेका छन् । उनले जलस्रोत मन्त्रालय, अर्थ मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालयमा रहेर काम गरिसकेका छन् । २०७४ को आम निर्वाचन नेपाली कांग्रेसका लागि निकै विषम हुँदाहुँदै पनि कार्की सुनसरी–४ बाट विजयी भएका हुन् । कार्कीसँगको यो अन्तर्वार्ता सर्वोच्चको असार २८ को फैसला आउनु अघि नै रेकर्ड गरिएको हो । नेपाली कांग्रेसको आसन्न महाधिवेशन र गठबन्धन दलहरूसँगको सहकार्य लगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको प्रसङ्गभन्दा राष्ट्रिय राजनीति नयाँ कोर्सतर्फ प्रवेश गरेकाले यो अन्तर्वार्ता झण्डै एक सातापछि प्रकाशन गरिएको छ । सर्वोच्च अदालतको असार २८ को फैसलापछि पुनःस्थापित प्रतिनिधि सभामा संविधानको धारा ७६ (५) अन्तर्गतका प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते आइतबार विश्वासको मत पाएका छन् । देउवा नेतृत्वको सरकारका कानुनमन्त्री समेत रहेका कार्कीसँगको संवादः 

नेपाली कांग्रेसको १४औं महाधिवेशनको भदौको १६ देखि १९ गतेसम्मका लागि तय भैसकेको । महाधिवेशनको सबै तयारी पूरा भैसकेको हो ? 


यतिबेला हामी विषम परिस्थितिमा महाधिवेशन सम्पन्न गर्न गइरहेका छौं । सफलतापूर्वक महाधिवेशन सम्पन्न गरेर देशलाई दिशानिर्देश गर्नुपर्ने दायित्व नेपाली कांग्रेसको काँधमा छ । नेपाली कांग्रेसका हरेक महाधिवेशन ऐतिहासिक छन्, त्यसले मुलुकको राजनीतिक समस्या समाधानमा दीर्घकालीन प्रभाव छाडेका छन् । अहिले हामी विभिन्न चुनौतीहरूको बीचमा महाधिवेशन गर्दैछौं, देशमा स्वास्थ्य संकटको अवस्था छ र यसबाट नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई यो संकटबाट मुक्त गर्नुपर्नेछ । फेरि बाढीपहिरोका कारण यही समयमा ठूलो धनजनको क्षति भएको छ, उनीहरूलाई राहत सुनिश्चित गर्नुपर्नेछ । त्यस्तै, हामीले यति धेरै संघर्ष, त्याग र बलिदानबाट प्राप्त गरेका राजनीतिक उपलब्धिहरू संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्नेछ । राजनीतिक उपलब्धिसँगै सबै यसको प्रतिफल वास्तविक हकदार जनताका लागि कसरी परिणाम दिलाउन सकिन्छ, त्यसतर्फ केन्द्रित भएर महाधिवेशन सम्पन्न गर्नुपर्नेछ । महाधिवेशनकै दौरानमा अहिले नीति, कार्यक्रममा भौतिक रूपमा उपस्थित भएर धेरै छलफल गर्न सकिने अवस्था छैन तथापि हामी भर्चुअल माध्यमबाट सम्भव भएसम्म छलफल गर्नेछौं । १४औं महाधिवेशनबाट नेपाली कांग्रेसलाई सबैभन्दा लोकप्रिय र शक्तिशाली पार्टीको रूपमा स्थापित गराएर देशलाई समृद्धिको दिशातर्फ अग्रसर बनाउने एउटा कोशेढुङ्गाका रूपमा यो महाधिवेशन स्थापित हुनेछ । नेतृत्व र केही पदाधिकारी तथा कार्यसमिति चयन गर्नेमात्र यो महाधिवेशनको दायित्व होइन । हामीले धेरै ठूलो संघर्षबाट प्राप्त गरेका उपलब्धि रक्षा गर्दै जनतालाई राजनीतिक अधिकार उपभोग गर्न सक्ने गरी सशक्तीकरण गर्दै उनीहरूको जीवनस्तरमा सुधारको अनुभूति हुनसक्ने वातावरण निर्माणका लागि महाधिवेशनले जग निर्माण गर्नुपर्नेछ । 

महाधिवेशनमा विभिन्न आन्तरिक र बाह्य चुनौतीहरू कायमै छन् । आन्तरिक रूपमा क्रियाशील सदस्यता विवाद टुङ्ग्याउनै बाँकी छ ?

मेरो जानकारीमा रहेसम्म क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो काम लगभग सम्पन्न गर्ने चरणमा पुर्‍याइसकेको छ । क्रियाशील सदस्यताको टङ्गो नलागी त महाधिवेशन हुनै सक्दैन, यो आधारभूत विषय हो । 

प्रतिपक्ष निकै कमजोर भएका कारण सत्तारुढ दलले अराजकता देखाएको हो भन्ने टिप्पणीहरू पनि सुनिन्छ । के कांग्रेस साँच्चिकै कमजोर भएको हो ? 

यहाँले संसदमा नेपाली कांग्रेसको ‘स्ट्रेन्थ’ (ताकत) अनुसार भूमिका निर्वाह गरेको देख्नुभएकै होला । केही कमीकमजोरीहरू होलान् । त्यसलाई सुधार गर्नुपर्छ । तर जुन किसिमले कांग्रेस कमजोर भयो भनेर प्रचारप्रसार गरिएको छ, त्यो सत्य होइन । सरकारलाई ठीक बाटोमा हिंडाउनका निमित्त सरकारले मनपरी ढङ्गले ल्याएका विधेयक अनुमोदन हुन नदिन हामीले प्रभावकारी काम गरेका छौं । तर हाम्रो भूमिकालाई जनमानसमा जसरी प्रचार गर्नुपथ्र्यो, त्यो प्रचार गर्न सकेनौं होला । राष्ट्रिय राजनीतिमा र संसदमा हाम्रो भूमिका कहींकतै कमजोर भएको छैन । 

संसदमाथि पटक–पटक आक्रमण भएको छ । सांगठनिक पाटोका अतिरिक्त संविधान र लोकतन्त्रको रक्षा, लोकतन्त्र कसरी बलियो बनाउने भन्ने विषयमा कांग्रेसले महाधिवेशनमा छलफल गर्नुपर्ला नि !

लोकतन्त्र, विधि र प्रक्रियाप्रति सबै परिवर्तनकामी दलहरूमा प्रतिबद्धता चाहिन्छ । मुखले प्रतिबद्धता जनाए पनि कतिपयको नियतमा खोट देखियो । कांग्रेसले सधैं संविधान, लोकतन्त्र, स्वतन्त्र न्यायलय, प्रेस स्वतन्त्रताको पक्षमा उभिएको छ । हिजो संविधान कार्यान्वयन गर्ने सवालमा २०७४ सालमा हामी सरकारको नेतृत्वमा रहेर अवस्था प्रतिकूल छ भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचनमा गयौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन कांग्रेसका लागि प्रतिकूल छ भन्ने थाहा हुँदाहुँदै पनि संविधान कार्यान्वयन गर्ने सवालमा उहाँ दृढ भएर निर्वाचन गराउनुभयो । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन कांग्रेसका लागि प्रतिकूल छ भन्ने थाहा हुँदाहुँदै पनि संविधान कार्यान्वयन गर्ने सवालमा उहाँ दृढ भएर निर्वाचन गराउनुभयो

दुई ठूला कम्युनिष्ट पार्टी एक हुँदा मनोवैज्ञानिक रूपमा पनि हामी कमजोर भयौं होला । पछिल्लो तीन–साढे तीन वर्षयता हेर्नुस् न, त्यत्रो ऐतिहासिक अवसर पाएर पनि केपी शर्मा ओलीले सदुपयोग गरेनन् । शक्ति आर्जनको भोकले सत्तालाई दुरुपयोग गरे । सरकारको गलत व्यवहार र आचरण तथा कमजोर कार्यसम्पादनका कारण जनताको भरोसा नेपाली कांग्रेसप्रति बढेर गएको छ । नेपाली कांग्रेस कमजोर छैन । हाम्रा कार्यकर्तालाई आफ्नो जिम्मेवारी राम्रोसँग थाहा छ । लोकतन्त्रको माध्यमद्वारा कांग्रेस पार्टीको सामर्थ्य बढाएर देशलाई समृद्धिको बाटोमा अग्रसर गराउने कांग्रेसको दायित्व प्रत्येक कांग्रेसजनले बुझेका छन् ।

नेपाली कांग्रेसको राजनीतिमा यहाँको लामो योगदान छ । यसपटक पदाधिकारीका लागि यहाँले पनि पहल गर्दैहुनुहुन्छ ? 

मलाई साथीहरूले पदाधिकारीमा आउनुपर्छ भन्नुभएको छ । उहाँहरूको चाहना महामन्त्रीमा आउनुपर्‍यो भन्ने छ । त्यसका लागि मैंले आफूलाई तयार गरिराखेको छु । पार्टीमा मेरो लामो योगदान र विभिन्न भूमिकामा रहेर सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएकाले मेरो दाबी स्वभाविक दाबी हो भनेर आम कार्यकर्ता साथीहरूले भन्नुभएको छ । 

यहाँले चाहिँ महामन्त्रीमा दाबी गर्ने आधार के–के हुन् ?

मुलुकको लोकतान्त्रिक आन्दोलनमा विद्यार्थी राजनीतिदेखि आजपर्यन्त मैंले जेजति भूमिका निर्वाह गरेको छु, त्यो नै महामन्त्रीमा मेरो दाबीको प्रमुख आधार हो । पार्टीमा र सरकारमा विभिन्न जिम्मेवारीमा रहेर मैंले सफलतापूर्वक काम गरेको छु । सांगठनिक सुदृढीकरणमा मैंले काम गरेको छु ।

पार्टीभित्र पहिलो तहमा रहनुभएका नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पौडेल पछिका नेताहरू जो–जो हुनुहुन्छ, उहाँहरूभन्दा योगदान र अनुभवका हिसाबले म बराबरीमा छु ।

पार्टीभित्र पहिलो तहमा रहनुभएका नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पौडेल पछिका नेताहरू जो–जो हुनुहुन्छ, उहाँहरूभन्दा योगदान र अनुभवका हिसाबले म बराबरीमा छु । मैंले मुलुकलाई चिनेको छु, कार्यकर्ता साथीहरूको चाहना बुझेको छु । देशलाई समृद्धिको बाटोमा डोर्‍याउन साथै उन्नत लोकतन्त्र स्थापित गर्न नेपाली कांग्रेसको नेतृत्वमा बसेर मैंले काम गर्न सक्छु भन्ने मेरो दृढ आत्मविश्वास पनि छ । देशभरीका साथीहरूबाट साथ, समर्थन र हौसला पाएर म स्वभाविक आकांक्षीको रूपमा यसपटक मैदानमा आएको छु । 

नेतृत्वका आकांक्षीहरू पनि धेरैजना देखिन्छन् यसपटक ? आ–आफ्ना प्यानल पनि बनेका होलान् नि !

पार्टीमा यति लामो योगदान गरेका साथीहरू हुनुहुन्छ । ज–जसले आकांक्षा राख्नुभएको छ, त्यो स्वभाविक हो । उहाँहरूको दाबीलाई अन्यथा रूपमा लिनुपर्ने कारण छैन । तर आकांक्षीमध्ये मुलुकको विद्यमान राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ ढङ्गले कसले अघि बढाउनसक्छ, उसले नेतृत्व गर्ने हो । यसका लागि सभापति शेरबहादुर देउवा नै मुलुकले भरोसा गर्न लायक विश्वसनीय नेताका रूपमा स्थापित हुनुहुन्छ । उहाँको लामो राजनीतिक अनुभवको पार्टी र मुलुकले सदुपयोग गर्नुपर्छ । अब एक पटक शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसलाई सुदृढ बनाएर देशको ठूलो पार्टी बनाउने साथै मुलुकमा लोकतन्त्र संस्थागत गर्न संविधान कार्यान्वयनका लागि उहाँकै आवश्यकता छ । आवश्यकताको सिद्धान्त अनुसार पनि शेरबहादुर देउवाकै नेतृत्वमा जानुपर्छ । त्यसपछि पार्टी विधान अनुसार पनि उहाँले दुई कार्यकाल भएपछि नेतृत्व हस्तान्तरण गर्नुहुनेछ र अहिले कांग्रेसभित्र सबैलाई मिलाएर जानसक्ने ‘स्टाचर’ (कद) भएको नेता पनि उहाँ नै हो । 

महाधिवेशनमा नेतृत्वका लागि हुने चुनाव एउटा प्राविधिक कुरा हो, तर यही कारणले पार्टीभित्र गुट, उपगुट, विभाजन र खिचातानी भैरहन्छ । त्यसलाई मेट्न नेतृत्वको इच्छाशक्ति अभाव हो कि असन्तुष्टीको खेती नै हुन्छ तपाईंहरूको पार्टीमा ? 

नेतृत्वका लागि निर्वाचन भएपछि जित र हार स्वभाविक हो । यी प्राविधिक पक्ष हुन् । मानवसुलभ मनोविज्ञान भएपनि हामी प्रतिक्रियात्मक हुनुहुन्न । पार्टीभित्र सबैजना समायोजनकारी हुनुपर्छ र सौहार्दपूर्ण ढङ्गले अघि बढ्नुपर्छ । हाम्रो महाधिवेशन लगत्तै स्थानीय निर्वाचन हुनेवाला छ । डेढ वर्षपछि आम निर्वाचन र प्रदेशसभा निर्वाचन गर्नुपर्नेछ । पार्टीको वृहत्तर एकतालाई मध्यनजर गर्दै यदि सर्वसम्मत पदाधिकारी चयन हुनसक्यो भने सबैभन्दा उपयुक्त हुन सकेन भने पनि स्वस्थ प्रतिस्पर्धाको रूपमा अंगीकार गरेर अघि बढ्नु जरुरी छ । नेपाली कांग्रेसलाई सुदृढ, सशक्त, व्यवस्थित, सबैभन्दा ठूलो र लोकप्रिय पार्टी बनाउनु नै हामी सबैको दायित्व हो । महाधिवेशनबाट जो नेतृत्वमा आउँछ उसले सबैको भावनाको कदर गर्दै आफ्नो नेतृत्वमा एकतावद्ध गर्दै सबैलाई मिलाएर अघि बढाउनुपर्छ । 

अब कांग्रेभित्रै पनि वामपन्थी दलहरूसँग सहकार्य गर्ने/गठनबन्धन गर्ने विषयमा सभापतिले चट्टानी अडान राख्दै आउनुभएको थियो । एकाएक अब गठबन्धनमा आउनुभयो, यो सहकार्य कत्तिको सजिलो देख्नुहुन्छ ? यसले राष्ट्रिय राजनीतिमा कांग्रेसको ‘स्पेस’ खुम्च्याएको भनिन्छ नि !

यतिबेला संविधान र लोकतन्त्रको पक्षमा उभिने शक्तिहरूसँग कांग्रेसले सहकार्य गर्नुपर्ने आवश्यकता छ । मुलुकमा जब–जब प्रणाली र लोकतन्त्र संकटमा पर्छ, नेपाली कांग्रेस सतिसाल जस्तो भएर उभिएको छ । नेतृत्वदाष्यी शक्तिमा कांग्रेस नै छ । हिजो सात दलसँगको सहकार्यमा शान्ति प्रक्रिया र लोकतन्त्रको अगुवाइ नेपाली कांग्रेसले गरेको हो । 

हिजो शान्ति प्रक्रियामा माओवादीलाई ल्याउने कार्यको अगुवाइ नेपाली कांग्रेसले नै गरेको हो, लोकतन्त्र र जनताको समृद्धिलाई केन्द्रबिन्दूमा राखेर लोकतान्त्रिक शक्तिहरूसँगको हाम्रो सहकार्य जारी राख्नुपर्छ ।

नेपाली कांग्रेसले आफ्नो स्थापनादेखि नै राष्ट्रियता, सार्वभौमिकता तथा जनताका अधिकारहरू सुरक्षित गर्नका निमित्त नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । अहिले पनि नेपाली कांग्रेसले त्यही भूमिका निर्वाह गरेको हो । पाँच दलीय गठबन्धन अहिलेको परिस्थितिको उपज हो, यो यतिबेलाको आवश्यकता हो र हाम्रा उपलब्धि संस्थागत गर्न यो गठबन्धनसँग सहकार्य गरेर अघि बढ्नुपर्छ । 

यस्तो अन्तर्निमित अस्थिरता (इन्विल्ट इन्स्ट्याबिलिटी) भएका दलहसँगको सहकार्य चुनौतीपूर्ण छ जस्तो लाग्दैन ? 

हामी चुनौतीरहित छौं भन्ने होइन । तर लोकतन्त्रलाई बलियो बनाउन, संविधान रक्षा गर्ने वृहत्तर उद्देश्यले हामीले यो गठबन्धन निर्माण गरेका हौं । हिजो शान्ति प्रक्रियामा माओवादीलाई ल्याउने कार्यको अगुवाइ नेपाली कांग्रेसले नै गरेको हो, लोकतन्त्र र जनताको समृद्धिलाई केन्द्रबिन्दूमा राखेर लोकतान्त्रिक शक्तिहरूसँगको हाम्रो सहकार्य जारी राख्नुपर्छ । सत्याग्रह, ०४६ सालको आन्दोलन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने विषयमा हाम्रो पार्टीभित्र ठूलो बहस भएका छन् । हाम्रो पार्टी गतिशील र लोकतान्त्रिक पार्टी हो । हामीभित्र हुने छलफलले हामीलाई निर्णय लिन सहज बनाउँछ । तर निर्णय लिइसकेपछि हामी एक भएर उभिने हाम्रो पार्टीको संस्कार छ । अहिले पनि हामीले पार्टीमा छलफल गरेर गठबन्धनमा सहकार्य गर्ने निर्णय गरेका हौं र यसमा हामी एकमत छौं ।

विगतमा माओवादीसँग सत्ता सहकार्यमा कांग्रेसले धोका पाएको होइन त ? 

समयले गतिशीलताको माग गर्छ । हामी एउटै कुरामा अल्झेर बस्यौं भने अघि बढ्न सक्दैनौं । मुलुकलाई नेतृत्व दिनका निमित्त हामीले आफ्नो मूल्य, मान्यतामा सम्झौता नगरी त्यसमा आवद्ध हुन चाहाने सबैलाई लिएर अघि बढ्नुपर्छ । मुलुकलाई प्रगति र पद्धतिमा अघि बढाउनुपर्नेछ । दुई–दुई ओटा संविधानसभाबाट संविधान निर्माण गरेर हामी एउटा निर्क्यौलमा पुगेका छौं । यो संविधान अकाट्य छ, यसमा केही फेरबदल हुन सक्दैन भनेर हामीले भनेका छैनौं । तर अब हामी यो मूल्यमान्यता र संविधानबाहिर जाने सवाल नै छैन । संविधान गतिशील दस्तावेज हो, समयानुकुल संशोधन हुनसक्छ । अमेरिकामा भएको छ, भारतमा भएको छ । हामीकहाँ हुनसक्दैन भन्ने होइन । अहिले दक्षिणपन्थ, उग्रपन्थभन्दा पनि सबै एक भएर मुलुकको प्रगतिका लागि हामी राष्ट्रिय शक्तिहरू एक भएर अघि बढ्नुपर्छ । 
 


Author

थप समाचार
x