वार्ता

अन्तर्वार्ता

कांग्रेसमा म फलानोको राजकुमार हुँ भन्दैमा नेतृत्व हस्तान्तरण हुँदैन

इकागज |
साउन ८, २०७८ १३:१९ बजे

अमरेशकुमार सिंह सर्लाही-४ बाट निर्वाचित सांसद हुन्, तर उनले हालै पार्टीभित्र शुद्धीकरण र सुदृढीकरणको आवाज उठाउँदै त्यसको सुनिश्चितता गर्न आग्रह गर्दै पार्टी सभापति शेरबहादुर देउवासमक्ष सांसदको राजीनामा बुझाएका छन् । आफ्नो लडाइँ पार्टीभित्र भएकाले सीधैं सभामुखलाई भन्दा पार्टी सभापतिमार्फत् राजीनामा दिएको बताउँदै उनले पार्टीभित्र संघर्ष जारी राख्‍ने बताएका छन् । खासगरी प्रदेश-२ को क्रियाशील सदस्यता विवादका कारण अमरेशले पार्टीले त्यसलाई सम्बोधन गर्न माग गरेका छन्, उनले पार्टीलाई जीवन्त बनाउन विधि, पद्धतिमा चलाउने र पार्टीमा रहेर योगदान गर्नेहरूको कदर गर्नुपर्ने एजेण्डा १४औँ महाधिवेशनका क्रममा घनीभूत रूपमा उठाउने बताएका छन् । सिंहसँग इकागजको संवाद : 

पार्टीको महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यताको विवादलाई लिएर सांसदबाट राजीनामा दिनुभयो । विवाद पार्टीभित्र छ, संसद्‌ सदस्यबाट राजीनामा दिनुको कारण चाहिँ त्यति सङ्गतिपूर्ण भएन भन्‍ने टिप्पणी पनि भइरहेको छ नि ? 
हाम्रो पार्टी सैद्धान्तिक विचलनतिर अघि बढिरहेको छ । कुनै पनि राजनीतिक दल सैद्धान्तिक र निष्ठाबाट विचलित छ भने दलमा विकृतिको उपज हो । दलमा सुरु भएको विकृतिले देश आक्रान्त हुन्छ । मैले वीपी स्मृति दिवसको दिन नै पारेर सांसद पदबाट राजीनामा दिएको हुँ । मैले कुनै आवेगमा आएर राजीनामा दिएको पनि होइन । म केही महिनादेखि मानसिक अर्न्तद्वन्द्वमा थिएँ कि पार्टी किन सुदृढ हुन सकेन, किन युवालाई जोड्न सकेन, किन मधेशबाट कांग्रेस किन विस्थापित हुँदै गयो, यत्रो ऐतिहासिक विरासत बोकेको पार्टी जसले राणा, पञ्चायतका विरुद्ध संघर्ष गर्‍यो । माओवादीलाई शान्ति-प्रक्रियामा ल्यायो । विभिन्‍न कालखण्डमा मुलुकलाई स्थायित्व दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको, विभिन्‍न समयमा मुलुकलाई संविधान दिएको पृष्ठभूमि भएको दल किन एकाएक कमजोर भयो ? आज देशमा किन कम्युनिष्टहरू बढ्दै गए ? यी सबै पक्षमा चिन्तन-मनन गरिकन मैले शुद्धीकरण र सुदृढीकरणमा लाग्छु भनेर संसद्‌बाट बाहिरिने सोचेको हुँ । मेरो राजीनामाबारे पार्टीले छलफल गरोस् । म पढेलेखेको मान्छे, एउटा निष्ठा, इमान्दारिता र सिद्धान्त बोकेर पार्टीमा लागेको हुँ । हाम्रो पार्टीको सिद्धान्त हो- सुशासन कायम गर्ने, देशको विविधता (जनसांख्यिक र भौगोलिक)का आधारमा सबैलाई समेटर लैजाने हो । यो पार्टी त धोती, पटुका, बख्खु लगाउने सबैको पार्टी हो । 


ADVERTISEMENT

यहाँको लडाइँ त पार्टीभित्र हो भन्‍नुहुन्छ, तर त्यो संसद्‌मा प्रतिबिम्बित किन भयो त ? 
यहाँ त कस्तो भयो भने एकपटक पदमा पुगेपछि छोड्नै नचाहाने, नेतृत्व हस्तान्तरण नै नगर्ने । यो त वृद्धहरूको पार्टी जस्तो भयो, कांग्रेस बुढाखाडाको पार्टी भयो भनिरहेका छन् । सबैको टिप्पणी त्यही छ । पदमा रहनुमात्र ठूलो कुरा होइन नि ! पदमा रहेर के योगदान गर्‍यो भन्‍ने पो महत्वपूर्ण हुन्छ । अहिले २५ वर्ष मुनिका युवाहरूको कांग्रेसमा सहभागिता अत्यन्त न्यून छ । युवाको जनसंख्या मुलुकमा धेरै छ, हामी तिनलाई आकर्षित गर्न सकेका छैनौँ । मधेश कांग्रेसका लागि उर्बर भूमि थियो, त्यहीँबाट कांग्रेस विस्थापित भयो भनेपछि यो त नेतृत्व र नीतिमा कमजोरी छ । यसमा गम्भीर समीक्षा होस् भनेर पार्टी सभापतिकहाँ राजीनामा बुझाएको हुँ । 

नेतृत्वको कमजोरीभन्दा पनि मधेशवादी दलहरूको उदयका कारण कांग्रेस कमजोर भएको हो कि ? 
त्यही कुरा आउँछ फेरि पनि, ती दलहरूका लागि ‘स्पेस’ कसले खडा गरिदियो भन्‍नेबाट समीक्षा गरौं न । २०६२-६३ को जनआन्दोलनपछि कांग्रेसका दुईजना महत्वपूर्ण व्यक्ति रामवरण यादव एकजना राष्ट्रपति बन्‍नुभयो र पार्टीको भूमिकाबाट बाहिरिनुभयो भने महन्थ ठाकुर पार्टी छाडेर जानुभयो । त्यसपछि मधेशमा सिंगो जिम्मेवारी आदरणीय उपसभापति विमलेन्द्र निधिको काँधमा आयो । तर कस्तो भयो भने हामीले एउटा कथा पढ्थ्यौं, गाई चराउने मोटाउँदै जाने, गाई दुब्लाउँदै जाने । निधिज्यूको पद मोटाउँदै महामन्त्री, उपसभापति, अनि सरकारमा मन्त्रीबाट गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्री, उपप्रधानमन्त्री बन्‍नुभयो । तर मधेशबाट कांग्रेस विस्थापित हुँदै गयो । संगठनका हिसाबले त यो असफलताको जिम्मेवारी लिनुपर्दैन ? 

अब उपसभापति निधिले सभापति बनेर कांग्रेसलाई सुदृढ बनाउँछु भनिरहनुभएको छ, यस्तो महत्वपूर्ण समयमा यहाँहरूले फेरि विद्रोह गरिदिनुभयो ? 
निधि सभापति बन्‍नुभयो भने मधेशमा कांग्रेस बाँकी रहँदा पनि रहँदैन होला । त्यस्तो दुर्भाग्यको दिन नआओस् । मधेशको यो गम्भीर विषय हो, यसबारेमा कांग्रेसमा छलफल होस् । उहाँ आफू पिताको विरासतमा कांग्रेसको नेतृत्वमा पुग्छु भनिरहनुभएको छ । उहाँले कांग्रेसका लागि सिंगो जीवन लगाएका, जीवन उत्सर्ग गरेकाहरूसँग कस्तो व्यवहार गर्नुभएको छ  भन्‍ने म ५० औं उदाहरण दिनसक्छु । तेजबहादुर अमात्य कांग्रेसबाट सहिद भए, उनका छोरा राजेन्द्रबहादुर अमात्य जो निर्वाचित सांसद हुनुहुन्थ्यो, उपसभापति निधिले उहाँलाई टिकट दिनुभएन । कांग्रेसको महामन्त्रीपछि राष्ट्रपति हुनुभयो रामवरण यादवका छोरा चन्द्रमोहन यादव निर्वाचित सांसद उहाँलाई टिकट दिइएन । सर्लाहीमा रामजनम जस्तो सोझो मान्छे निर्वाचित सांसदको टिकट काटियो । रामजनम सोझो मान्छे, ऊसँग पैसा थिएन भनेर उसलाई टिकट नदिने ? निर्वाचित सांसद दिनेश पर्सैलाको टिकट काटियो । हो, सबैलाई टिकट दिन सकिँदैन, तर टिकट काट्दा त उहाँहरूलाई विश्वासमा लिएर गर्नुपर्‍यो । यसपालि तपाईंलाई यी कारणले दिन सकिएन, अन्यत्र यसरी समावेश गर्छु भनेर मञ्जुरीमा गर्नुपर्थ्यो । तर उपसभापति निधिले हुकुमी शैलीमा टिकट काटिदिनुभयो । गाउँ/नगरपालिका, प्रदेश तथा संघीय सांसदका लागि धेरै टिकट बिक्री भयो । टिकट किन्‍नेको नाम नभनौं, त्यो राजनीतिक संस्कारले दिँदैन । कांग्रेस बीपीले प्रतिपादन गरेको सिद्धान्त, निष्ठा, देशको आवश्यकता मानेर चल्ने पार्टीभन्दा गिट्टी/बालुवा, क्रसर व्यापारी, तस्करी तथा दलाली, मदिरा उत्पादक तथा विचौलियाको पार्टीजस्तो भयो । तस्कर, दलाल, विचौलियाको पार्टी बन्‍ने कि, कांग्रेसको निष्ठावान, बफादार कार्यकर्ताको पार्टी बन्‍ने ? पार्टीप्रति बफादारले ठाउँ पाएनन्, पाखा लागे किनकि त्यहाँ ब्रिफकेसको महत्व हुन थाल्यो र त्यसको सीधा प्रभाव क्रियाशील सदस्यता वितरणमा देखियो । वास्तवमा, कांग्रेसका इमानदार, निष्ठावान कार्यकर्तालाई अपमान गर्ने काम भभएको छ र तिनीहरूलाई पाखा लगाउने काम भएको छ ।

कांग्रेसमा त देशभर यस्तो खालका समस्याहरू देखिन्छन्, निधिबाट नै यो सबै भएको हो भन्‍ने आरोपको आधार के हो त ? 
निधि महामन्त्री भएदेखि बीपीसँग राजनीति गर्नेहरूको विरासतलाई अघि बढ्न दिनुभएन । त्यो विरासतमा राजनीति गर्नेहरू दल छाड्न बाध्य भएका छन् । महेन्द्रनारायण निधिबाहेक अरु पनि त नेता थिए नि । रामनारायण मिश्र, शेख इदृश, दुर्गानन्द झाकै सवाल होस् । दुर्गानन्द झाकी श्रीमतिलाई तमलोपाले सभासद् बनाएपछि मात्र कांग्रेसले चासो लिएको हो ।

निधिज्यूको पद मोटाउँदै महामन्त्री, उपसभापति, अनि सरकारमा मन्त्रीबाट गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्री, उपप्रधानमन्त्री बन्‍नुभयो । तर मधेशबाट कांग्रेस विस्थापित हुँदैगयो । संगठनका हिसाबले त यो असफलताको जिम्मेवारी लिनुपर्दैन ? 

रामचन्द्र तिवारीलाई पनि उहाँले अपमान गर्नुभयो । उहाँ कस्तो मान्छे भने संस्कृतमा भन्छ नि, ‘एको अहं, द्वितीयो नास्ति, न भूतो न भविष्यति !’ अर्थात् मबाहेक अरु सबै मिथ्या हुन् भन्‍ने रवैया छ उहाँमा । उहाँलाई लाग्छ कि उहाँमात्र कांग्रेस हो र उहाँका भक्तहरूमात्र कांग्रेसमा बस्‍न पाउँछ । उहाँको जो चाकडी गर्दैन, त्यसलाई उहाँले कांग्रेसमा बस्न दिनुहुन्‍न । म उहाँको सिद्धान्तको विरोधमा छु । उहाँले कांग्रेसबाट डाँडा कटाउँदैमा हामी डाडाँ कटेर हिँड्दैनौं । मैंले संसद्‌बाट राजीनामा दिएको छु । पार्टीबाट दिएको छैन, पार्टीभित्र यस्ता मुद्दा उठाउँछु र संघर्ष गर्छु । मेरो राजीनामा पत्रमा पनि उपसभापतिको नाम उद्धृत गरेर यो रवैयाबारे उल्लेख गरेको छु । 

कांग्रेसमा त २ नम्बर प्रदेश मात्र होइन, देशैभरि यस्तै समस्या छ ? 
हो । मलाई एकजना भारतीय नेताले प्रश्न गरेका थिए, ‘यहाँहरूको पार्टी व्यापारीको पार्टी हो कि जनताको पार्टी हो ? त्यो नछुट्याई पार्टी सुदृढ हुन सक्दैन ।’ मैले त्यहाँ जवाफ दिन सकिनँ । आजको दिनमा व्यापारी र पार्टीबीचमा कुनै फरक देखिएन । ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ गाँसिएको छ । एउटा व्यवसायिक घरानाको अध्यक्ष छ, अनि पार्टीमा सांसद । निर्माण कम्पनीको प्रबन्ध निर्देशक या अध्यक्ष छ, अनि पार्टीमा सांसद । यदि तपाईंले त्यस्ता व्यक्तिलाई जिम्मेवारी दिनुहुन्छ भने देश र जनताप्रति न्याय गर्न सक्नुहुन्‍न । जनताको चाहाना र आकांक्षालाई यहाँले सही रूपमा उठाउन सक्नुहुन्‍न । प्रतिनिधि सभामा हाम्रो भूमिका किन प्रभावकारी भएन भने हामी ४-५ जना निर्वाचित सांसद गगन थापा, मीनेन्द्र रिजाल, म अनि समानुपातिकबाट डिला संग्रौला र दिलेन्द्र बडूबाहेक कोही बोल्दैनथ्यो । संसद्‌मा बोलेकै कारण तत्कालीन ओली सरकारले मेरो सुरक्षा लगायत सबै फिर्ता गर्‍यो । मैले नेपाल ट्रष्टको जग्गा व्यपारिक विशेषलाई दिनेदेखि वाइडबडी जहाज खरिद लगायतका विषयमा संसद्‌मा बालेको थिएँ, त्यसको बदलामा सरकारले मेरो सुरक्षा हटाइएको थियो । 

तर असन्तुष्टि त नेतृत्वसँग पो हुनुपर्ने, अन्य पदाधिकारीलाई दोष लगाएर यो समाधान हुन्छ त ? 
मधेशको सवालमा क्रियाशील सदस्यता विवादमा मेरो असन्तुष्टी हो । बारा, सर्लाही, धनुषामा क्रियाशील सदस्यता विवाद छ । प्रदेश २ मा उहाँले कब्जा गर्न खोज्‍नुभएको छ, त्यहाँ ८ जिल्लामै विवाद छ । सप्तरीको साथीहरूलाई निधिले बोलाउनुभयो र भन्‍नुभयो, ‘म जे भन्छु, त्यसमा सही गर ।’ उनीहरूले इन्कार गरेपछि छिटो यहाँबाट निस्क नत्र प्रहरी लगाएर थुनिदिन्छु । सप्तरीका सचिव रामकुमार यादवसँग सोध्नुस् न । यो एकसाता अघिको मात्र घटना हो, यसले पनि मलाई थप ‘ट्रीगर’ गर्‍यो । त्यहाँ बहालवाला संसद्‌ तेजुलाल चौधरी, नमिता चौधरी लगायत पनि थिए, उहाँहरूसँग सोध्दा हुन्छ, मैले आरोप लगाएको होइन । उपसभापतिजस्तो जिम्मेवार व्यक्तिले केही गल्ती भए सम्झाउने हो, आफूले संरक्षण दिने हो र समेट्ने हो । तर निधि धम्की दिनुहुन्छ, हुकुमी शासन चलाउन खोज्‍नुहुन्छ भने त्यसको विरोध हुन्छ । बाहिर त हुकुमी शासनको विरोध गर्छौं भने पार्टीमा सहेर बस्ने कुरा हुँदैन । कांग्रेस त हुकुमी शासनको विरोधमा बनेको पार्टी हो । कांग्रेसभित्र रामचन्द्र दाई (रामचन्द्र पौडेल) वा पार्टी सभापति शेरबहादुरजी (शेरबहादुर देउवा) होस् या सिटौला दाई (कृष्णप्रसाद सिटौला) सबैले मधेशको कुरा आउँदा भन्‍नुहुन्छ- ‘ल ! यो सबै विमलले जे भन्छ, त्यही हुन्छ ।’ जे निर्णय गर्दा पनि उहाँलाई एकलौटी जिम्मा दिइएको छ भने कसलाई दोष दिने त ! उहाँले नै अघिल्लो निर्वाचनमा मधेशमा न मधेशी दलसँग, न माओवादीसँग नै गठबन्धन बन्‍न दिनुभयो । यो सबैलाई जगजाहेर छ । उहाँ त्यहाँको राजा ठान्‍नुहुन्छ । यो राजा-रजौटा प्रवृत्तिको विरोध गर्छौं । कांग्रेस पार्टीको स्थापना राजा-रजौटा, हुकुमी शासनको विरोधमा हो । हामी उपसभापति निधिको योगदानका लागि आदर गर्छौं, उहाँले २०३६ सालमा, २०४६ सालको आन्दोलनमा ठूलो योगदान छ । उहाँलाई सम्मान गर्न हामी कञ्जुस्याइँ छैन । तर पछिल्लो १५ वर्षमा उहाँको काम कारबाहीले मधेशमा कांग्रेस कमजोर भएको छ । युवाहरू कांग्रेसमा आउन चाहँदैनन् । मधेशमा त कांग्रेसको नाममा तस्कर, दलालको बिगबिगी भएको छ । उहाँले नै प्रदेशमा बनाउनुभएका मन्त्रीहरू हेरौं न, कुन पृष्ठभूमिका छन् । दुईजना मन्त्रीको पृष्ठभूमि हेरे बुझिहाल्नुहुन्छ । 

क्रियाशील सदस्यता वितरणमा चित्त नबुझेर धेरै नेता कार्यकर्ता कांग्रेसको मुख्यालयमा अनसन बसेका छन्, त्यसको समाधान के हो त ? 
दर्जनौं रिले अनसनमा बसेका छन् । चार जना आमरण अनसनमा छन् । मलाई सबैभन्दा पीडा त ७१ वर्षको रामगोविन्द राय, जो २०-२५ वर्ष पहिले कांग्रेसबाट गाविस अध्यक्ष बनिसकेको मान्छे छन् । ४०-५० वर्षदेखि कांग्रेसमा क्रियाशील मानिसमाथि उहाँ कसरी अन्याय गर्न सक्नुहुन्छ ? जुन सोच्न पनि सकिँदैन । यसको समाधान भनेकै नेपाली कांग्रेसलाई निष्ठावान, इमानदार कार्यकर्ताको पार्टी बनाउने हो । कांग्रेसभित्र शुद्धीकरण र सुदृढीकरण नै हो । 

केन्द्रीय सभापतिको आकांक्षी भएकोले निधिमाथि तपाईंलाई अघि सारेर आक्रमण गराइयो भन्‍ने आरोप छ, केन्द्रीय सभापतिको आकांक्षीलाई दुई नम्बर प्रदेशको राजनीतिमा मात्र त्यत्रो चासो हुने कारण के छ र ? 
त्यसकै लागि त उहाँ दुई नम्बर प्रदेश कब्जा गर्न खोज्दै हुनुहुन्छ । म कसैको कारणले उहाँलाई अप्ठेरो पार्न यी सबै कुराहरू गरिरहेको छैन । मैले यसअघि पनि मैले विद्रोह गर्नुपर्ने कारण किन आयो भनेर भनिसकेको छु । जुन छर्लङ्ग छ, त्यहाँ उहाँको दमन कति छ भन्‍ने पार्टी कार्यालयमा जारी अनसनले थप पुष्टी गर्छ । दुई नम्बर प्रदेशमा ८००-९०० भोट छ, अनि बाँकी अन्यबाट पनि बटुल्छु भन्‍ने होला । फेरि बुझ्नुपर्ने कुरा के हो भने निधि जित्न सभापतिको उम्मेदवार बन्‍न लागेको होइन, गुट खडा गर्न उम्मेदवार बन्‍नुभएको हो । हारेपनि जसरी आज सिटौला दाई (कृष्णप्रसाद सिटौला) को गुट खडा भएको छ नि- मन्त्रीमा भाग पाउने, नेविसंघमा महामन्त्री, महिला संघमा एउटा पदाधिकारी अनि केन्द्रीय सदस्यमा दुई-चार थान भाग पाउने, टिकट वितरणमा भाग पाउन हो ।

निधि सभापति बन्‍नुभयो भने मधेशमा कांग्रेस बाँकी रहँदा पनि रहँदैन होला । त्यस्तो दुर्भाग्यको दिन नआओस् ।

निधिलाई पनि थाहा छ, म निर्वाचिन हुन सक्दिनँ । उहाँ पार्टीमा सबै मनोनित पाउनुभएको हो । महामन्त्री, उपसभापति सबै मनोनित भएर आउनुभएको हो । सुशील दाई (सुशील कोइराला) सभापति बन्दा १२ औँ महाधिवेशनमा महामन्त्री उठ्दा उहाँ प्रकाशमान सिंहसँग हार्नुभएको हो । उहाँको आकांक्षा प्रष्ट छ, बढीभन्दा बढी मत ल्याएर गुट बनायो भने बढीभन्दा बढी भाग पाउँछु । ५-६ महिना अघि मसँग पनि एकदिन कुरा गर्नुभयो, मैले प्रष्ट भने, मेरो शुभकामना रहन्छ, तर सहयोग रहँदैन । 

भविष्यमा त तपाईंमाथि पनि प्रश्न उठ्ला नि, लडाइँ पार्टीभित्र थियो, तपाईंले सांसद पद छोड्नु भयो । अहिले उल्लेख गरेका विषयले त्यसलाई पुष्टी गर्ला त ? 
म जनकपुर अञ्चलका ६ जिल्लामध्ये एउटा मात्र निर्वाचित सांसद छु । सर्लाही, सिन्धुली, दोलखा, रामेछाप, महोत्तरी, धनुषाबाट प्रतिनिधिसभामा निर्वाचित जम्मा एकजना निर्वाचित भएको हुँ । मेरो निर्वाचन क्षेत्रमा दुवै प्रदेश सभा उम्मेदवारले जितेका छन् । शेखर कोइरालाज्यूको निर्वाचन क्षेत्रमा प्रदेश सभा दुवै निर्वाचन क्षेत्रमा जित्यो, तर प्रतिनिधिसभा हार्‍यो । उपसभापतिलाई किन मैले दोष दिएको हुँ भने उहाँले नेतृत्व लिनुभएको छ भने जिम्मेवारी पनि वहन गर्नुपर्छ । समग्र मधेशमा निरन्तर कांग्रेस घटिरहेको छ ।

महाधिवेशनमा यहाँ आफैँ पनि पदाधिकारीमा आउँदै हुनुहुन्छ कि ?
महाधिवेशनमा म मधेशी ‘क्लष्टर’बाट सहमहामन्त्रीमा उम्मेद्‌वारी दिन्छु । मेरो उम्मेद्‌वारी ‘बार्गेनिङ्ग’का लागि होइन । कांग्रेसभित्र परिवर्तनका लागि, संगठनको जीवन्तताका लागि, यहाँ युवाहरूलाई आकर्षण गर्न हो । युवालाई नसमेट्ने हो भने अब यथास्थितिमा कांग्रेस चल्दैन । युवाहरूलाई राजनीतिमा आकर्षण गर्न सकिएन । देशमा रोजगारीको वातावरण बन्‍न सकेन । लाखौं युवा हरेक वर्ष रोजगारीका लागि विदेश जानुपर्ने स्थिति छ । यहाँ लगानीको वातावरण नै छैन । २०४८ देखि २०५१ को बीचमा जति विदेशी लगानी आयो, त्यसपछि विदेशी लगानी आएको छैन । कांग्रेस र तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरजीको राम्रो सम्बन्ध भएका कारणले भारतीय संयुक्त लगानीका डाबर नेपाल, युनिलिभर, एसियन पेन्टस्, नेपाल एसबीआई बैंक, आइटीसी लिमिटेड इण्डिया/सूर्य नेपालबाहेक कुनै पनि लगानी आएको छैन । किनकि हामीले विदेशी लगानीको वातावरण नै बन्‍न दिएनौं । दलका भ्रातृ संगठन त्यसैबाट जबर्जस्ती चन्दा लिन खोज्‍ने, नेताहरू पनि पैसा खोज्‍ने, कर्मचारी फाइल घुमाइराख्‍ने अनि को विदेशी यहाँ लगानी गर्न आउँछ ? हामी जति युवा वैदेशिक रोजगारमा पठाइरहेका छौं । हामी कम दक्ष श्रमशक्ति पठाइरहेका छौं । भारतबाट आइटी इन्जिनियर या चिकित्सक जान्छ उसको मासिक तलब कम्तीमा पनि १० हजार डलर हुन्छ । नेपालीको तलब २५० देखि ४०० डलर मासिक कमाउँछन् । नेपालका २५ जना श्रमशक्ति बराबर भारतमा एउटा आइटी इन्जिनियरले रेमिट्यान्स भित्र्याउँछ । हामी त यहाँ व्यवसायिक सीप विकास गर्ने, श्रम शक्तिको दक्षता बढाउन सकेनौं । महाधिवेशनमा म यी सबै समस्या समाधानका लागि कांग्रेसलाई उभ्याउने प्रणसहित सहमहामन्त्रीमा उम्मेद्वारी दिन लागेको हुँ । 

यहाँले सभामुखकहाँ नभएर पार्टी सभापतिकहाँ राजीनामा बुझाएकाले फिर्ता होस् भन्‍ने पनि छ कि ? 
मैले जे समस्या सम्बोधनका लागि राजीनामा दिएको छु, त्यसको बल सभापतिजीको कोर्टमा छ । मैले समस्यासहित आफ्नो राजीनामा बुझाएको छु । अब समस्या समाधान भएन भने राजीनामा अघि बढ्छ । मधेशमा कांग्रेसको आधार समाप्त हुँदै गरेको साक्षी बस्न सक्दिनँ, यसले निकै बिझाएको छ । इमानदार, निष्ठावान कार्यकर्ताको अपमान हेरेर कसरी बस्न सकिन्छ ? तस्कर, जग्गा दलाल, भू-माफिया, गिट्टी क्रसर, मदिरा व्यवसायीको हातमा पार्टी जाने स्थितिमा यसले देश र पार्टी दुवैको भलो गर्दैन । 

राजीनामा दिन जाँदा सभापतिले केही भन्‍नुभएन ? 
उहाँले लिन मान्‍नुभएको थिएन । म तुरुन्त समस्या समाधान गर्छु, राजीनामा नदेऊ भन्‍नुभएको थियो । तर मैले भने कि म त्यत्तिकै फिर्ता लिन्‍नँ । मैले त निर्णय गरेर आइसके । म पार्टी छाड्न लागेको होइन, यहाँ संघर्ष गर्न लागेको हुँ । यहाँले समस्या समाधान गर्नुभयो भने फिर्ता लिन्छु, नत्र राजीनामा अघि बढ्छ । म एउटा सैद्धान्तिक पक्षबाट राजीनामा दिएको हुँ । यदि मैले पार्टीभित्र दुई-चार हजार निष्ठावान क्रियाशील कार्यकर्ताको संरक्षण र सम्बद्र्धन गर्न सक्दिनँ भने मैले कसरी लाखौँ जनता र देशको हित सम्बद्र्धन गर्न सक्छु । मेरो अगाडि त्यो नैतिक प्रश्न खडा भएको हुनाले मैले सभापतिसमक्ष राजीनामा दिएको हुँ । 

सभापतिबाट समस्या समाधान कसरी हुनसक्छ ? 
क्रियाशील सदस्यता पार्टीको विधि-विधान र निर्देशिका अनुरूप हुनुपर्‍यो । क्रियाशील सदस्यताको आधार/उत्पत्तिको थलो वडा समिति हो । वडा समितिको सिफारिश च्यातेर समायोजनको नाममा कसैलाई दुई हजार क्रियाशील सदस्यता दिइएको छ । दुई हजार क्रियाशील सदस्यता बाँड्न उसले १० हजार मानिस कांग्रेसमा भित्र्याएको आधार देखाउनुपर्‍यो नि ! जङ्गीलालजीलाई यति धेरै क्रियाशील सदस्यता दिइएको छ । जङ्गीलालजी व्यक्ति र उहाँसँग रहेका केही कार्यकर्ता कांग्रेस प्रवेश गरे तर सिङ्गो तमलोपा पार्टी आएको त होइन । यदि पार्टी आएको हो भने महन्थ ठाकुरहरू आउनुभएको छैन । शम्भुलालजी माओवादी पार्टीबाट आउनुभयो, तर माओवादी पार्टीसँग त एकता भएको होइन, टिकट पनि दिने अनि २-५ हजार क्रियाशील सदस्यता पनि दिने यो त समायोजनको नाममा पार्टी कब्जा गर्ने रणनीति भयो । समायोजन समितिको संयोजक निधि हुनुहुन्थ्यो, उहाँले नै समायोजन र क्रियाशील सदस्यता वितरणको नाममा पार्टी कब्जा गर्ने रणनीतिमा अघि बढ्दा कांग्रेसका निष्ठावान, इमानदार र लामो समयदेखि योगदान भएका कार्यकर्ता अन्यायमा परेका छन् । उहाँसँग निकट हुनु कि उहाँको भक्तिगान गर्नुपर्‍यो, कि त आर्थिक फाइदा दिन सक्नुपर्‍यो ।

कांग्रेस बीपीले प्रतिपादन गरेको सिद्धान्त, निष्ठा, देशको आवश्यकता मानेर चल्ने पार्टीभन्दा गिट्टी/बालुवा, क्रसर व्यापारी, तस्करी तथा दलाली, मदिरा उत्पादक तथा विचौलियाको पार्टीजस्तो भयो ।

एउटा सत्य के हो भने दक्ष मान्छे त भक्त हुन सक्दैन । जोसँग क्षमता हुन्छ, त्यो चाकर हुँदैन । अनि जो चाकर छ, उसमा क्षमता हुँदैन । कांग्रेसको नाममा उहाँ भद्दा प्रदर्शन गर्नुहुन्छ । त्यसकारण बारम्बार जोड दिएर भनिरहेको छु, ‘कांग्रेस शुद्धीकरण र सुदृढीकरण हुनुपर्छ’ । शुद्धीकरण नभइ कांग्रेस सुदृढ हुँदैन । व्यवसायीहरू पार्टीको शुभचिन्तक हुन सक्छन्, ‘हट सीट’ मा बस्‍न पाउँदैनन् । आर्थिक र राजनीतिको मिश्रण भएपछि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ले देशको अर्थतन्त्र समाप्त हुन्छ र देश भ्रष्टाचारको जालोमा फस्छ । निधिजी सामान्य कार्यकर्ताको घरमा जानुहुन्‍न, बोल्ने/भेट्ने गर्नुहुन्‍न । युवालाई कुनै ठाउँ दिनुहुन्‍न । ३० औँ वर्षदेखि एउटै नेतृत्व भयो भने अरू किन यो पार्टीमा लाग्छन् र ! २० वर्षको युवा पार्टीमा लागेर ५० वर्षसम्म कुनै भूमिकामै आउन सक्दैन भने ऊ किन आउँछ, यो सोच्‍नु पर्दैन । 

क्रियाशील सदस्यताको विवाद टुङ्गो लागेको छैन, समयमा महाधिवेशन होला जस्तो लाग्छ त यहाँलाई ? 
हालसम्मका घटनाक्रम र काम-कारबाही हेर्दा त तोकिएको समयमा महाधिवेशन होला भन्‍ने मलाई लाग्दैन । क्रियाशील सदस्यता छानबिन गरी टुङ्गो लगाउने म्याद असारको २० गतेसम्म दिएको हो । छानबिन समितिको संयोजक रमेश लेखकजीले केन्द्रीय कार्यसमितिको बैठकमै २० गतेसम्म सकिँदैन, ३० गतेसम्म चाहिन्छ । तर साउनको पहिलो हप्ता नाघिसक्दा पनि उहाँले सप्तरी, बारा, सर्लाही लगायत कतिपय जिल्लाको छानबिन गर्न सकिँदैन भनेर त्यत्तिकै बुझाउनुभएको छ । महाधिवेशन मंसीरसम्म सार्ने वा अदालतमा मुद्दा दिएर कोभिड-१९ को समयलाई गणना नगर्ने माग गरौँ । अर्को वडा, क्षेत्रीय र केन्द्रीय अधिवेशन गर्ने । तर यसो गर्दा गाउँ/नगर, जिल्ला, प्रदेशको अधिवेशन हुँदैन । अर्को बाढी, पहिरो र कोभिडका कारण दुई-चार महिना सार्ने कि भन्‍ने पनि सुनिन्छ । 

संसद्‌को क्रियाशीलता बढाउनुपर्ने समय छ, यहाँको पार्टीको प्रतिनिधित्व संसद्‌मा त्यसै पनि कम छ । सर्वोच्च अदालतमा संसद्‌ पूर्ण कार्यकाल चलाउँछौ भन्‍नुभयो, अहिले फेरि राजीनामा दिदैं हुनुहुन्छ ?
मलाई सांसद त पार्टीले नै बनाएको हो । मैले पार्टीलाई पनि एउटा सन्देश दिन खोजेको हुँ- जनताको जनमतलाई तपाईंहरूले अपमान गर्न मिल्दैन । जनताले जनमत दिएर मलाई चुनेर पठाएका छन् । पार्टीका केही पदाधिकारीले मलाई विस्थापित गर्न खोजे भने म यही कुरा लिएर जनतामाझ/कार्यकर्तामाझमा जान्छु । पार्टीको महाधिवेशन आउँदैछ, महाधिवेशनमा यसलाई एजेण्डाको रूपमा म हिमाल, पहाड, तराई सबैतिर पुर्‍याउनेछु । मेरो राजीनामा कुनै राजनीतिक ‘स्टन्ट’ होइन । म त संसद्‌भन्दा वृहत्तर कामका लागि संघर्ष गर्दैछु । पार्टी शुद्धीकरण र सुदृढीकरण भएन भने त संसद्‌मा प्रभावकारी प्रतिनिधित्व हुँदैन । दुई-चार महिना सांसद पदको लोभ गरेर मैले महाधिवेशनको समयमा यो मुद्दा उठाउन सकिएन भने त पार्टी नै ध्वस्त हुन्छ । सुधारिएको कांग्रेस पार्टी बन्‍न सकेन र यथास्थितिमा रह्यौं भने त कहिले पनि सुधार हुँदैनौं । 

यहाँले सुधारको कुरा त गर्नुभयो । यहाँले उठाउनुभएका सवाल अब समस्या मात्र नभएर कांग्रेसभित्र ‘दीर्घ रोग’ नै भैसक्यो भन्छन् । महाधिवेशनमा यहाँको एजेण्डाले प्राथमिकता पाउने, यसको सम्बोधन हुने आशा गर्न सक्ने ठाउँ छ त ? 
यसमा सैद्धान्तिक दृष्टिकोणले महत्वपूर्ण दुईओटा कुरा भन्छु- पार्टी लोकतान्त्रिकरण नभइ देश लोकतान्त्रिकरण हुन सक्दैन । दलहरू लोकतान्त्रिक भएमात्र सरकार लोकतान्त्रिक हुन्छ । पार्टी लोकतान्त्रिक हुँदैन भने सरकार लोकतान्त्रिक हुन सक्दैन भन्‍ने त पूर्ववर्ती सरकारले पनि देखाइहाल्यो । लोकतन्त्रमा पार्टी शुद्धीकरण र आर्थिक रूपले पारदर्शी नभइ देशबाट भ्रष्टाचार निर्मूल हुनसक्दैन । निष्ठावान र इमानदार मान्छे पार्टीको नेतृत्वमा आए भने पारदर्शीता र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । माथिल्लो पदमा बस्नेहरू इमान्दार हुन जरुरी छ, किनकि एउटा सिपाहीले ५०० रुपैयाँ घूस खाला, तर प्रहरीको प्रमुखले चाह्यो भने ५० करोड भ्रष्टाचार गर्न सक्छ, प्रधानमन्त्रीले नै चाह्यो भने ५ अर्ब भ्रष्टाचार गर्न सक्छ । हाम्रो देशमा धेरै नीतिगत भ्रष्टाचार छ । लाइसेन्स, ठेक्कापट्टामा हामीकहाँ धेरै भ्रष्टाचार छ । 

उहाँ कस्तो मान्छे भने संस्कृतमा भन्छ नि, ‘एको अहं, द्वितीयो नास्ति, न भूतो न भविष्यति !’ अर्थात् मबाहेक अरु सबै मिथ्या हुन् भन्‍ने रवैया छ उहाँमा । उहाँलाई लाग्छ कि उहाँमात्र कांग्रेस हो र उहाँका भक्तहरूमात्र कांग्रेसमा बस्न पाउँछ ।

नगदमा हुने लेनदेनमात्र त भ्रष्टाचार होइन । हामीकहाँ मानसिक र नीतिगत भ्रष्टाचार छ । मानसिक भ्रष्टाचार किन भनेको भने नीतिगत भ्रष्टाचारका लागि मान्छे पहिले मानसिक रूपमा भ्रष्ट हुन्छ अनि उसले भ्रष्टाचार गर्न थाल्छ । एउटा लाइसेन्स, एउटा ठेक्कामा अर्बौं भ्रष्टाचार भएको छ । मैँले संसद्‌मा बोलेको छु । पूर्ववर्ती सरकारले पूर्व राजपरिवारको सम्पत्ति नेपाल ट्रष्टमा ल्याएर त्यो सबै यती ग्रुपलाई जिम्मा लगायो । यदि त्यसो गर्नकै लागि गणतन्त्र ल्याइएको हो भने त संविधानमै पूर्व राजाको सबै सम्पत्ति यति ग्रुपलाई जिम्मा लगाइनेछ भनेर लेख्दिएको भए त नेपाल ट्रष्ट बनाउन, त्यति धेरै कर्मचारी पाल्न पनि जरुरी थिएन । मैले संसद्‌मै भनेको छु, ‘कौडीको भाउमा लाइसेन्स बेचिन्छ ।’ पछिल्लो केही वर्षयता धेरै बीमा कम्पनी थपिए, हालै अर्को पुनर्बीमा कम्पनीको लाइसेन्स दिइएको छ । यसमा ठूलो भ्रष्टाचार भएको छ । यस्तो अपराधको साक्षी किनारा बस्यौं र खबरदारी गरेनौं भने हामी पनि दोषी हुन्छौं । गान्धीले भन्‍नुभएको थियो- ‘अपराध गर्ने र अपराध सहने दुवै दोषी हुन् ।’ अनि पार्टीभित्र अनियमितता छ, गलत काम भएको छ भने हामी हेरेर बस्छौं भने हामी पनि दोषी छौं । देशका संस्थाहरू सबै राजनीतिकरण गरिएको छ । सबै संवैधानिक अङ्ग ध्वस्त पारिएको छ । आज कुनै पनि संस्थाको निष्ठा कायम राखिएको छैन, संवैधानिक परिषद्देखि न्यायलय, लोकसेवा, अख्तियार, विश्वविद्यालय या संसद्‌ सबै खत्तम पारिएको छ । सबैभन्दा बढी शिक्षा र स्वास्थ्यलाई ‘ड्यामेज’ गरिएको छ ।

निधि धम्की दिनुहुन्छ, हुकुमी शासन चलाउन खोज्‍नुहुन्छ भने त्यसको विरोध हुन्छ । बाहिर त हुकुमी शासनको विरोध गर्छौं भने पार्टीमा सहेर बस्ने कुरा हुँदैन ।

३० वर्ष पहिलेको त्रिभुवन विश्वविद्यालय र अहिलेको विश्वविद्यालय तुलना गर्नुस् न । गणतन्त्र ल्याएर हामीले हार्वर्ड, क्याम्ब्रिज, अक्सफोर्डजस्ता विश्वव्यापी र्‍यांकिङ्गमा आउने विश्वविद्यालय बनाउनुपर्ने ठाउँमा हामीले कार्यकर्ता भर्तीकेन्द्र बनाएर ध्वस्त बनाइदियौं । यी जेजति विकृति र अक्षमता छन्, त्यसलाई सच्याउने अभिभारा नेपाली कांग्रेसको हो । कम्युनिष्टले गर्दैनन् । दुनियाँमा सबैभन्दा ढोङ्ग र आडम्बर बोकेको पार्टी नै कम्युनिष्ट पार्टी हो । कांग्रेस लोकतान्त्रिक पार्टी हो, उसले जे बोल्छ त्यो त गर्नुपर्छ । वामपन्थीहरू मुखले एउटा कुरा बोल्छन्, अर्को काम गर्छन् । कांग्रेसको महाधिवेशनको क्रममा मैंले आफ्नो लाभ-हानी भन्दा पनि कांग्रेसलाई शुद्धीकरण गदै सुदृढ गर्न र गलत नेतृत्व विस्थापित गर्न यो अभियानमा होमिएको हो । गलत नेतृत्वको विरोधमा हामी बोल्छौं, गलत नेतृत्वले पार्टी हाँक्न सक्दैन । 
त्यसबारे हामी बोल्छौँ, यसमा पार्टीको अनुशासनको कुरा आउँदैन, महाधिवेशनमा यस्ता विषयमा छलफल गर्ने बेला हो । यस्ता विषयमा बहस, विचार-विमर्श गर्ने बेलामा अनुशासनको डण्डा चलाएर मुख बन्द गराउने कुरा हुँदैन । हामी जेएनयू (जवाहारलाल नेहरू युनिभर्सिटी) पढ्दा प्रेसिडेन्टका क्यान्डिडेटहरूको आफ्नो कुरा हजारौं विद्यार्थीको बीचमा राखिन्थ्यो, जसले आफ्नो एजेण्डा राम्ररी राख्‍न सक्थ्यो ऊ नै प्रेसिडेन्ट चुनिन्थ्यो । कांग्रेसमा पनि जो सक्षम छ, जसले पार्टीलाई र देशलाई सही दिशानिर्देश गर्न सक्छ त्यो नै नेतृत्वमा आउनुपर्छ । यो महाधिवेशन कांग्रेसको दिशा र दशा बदल्ने समय हो । कांग्रेसमा म फलानोको राजकुमार हुँ भनेर नेतृत्व हस्तान्तरण हुँदैन, यो वंशपरम्परामा आधारित राजतन्त्रवादी पार्टी होइन । जसमा क्षमता, सोच, दूरदर्शिता छ त्यो एजेण्डाका आधारमा छलफल गरौं । 
यसमा जसलाई कार्यकर्ताले चयन गर्छन्, उसैले नेतृत्व गर्छ । एजेण्डाविहीन, हैकमवादी र वंशपरम्परा धान्‍ने कांग्रेस हामीले खोजेको होइन । आउँदो नेतृत्वले देशलाई नै सही दिशामा डोर्‍याउने, दूरदर्शिता सहित सही नीति र सोचले कांग्रेसलाई डोर्‍याउन सक्ने नेतृत्व चाहिएको छ । 



Author

थप समाचार