वार्ता

अन्तर्वार्ता

म रामचन्द्र पाैडेलकै मान्छे हाे : मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल

अनिष भट्टराई |
मंसिर २४, २०७८ शुक्रबार १३:२४ बजे

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि लड्दै छन् । पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पोखरेल अहिलेको नेतृत्वले पार्टीलाई बढाउन नसकेको बताउँदै नयाँ नेतृत्व आउनुपर्ने बताउँछन् । पोखरेलसँग इकागजका अनिष भट्टराईले महाधिवेशनको सेरोफेरोमा रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

सहमहामन्त्रीमा तपाईंको पनि चर्चा थियो, केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरिसक्नु भएको छ । केन्द्रीय सदस्य जितेर पार्टीलाई नयाँ के दिन सक्छु जस्तो लाग्छ ?
मैले सहमहामन्त्रीमा उठ्छु भनेर घोषणा गरेको थिइनँ । तर मिडियामा आइदियो । मिडियाले नै यससम्बन्धी मेरो चर्चा गरिदिए । युवा पुस्ता जो आइरहनु भएको छ, उहाँहरूलाई पार्टीमा भित्र्याउनुपर्छ भन्‍ने सोच बनाएँ । म पदाधिकारीमा अटाउनु योग्य मान्छे त हुँ, तर युवाहरूलाई अब पार्टीमा ल्याउनु जसरी सहमहामन्त्री पद थपिएको छ, त्यसमा म आउन चाहिन । फेरि कार्यसमिति बाहिर बसेर राजनीति पनि हुँदैन । यसअर्थमा नयाँ पुस्ता आउन्, विगतको कमीकमजोरी हटाएर कांग्रेसलाई सबैको पार्टी बनाउनुपर्छ भनेर हेरें । यसका लागि मैले केन्द्रीय सदस्य नै सहज पोजिसन भएकाले रोजें । 


वडा, पालिका, प्रादेशिक अधिवेशन सम्पन्‍न भइसकेका छन् । महाधिवेशन पनि आजबाट सुरु हुँदैछ । कत्तिको उत्साहित हुनुहुन्छ ? 
यो लोकतान्त्रिक प्रक्रियाको अभ्यास हो । महाधिवेशनले कार्यकर्ताहरूमा उत्साह छाएको छ । किनभने प्रत्येक चार वर्षमा हुनुपर्थ्यो । तर अहिले ६ वर्षमा हुन लागेको छ । कार्यकर्ताहरूलाई स्वभावले नै महाधिवेशन चाँडै होस् भन्‍ने थियो ।

पार्टीमा नयाँ पुस्ताको प्रवेश भएको छ । विधानले समुहहरू बनाएर सबै समुहलाई अटाउने बनाएको छ । यी सबै कुराले महाधिवेशनलाई पार्टीको भन्दा पनि देशकै उत्सव जस्तो बनाएको छ । म पार्टीको असल कार्यकर्ता भएको नाताले अधिवेशन मेरा लागि पनि उत्सुकताको विषय हो । जसरी जिल्ला-जिल्लाबाट साथीहरू यहाँ आउनु भएको छ । यसले मलाई अझै उत्साहित बनाएको छ । १४ औँ महाधिवेशनलाई सफल बनाउन उहाँहरू आउनु भएको छ भन्‍ने महसुस गरेको छु । 

लोकतान्त्रिक प्रक्रियाको अभ्यास गर्‍यौँ भन्दै गर्दा तल्ला तहका अधिवेशनमा घटेका घटनाहरू भने बिर्सनलायक छन् । ती घटनाले त असल अभ्यास देखाउँदैनन् त ?
कांग्रेसको संस्कारबाट सुसज्जित भएका कार्यकर्ता उत्पादन गर्ने हाम्रो लक्ष्य हो । हामीले उदारपूर्वक सबै वर्गलाई अटाउने विधान बनायौं । तर विधान नबुझेका मानिस त्यही क्लस्टरहरूका कारण आउँदा त्यस्ता घटना घटे । गण्डकीको अधिवेशनमा पनि प्रतिस्पर्धा भयो । शुक्रराज शर्मा र अर्जुन जोशी उठ्नु भयो । शालिनता पूर्वक विजयी हुने साथीले पार्टीको प्रक्रियाका रुपमा लिनुभयो । पराजित उम्मेद्‌वारले पनि सहर्ष स्वीकारेर कार्यक्रममा आउनु भयो । यो लोकतान्त्रिक प्रक्रिया हो । यसमै हामी प्रशिक्षण दिनुपर्छ । भोलिका दिनमा यस्ता घटना कांग्रेसमा नहोस् भन्‍नेमा हामी सचेत हुनुपर्छ । 

 

पार्टीको विधान नबुझेका मानिस आउँदा यस्ता घटना घटे भन्‍नुहुन्छ । त्यस्ता मानिस पार्टीमा आउनुमा कसको कति योगदान छ ?
पार्टीमा यहि नेता भन्‍नुभन्दा विधानत हामीले गरेको व्यवस्थामा कसैलाई रोक्न मिल्दैन । तर विधानले तोकेको मापदण्ड पुर्‍याएर आउने जति सबै कांग्रेसी संस्कारका छन् भन्‍ने हुँदैन । ती घटना गर्ने व्यक्तिहरूले पनि महसुस गरिसके भन्‍ने मलाई लाग्छ । 

पार्टीमा चरम गुटबन्दी देखिन्छ । गुटबन्दीकै कारण पार्टी कमजोर बन्यो भन्‍ने बहस भइरहँदा अहिलेको महाधिवेशन पनि गुटकै आधारमा भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
कुनै पनि लोकतान्त्रिक पार्टीमा गुट स्वाभाविक कुरा हो । २००७ सालदेखिकै इतिहास हेर्ने हो भने सबै महाधिवेशनमा यस्तै छ । अहिले झन् कांग्रेस वृहत छ । पुराना पुस्तादेखि नयाँ पुस्तालाई बीचमा राखेर हामी पार्टीलाई राम्रोसँग चलाउँछौँ भनेर आउँदा त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । जसै ल्यान्डिङ त एकै हो । एउटा सभापति आउने नै हो । भोलिका दिनमा कांग्रेसलाई हाँक्ने व्यक्ति नै आउने हो । यसलाई पनि सकारात्मक रुपमा लिनुपर्छ । 

गुटलाई सकारात्मक रुपमा लिनुपर्छ भन्दै गर्दा गुटको आधारमा हुन लागेको प्रतिस्पर्धाले कांग्रेसको आदर्श, आन्तरिक लोकतन्त्रलाई आघात पुग्दैन ? 
गुट कहिलेसम्म हुन्छ भन्दा निर्वाचनमा जाँदासम्म मात्र हुन्छ । नतिजा आइसकेपछि सभापति बन्‍ने अनि अरु जोजो आउनुहुन्छ, उहाँहरूले उदारतापुर्वक छुटेका साथीहरूलाई समावेश गरेर लैजानुपर्छ । छुटेका साथीहरूले के बुझ्नु पर्छ भने उहाँहरू कार्यकर्ताकामाझ जानुपर्छ । यसरी दुवै समुहलाई मिलाएर लैजाने काम नेतृत्वले गर्नुपर्छ । 

गुट पार्टीको महाधिवेशनसम्म मात्र रहन्छ भन्‍नुहुन्छ । तर आगामी निर्वाचनमा पनि गुटकै कारण पार्टीलाई असर नपर्ला भन्‍न सकिँदैन नि । गत निर्वाचनमा पनि त पार्टीमा अन्तरघात भए भन्‍ने भनाइ आएका थिए नि ?
महाधिवेशनमा प्रस्तुत गुटउपगुट त्यो हदमा जान्छ भन्‍ने लाग्दैन । यसलाई त नेतृत्वले म्यानेज गर्ने हो । महत्वपुर्ण कुरा के हो भने अहिलेको प्रतिस्पर्धालाई बाहिरी शक्तिसँगको प्रतिस्पर्धाका रुपमा लगे राम्रो हुँदैन । यसलाई मेटेर अघि बढ्नुपर्छ । भोलिका दिनमा आम निर्वाचनमा अर्को पार्टीसँग लड्‌ने बेलामा टिकट दिने बेलामा यो-त्यो नभनी दिनुपर्छ । जुन समूहको भएपनि राम्रोलाई टिकट दिनुपर्छ । धरातलीय यथार्थलाई हेरेर पार्टीभित्रको शक्ति सन्तुलनलाई ध्यान दिए विगतको अनुभव दोहोरिँदैन भन्‍नेमा ढुक्क छु । 

तपाईंले शेरबहादुर देउवालाई सहयोग गर्ने भन्‍नुभएको छ रे हो ? प्रधानमन्त्री पोखरा जाँदा राष्ट्र बैंक गेस्ट हाउसमा हजुरले देउवालाई ग्रीन सिग्‍नल दिनुभएको भन्‍ने छ त ? 
प्रधानमन्त्री पोखरा जाँदा मैले मुख्यमन्त्रीको रुपमा भेटेँ त्यो एक ठाउँमा छ । जहाँसम्म अहिलेको प्रतिस्पर्धा छ, यो समूहगत रुपमा छौँ । यसो भन्दा उहाँप्रतिको सदासयता कायम छ । अहिले यहाँ गयो, त्यहाँ गयो भन्‍ने पक्षमा म लाग्दिनँ ।

नवलपुरमा भएको प्रतिनिधि सभा क्षेत्र चुनावमा पनि देउवा कोइराला गठबन्धन थियो । त्यसमा पक्कै तपाईंको भूमिका रह्यो होला । यसले पनि तपाईं देउवा समूह निकट हुनुहुन्छ भन्‍ने संशयमा बल पुर्‍याउँछ नि ? 
वडादेखि नै तछाड-मछाड भएको बेला जिल्लामा मिलेर जान चाहेपछि हामीले छाडिदिने हो । मेरो जिल्लामा पनि त्यही भएको हो । अब त्यो सहकार्य अहिले पनि रहन्छ भन्‍ने होइन, नयाँ परिस्थिति आयो होला । वडा, पालिका, प्रादेशिक, राष्ट्रिय अधिवेशनमा परिस्थिति फरक-फरक हुन सक्छन् । यसकारण पहिला यस्तो गरिस् अब पनि त्यही हुन्छ भन्‍ने हुँदैन । सबैको आ-आफ्नै इन्ट्रेस्ट हुन्छ नि । 

भनेपछि तपाईं रामचन्द्र पौडेल पक्षधर नै हो ?
त्यो त अब अन्यथा भन्‍ने नै छैन नि । हिजोदेखि त्यही हो । 

संस्थापनइतर समूहमा देखिएको किचलोलाई कसरी नियाल्नु भएको छ ? 
समूह भन्‍ने हो भने कहिँ छाड्न सक्नुपर्छ । समूह भन्‍ने तर छाड्न नचाहने प्रवृत्ति देखिएको छ । पौडेलजीको कुरा छाडिदिउँ । सबै नेताहरू ६/७ दशकदेखि पार्टी राजनीतिका लागि जीवन बिताउनु भएका नेताहरूले आफ्नो इच्छाका लागि आफूसँग आउन लागेको लिडरसीपको मौकालाई छाड्नुहुन्छ भन्‍ने मलाई लाग्दैन ।

भनेपछि रामचन्द्र पौडेललाई नै सभापतिको उम्मेद्‌वार बनाउनुपर्छ भन्‍ने तपाईंको लाइन हो ?
मैले भने नि, उहाँहरू मिल्नुहुन्छ । अहिलेसम्म रामचन्द्र पौडेलकै नामले त भइरहेको छ, पार्टीमा । यत्रो वर्ष उहाँलाई नै नेता मानेर आएको हो नि । उहाँलाई चित्त बुझाएर जान पनि सकिन्छ । होइन अब नयाँ पुस्ताले यसपालि पौडेलजीकै नेतृत्वमा जाउँ भन्‍नुभयो भने अझै राम्रो हुन्छ नि । नेतृत्वमा बसेपछि निकास त दिनै पर्‍यो नि । तत्काल उहाँहरू एउटा निचोडमा पुगेर देशभरबाट आएका प्रतिनिधिलाई हाम्रो सभापतिको उम्मेद्‌वार यो हो भनेर भन्‍न सक्नुपर्छ । 

महाधिवेशनको सेरोफेरोमा रहँदा नेतृत्वमा मात्र बहस चर्किएको छ । नीतिमा भने कहिँकतै बहस किन नभएको ? 
म के सहमत छु भने कांग्रेसको अधिवेशनबारेमा नीति, कार्यक्रम, आदर्शबारेमा बहस नै छैन । हिजो बीपीले जुन विचार प्रतिपादन गर्नुभएको थियो, जतिबेला २०१२ सालमा कांग्रेसले लोकतान्त्रिक समाजवादी हाम्रो नीति भनेपछि हामी परिवर्तन भएका छैनौँ । बरु अरु पार्टीहरू पनि यही लाइनमा आउनुभएको छ, विभिन्‍न नाममा । महाधिवेशन भन्‍नासाथ अहिले नेतृत्व चयन भन्‍ने सन्देश गएको छ । तर यसकारण नीतिमा बहस हुन छाड्यो भन्‍ने होइन । हाम्रा केन्द्रीय समितिहरूले विभिन्‍न प्रस्ताव लानुहुन्छ, त्यसमा बहस हुन्छ, छलफल हुन्छ । मुलकुरा के हो भने आगामी निर्वाचनमा कांग्रेसका कार्यक्रम के हो स्पष्ट पारेर जनताको बीचमा लैजानुपर्छ ।

कांग्रेसको आन्तरिक लोकतन्त्र धराशयी भयो, सत्ताको दौडमा कांग्रेसले आफ्नो विचार छाड्यो भन्‍ने टिप्पणी हुने गरेको छन् । कांग्रेस साँच्चै नै असफलतातर्फ उन्मुख भएको जस्तो लाग्छ ? 
कांग्रेस जस्तो पार्टी असफल भयो भने नेपालमा कुन पार्टी टिक्छ ? पार्टीलेस हुन्छ त ? हाम्रो पार्टीमा अझै पनि सत्ताका लागि लुछाचुँडी छैन । ब्यालेन्सड नै छ जस्तो लाग्छ । सत्ताका लागि दौड भन्‍ने पार्टीमा छैन । विगतमा हामीले देख्यौँ, समसामायिक कुरामा निर्णय दिन नसक्ने, जनताका लागि आवश्यकहरूलाई प्राथमिकता नदिने कमीकमजोरी देखिएका छन् । हामी जस्ता नेता केन्द्रीय कमिटीमा पुगे त्यस्ता समस्या हटाउन सक्छौं । 

कांग्रेसमा अहिले समस्या नै छैनन् त ? बुँदागत रुपमा भन्‍नुपर्दा कांग्रेसका समस्या केके छन् ?
इतिहासले कहिले गिरिजाप्रसाद जन्माउँछ, कहिले बीपी, कृष्णप्रसाद भट्टराई जन्माउँछ । कहिले गणेशमान सिंह जन्माउँछ । तर सधैँ गणेशमान जन्माउँदैन । विधानले सभापति चलाउनुपर्‍यो । विधानले बनाएका समूहरू समयमै बनाउनुपर्छ । जनमुखी कार्यक्रमहरू ल्याउनुपर्‍यो । यस्ता समस्यालाई सिधा भन्‍न सक्नुपर्छ । यति वर्षभित्र योयो गर्छौं भनेर खाका बनाउनु पर्‍यो । अहिलेको नेतृत्वले त्यसतर्फ ध्यान दिन नसकेको निश्चित नै हो ।

अबको महाधिवेशनपछि आउने नेतृत्व कस्तो हुनुपर्छ भन्‍ने लाग्छ ? अहिलेकै नेतृत्व दोहोरिए पनि अथवा नयाँ नेतृत्व आए पनि कस्ता सुधारका साथ आउनुपर्छ भन्‍ने छ ? 
विधानलाई शिरोपर गर्ने, नेपालका सबै नीति बुझेको र राम्रो बनाउन सक्ने, जनताका बीच पार्टीलाई मजबुत बनाएर लैजान सक्ने नेतृत्व आउनुपर्छ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x