वार्ता

अन्तर्वार्ता

'म टेस्टेड मान्छे हुँ, जनताले मलाई परीक्षण गरिसके'

‘म व्यवस्था विरोधी होइन, विकृति विरोधी हुँ’

इकागज |
पुस २६, २०७८ १३:४१ बजे

लामो समयदेखि नेपाली राजनीति कांग्रेस-कम्युनिस्‍ट’कै वरिपरी घुमिरहेको छ । सत्ता र शक्तिमा उनीहरूकै ‘आलोपालो’ छ । यिनले जनअपेक्षित काम गरेनन् भन्‍ने जनगुनासो बढ्दो छ । तर, प्रत्येक निर्वाचनमा आलोपालो उनीहरू नै चुनिएर आउँछन् । विकृत राजनीतिको विकल्प दिने भन्दै बेलाबेलामा नयाँ दल र शक्ति आउन खोजे । तर, कांग्रेस-कम्युनिस्‍टको ‘संगठित चैन’ तोड्न नसकेर उनीहरू विलीन भए/हराए । कतिपय अस्तित्वको लडाइँमा छन् । कोही कार्यालयमा बोर्ड र दल दर्ताको प्रमाण पत्र बोकेर हिँडिरहेका छन् । आयोगमै दर्ता यस्ता दलको संख्या सय बढी छ । विकल्प दिन आएकाहरू विलाइरहेका बेला नयाँ दल दर्ता गर्ने क्रम भने रोकिएको छैन । यसैमा एक नम्बर थप्‍न आइपुगेका छन्, नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल । उनले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छन् । प्रहरीको ‘टप’मा पुग्‍न नसकेका उनी मूल नीति (राजनीति)मा पुगेर देश सुधार्ने हुटहुटी बोकेर राजनीतिमा हाम फालेको बताउँछन्  । दलको संख्यामा नम्बर थप्‍न मात्रै होइन देश परिवर्तनका लागि राजनीतिमा आएको उनको जिकिर छ। उनलाई लाग्छ, ‘जनता अब सचेत भइसके । सचेत जनताले पुरानै राजनीतिक शक्तिलाई साथ दिँदैनन् ।’ उनै खरेलसँग इकागजले गरेको कुराकानीको अंशः

नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भयो ? 
हो, ‘नेपाल सुशासन पार्टी’ निर्वाचन आयोगमा दर्ता भयो । 


पार्टी दर्ता गर्नुअघिको पृष्ठभूमिबारे बताइदिनुस् न । गठन गर्ने निष्कर्षमा कहिले र किन पुग्‍नुभयो ? 
हामीले सुरुमा नेपाल सुशासन अभियान चलायौँ । व्यक्तिगत रूपमा मैले २९ वर्ष नेपाल प्रहरीमा सेवा गरेको, त्यसपछि ९ वर्ष खेलकुद क्षेत्रमा सेवा गरेको हिसाबले यो देश, सरकार र प्रशासन कसरी चलेको छ भन्‍ने अनुभव थियो । सबै देख्दा असाध्यै दिक्क लाग्थ्यो । ‘भनाइ’ एउटा ‘गराई’ अर्कै । यसलाई सुधार्नुपर्छ भन्‍ने पहिल्यैदेखि थियो । दल र तिनका नेताहरूले जे भन्‍नुहुन्छ त्यो पूरा गर्नुपर्छ भन्‍ने थियो । त्यो नैतिकता त उहाँहरूले देखाउनु पर्‍यो भन्‍ने हाम्रो भनाइ थियो । त्यो देखाउनुस् भनेर सुशासन अभियान चलायौँ । ठाउँ-ठाउँमा आवाज उठायौँ । अपिल गर्योँ । नारा जुलुस् पनि गर्‍यौँ । प्रधानमन्त्री (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली)लाई पनि भन्यौँ । 

के भन्‍नुभयो ?
जनताले राहत पाएनन् । भन्दा भष्ट्राचार गर्दिनँ, गर्न पनि दिन्‍नँ भन्‍ने, सहन्‍न भन्‍ने । सुखी नेपालीको नारा ल्याउने तर, जनता झन् झन् दु:खी हुने, भ्रष्टाचारीहरूले तपाईँलाई घेरेका छन् भनी ध्यानाकर्षण पनि गरायौँ । तर, उहाँहरू सुध्रिने कुनै लक्षण देखिएन । 

त्यसपछि पार्टी गठन गर्ने निष्कर्षमा पुग्‍नुभयो ? 
हो, हामी जनतामाझ पनि पुग्यौँ । हिमाल, पहाड र तराईमा अन्तर्क्रिया गयौँ। अब नेपाली नागरिक सचेत हुनुपर्छ । विवेकी हुनुपर्छ । नेपालमा के भइरहेको बुझ्नुपर्छ । त्यहीअनुसार शान्तिपूर्णरूपमा यसलाई ‘लिड’ गर्नुपर्छ भन्‍न लाग्यो । जनताले पनि हामीलाई यसरी अभियानले केही हुनेवाला छैन भने । कसैले सुन्दैन भने । तपाईँँहरू राजनीतिक क्षेत्रमा आउनुस् । त्यो कुर्सीमा बस्नुस् । कुर्सीमा बस्न सक्नु भएन भने केही पनि गर्न सक्नुहुन्‍न भन्‍ने हौसला र सुझाव आयो । हाम्रो टिमले पनि अब हामी राजनीतिक शक्तिमा आएर उहाँहरूलाई विस्तापित नगरीकन यो राष्ट्रमा सुशासन आउँदैन भन्‍ने ठम्याइँ गर्‍यौँ । तीन करोड जनताको पनि त्यो ठम्याइँ भएकाले पार्टी निर्माणको चरणमा पुग्यौँ । 

जुन पुष्ठभूमि सुनाउनुभयो नि त्यो जागिरे जीवनदेखिकै हो कि पछि मात्रै अनुभव गर्नुभएको ? 
जागिरे जीवनमा त प्रशस्तै अनुभव गरियो । जागिरे जीवनमा प्रमुख नै हुन्छु र ठूलो परिवर्तन ल्याउँछु भन्‍ने थियो । मैले रोडम्याप पनि तयार गरेको थिएँ । कुशासनकै कारणले टपमा पुग्‍न सकिएन । जागिरमै हुँदा देखिनै राजनीतिका राम्रा राम्रा मान्छेसँग अन्तर्क्रिया हुन्थ्यो । मैले भन्‍ने गरेको थिएँ । जुनसुकै पार्टीमा भए पनि राम्रा रामा मान्छे जुनसुकै वादका भए पनि एक ठाउँमा उभिनुपर्छ है । बेइमानहरू, अपराधिक मनोवृतिका मान्छेहरू एकै ठाउँमा उभिने, उनीहरूको नेटवर्क राम्रो हुुँदो रहेछ । तर, असल मान्छेहरू छरपस्ट हुँदा रहेछन् । राम्रा मान्छेहरू एक ठाउँमा उभिनुपर्छ र एउटा नयाँ शक्तिमा जानुपर्छ भन्‍ने कुरा मेरो गोप्यरूपमा उहाँहरूसँग छलफल हुन्थ्यो । 

जसको तपाईँले कुरा गरिरहनु भएको छ तिनका देशभरी संगठित कार्यकर्ता छन् । त्यसलाई नतोडी राजनीतिकरूपमा अगाडि बढ्न गाह्रो छ । नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुग्‍नुअघि आफैँले आफैँलाई केही प्रश्न गर्नु भयो ? यो बाटो सजिलो छैन भनेर ?

एकदमै गरेको छु । व्यक्तिगतरूपमा मलाई केमा फाइदा हुन्थ्यो भने उहाँहरूमै (कांग्रेस/कम्युनिस्‍ट) लम्पसारवाद गरेर एस म्यान/ओमेन भएर मूलधारका भनिएका पार्टीमा गए फाइदै हुन्थ्यो । 

त्यो ‘अफर’ पनि उनीहरूले गरे होलान् । अथवा यहाँले चाहेको भए त्यो गाह्रो कुरा थिएन । त्यता गएको भए पद वा पावर दुवै पाइन्थ्यो । किन नयाँ खोल्ने झन्झट गर्नुभएको ?
प्रशस्त अफर आए, आइरहेका पनि छन् । आउनुस् छलफल गरौँ कहाँ सुशासन पार्टी बनाउनुभएको भनिरहेका छन् । मेरो जवाफ के रह्यो भने, तपाईँंहरू गिरोहबाट सञ्चालित हुनुहन्छ । सिध्रिनु हुन्‍न । त्यसकारण म आउँदिनँ, हामी आउँदैनौँ ।’ अनि उहाँहरूले भन्‍नुहुन्छ ‘फोहोरको पोखरीमा आएपछि सफा गर्न सकिन्छ ।’ म भन्छु, ‘तपाईँहरू उपचार गरेर पनि सुध्रिनु हुन्‍न । त्यसकारण आइँदैन । हो हाम्रो यात्रा एकदमै चुनौतीपूर्ण छ । किनभने उनीहरूको नेटवर्क छ । हामी शून्यबाट सुरु गरेका छौँ । तर, सम्भव छ । 

सय बढी पार्टी पनि आयोगमा दर्ता छन् । दुई/चार वटाबाहेक दल कार्यालयको बोर्ड झुण्ड्याउने र प्रमाणपत्र बोकेर हिँड्नेमात्रै छन् । सीमित पार्टीको रजगज नेपाली राजनीतिमा छ, त्यो नेटवर्क तोड्ने आधार केके हुन त ?

नम्बर एक आधार जनता बेवकुफ छैनन् । विवेकी छन् । नेपाली नागरिक सचेत छन् । यी पापीहरूलाई विवेकी नागरिकले भोट हाल्दैनन् । म गाउँ-गाउँमा जाँदाखेरी पनि सामान्य मान्छेलाई पनि के थाहा छ भने हाम्रो भोटले यिनीहरूले लुटे । एक पटक आउँछन् दुई/तीन हजार दिएर मासु भात खुवाउँछन् ।

नेपाल प्रहरीमा २९ वर्ष जोगिएर मूल नीतिमा आएको छु । अब मेरो बाँकी जीवनमा नेपाल आमा र नेपाली जनतालाई धोका दिन्‍नँ ।

हाम्रो भोट किन्छन् र पाँच वर्ष हराउँछन् । दुःख सुखमा साथ दिँदैनन् । देशलाई कंगाल बनाउँछन् भन्‍ने ७७ जिल्लाकै जनताले थाहा पाइसके । त्यो हिसाबले जनताले विवेक प्रयोग गरेर उनीहरूलाई विस्थापित गर्नुहुन्छ भन्‍नेमा म विस्वस्त छु । 

यस्ता प्रयोग त अरुले पनि गरे । विभिन्‍न नाममा राजनीतिक विकल्प दिने भनेर धेरै आए र हराए । जनताले पत्याएनन् । अरुले गलत गरेमात्रै भनेर जनताले पत्याउँछन् ?
म ‘टेस्टेड’ मान्छे हुँ । जनताले मलाई परीक्षण गरिसकेका छन् । मैले नेपाल प्रहरीमा २९ वर्ष जागिर गर्दा यति ‘टेनटेसन’ भयो बदमासी गर्न, अपराध र तस्करीसँग मिलोमतो गर्न । त्यसबाट त म जोगिएर म मूल नीतिमा आएँ । मलाई जनताले विश्वास गर्नुस् । प्रहरीमा त्यत्रो वर्ष जोगिएर आएँ । अब मेरो बाँकी जीवन नेपाल आमा र नेपाली जनतालाई धोका दिन्‍नँ । मेरो जीवनको बढीमा १० वर्ष म सक्रिय रँहुला । म धोका दिन्‍नँ । मेरो टिमले धोका दिँदैन् विश्वस्त गाउन चाहन्छु । गराउन सबैले गराइरहेका छन् । तर, अब नझुक्किनुस् । म  ग्यारेन्टी दिन्छु । नेपाल आमाप्रति गद्दारी गर्दिनँ । 

१० वर्षमै जनताले साथ दिन्छन् र देश बदली हाल्छु भन्‍ने हो ?
१० वर्ष होइन, अबलगत्तै चुनाव आउँदैछ । चुनावमा तपाईँँहरूले विवेक प्रयोग गर्नुस् । अब त्यस्तो व्यक्तिलाई कुर्सीमा पठाउनुस् जसले तपाईँँलाई र नेपाल आमालाई दोहन नगरोस् । नेपाल आमाप्रति अन्याय नगरोस् । पाप नगरोस् । नातावाद क्रिपावादमा नलागोस् । लम्पसारवादमा नपरोस् । भागवण्डामा विश्वास नगरोस् । भ्रष्टाचार नगरोस् । 

कोही व्यवस्था खराब भन्छन् । कोही व्यवस्थाभित्रका अव्यवस्थाले देश बिग्रिएको हो भनेर तर्क गर्छन् । तपाईँहरूको ठम्याइँ के हो ? 
मुख्य कुरा कुनै पनि व्यवस्था आफैमा पूर्णतः खराब हुँदैन । केही न केही गलत हुन सक्छ । जस्तै नेपालमा  आठ/नौ सय सांसद, यत्रा मन्त्री किन चाहियो ? सात प्रदेश किन चाहिँयो ? यस्ता कुराहरू चाहिँ हटाउनुपर्छ ।

कुनै पनि व्यवस्था आफँैमा पूर्णतः खराब हुँदैन । तर, नेपालमा  संघ-प्रदेश गरी ८ सय ८४ जना सांसद, यत्राविधि मन्त्री किन चाहियो ? सात प्रदेश किन चाहिँयो ? स्थानीय तहमा इमान्दार र निष्ठावान व्यक्ति हुने हो भने देश पाँच वर्ष स्वर्ग हुन्छ ।

प्रदेश संरचना खारेज गर्नुपर्छ भन्‍ने तपाईँको आशय हो ?
बिल्कुल हो । नेपालमा किन चाहियो सात प्रदेश ? स्थानीय तहलाई सशक्त बनाऊ । प्रदेशको बिचौलिया किन चाहियो ? सांसद, मन्त्रीलाई दिने खर्च सिँधै स्थानीय तहलाई दिने हो भने र स्थानीय तहमा इमान्दार र निष्ठावान व्यक्ति हुने हो भने यो देश पाँच वर्ष स्वर्ग हुन्छ । अहिलेकै ‘कन्डिसन’मा पनि धेरै परिवर्तन ल्याउन सकन्छ।

प्रदेश खारेजीको कुरा गर्दा त फेरि व्यवस्था विरोधी भन्‍ने आरोप लाग्ला नि ! खेप्न तयार हुनुहुन्छ ? 
सत्य कुरा सत्य नै हो । यसमा परिवर्तन गर्नुपर्छ । विकृति र विसंगति चाहिँदैन । म व्यवस्था विरोधी हो ? होइन । म व्यवस्था र राष्ट्रको विरोधी होइन । राष्ट्र र नेपाल आमालाई माया गर्ने मान्छे हो ।

अहिले भएकै व्यवस्थालाई सुधार गरेर देश बनाउन सकिन्छ भन्‍ने हो ? 
यसलाई ‘रिभिजिट’ गरेर, नचाहिने चिजलाई हटाएर धेरै राम्रो गर्न सकिन्छ । राजनीतिमा जाने मान्छे मेवा खान होइन सेवा गर्न जानुपर्‍यो ।

तपाईँँहरूको राजनीतिक गन्तव्य कता हो ? विचार, सिद्धान्त र उद्देश्य, कार्यनीति र कार्यदिशा के हो ?
सुशासन, मुख्य एजेण्डा हो । यी वादको पछि लागेर केही हुँदैन । वादको ‘डिस्कसन’ले केही हुँदैन । 

एउटा बाटो त चाहिएला नि त गन्तव्यमा पुग्‍न ? 
बाटो त चाहिन्छ । अहिले त उहाँहरूले झुक्याइरहनु भएको छ वादका नाममा । वाद एकातिर अनि काम कुसाशन गर्ने ? सुशानलाई मुख्य एजेण्डा बनाउने हो भने देश पाँच वर्षमा कहाँबाट कहाँ पुग्छ । 

राजनीतिकरूपमा विचार र सिद्धान्तविहीन भनेर अर्थ्याउलान् नि त तपाईँहरूलाई ? 
हाम्रो सिद्धान्त छ नि त नेपालवाद । आत्मनिर्भर हुने हो । परनिर्भर होइन । नेपालमै भएको सोत-साधनलाई प्रयोग गर्ने हो । नेपालमै जल, जमिन, जंगल, जडिबुटी र जनशक्ति हेर्नुस् त यसलाई प्रयोग गर्ने हो भने देश कहाँ पुग्छ ? तर, सुशासन कायम गरेर अगाडि बढ्नुपर्छ ।

त्यसो भए तपाईँ व्यवस्था विरोधी होइन, व्यवस्थाभित्रका विकृति विरोधी हो ? 
हो । म व्यवस्था विरोधी विरोधी होइन । प्रजातन्त्रको हिमायती हो । प्रजातन्त्रविना केही पनि सम्भव छैन । 

तर, राजावादी भनेर आरोप लाउँछन् नि तपाईँलाई ? 
राजा ढलिसक्यो । राजालाई मौका थियो केही गर्न सक्नुभएन । अब राजसंस्थाको आवश्यकता छैन । फेरि जनताले चुनेको राजा/रानी बन्‍ने होइन, जनताले चुनेको मान्छे जनताको सेवक बनेर काम गर्ने हो । गोविन्द केसीजस्तो सेवक चाहियो । गोविन्द क्यारेक्टरका जनता त्यो ठाउँमा पुग्‍नुपर्‍यो । जसले सेवा गर्छ मेवा खाँदैन ।
 



Author

थप समाचार