वार्ता

इकागज संवादमा राजेन्द्रप्रसाद लिङ्देन

राप्रपाले परिवर्तनका लागि निर्वाचनबाट प्रतिस्पर्धा र शान्तिपूर्ण संघर्ष दुवै गर्छ

‘निर्वाचन आयोगले उठाएको प्रश्न संविधान विपरित छ’

पुष्पराज आचार्य |
माघ १५, २०७८ शनिबार १७:१० बजे

राजेन्द्रप्रसाद लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् । मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित लिङ्देन झापा–३ बाट निर्वाचित सांसदसमेत हुन् । लिङ्देनसँग स्थानीय निर्वाचनको रस्साकस्सी तथा निर्वाचन आयोगले राप्रपालाई विधान तथा झण्डा सच्याउन गरेको पत्राचारलगायतका विषयमा केन्द्रित रहेर पुष्पराज आचार्यले गरेको कुराकानीः  

सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजिरहेको छ । यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको दृष्टिकोण के हो ? 


स्थानीय तहको निर्वाचन संविधान अनुरुप हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । संविधानमा गाउँसभा/नगरसभाको अवधि समाप्त भएको मितिले ६ महिनाभित्र निर्वाचन हुनुपर्छ भनेको छ । यो भनेर फेरि स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर कर्मचारीबाट चलाउने भन्ने कुरा हामीलाई मान्य छैन । एक दिन पनि स्थानीय निकाय जनप्रतिनिधिविहीन राख्नु हुँदैन । स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर त्यो रिक्ततामा कर्मचारीबाट मात्र चलाउन खोजियो भने दुर्भाग्य हुन्छ । 

सत्ता गठबन्धनले स्थानीय निर्वाचन ऐन संशोधन प्रक्रिया अघि बढाउने भनेको छ । पाँच वर्षमा निर्वाचन गर्नुपर्ने हुँदाहुँदै फेरि कानुनी छिद्र खोजेर ऐन संशोधन गर्न खोज्नुको के अर्थ रह्यो र ? 

संविधानले पदावधि सकिएको ६ महिनाभित्र भनेको छ भने स्थानीय तह निर्वाचन ऐन, २०७३ ले पदावधि सकिनु दुई महिना अघि नै निर्वाचन गर्नुपर्छ भनेको छ । त्यसले एउटा विरोधाभास सिर्जना गर्‍यो । संविधानमा र ऐनमा आपसमा नमिलेका कुरा छन् भने त्यो त संविधान अनुरूप मिलाउनुपर्छ । तर फेरि ऐन संशोधन गर्ने नाममा आफू अनुकूल कर्मचारी खटाएर त्यसबाट चलाउने भन्ने मनसाय हो भने त्यो गलत छ । 

अब २०७९ मा त संघ र प्रदेशको पनि निर्वाचन गर्नुपर्नेछ । फेरि यही बेलामा निर्वाचन आयोगले यहाँहरूको विधान र झण्डा संविधानका प्रावधान विपरित भएको भन्दै सच्याउन भन्दै पत्राचार गरेको छ । यहाँहरूले पनि झण्डा र विधान परिवर्तन गर्नुहुन्छ ? 

खासगरी निर्वाचन आयोगले हामीलाई पठाएको पत्र संविधानको मर्म र भावनाविपरीत छ । त्यसमा हामीले निर्वाचन आयोगले भनेको ढंगमा संशोधन गर्ने, हाम्रो राजनीतिक दर्शन/मान्यता परिवर्तन गर्ने भन्ने हुँदैन । हामीले निर्वाचन आयोगमा पेस गरेको विधान पूर्णतः संविधानसम्मत छ । संविधानको दल दर्ता सम्बन्धी धार २६९ र २७० तथा प्रस्तावनाको मर्म र भावना अनुरूप छन् । हाम्रो विधानको प्रस्तावनामा उल्लेख भएका यी विषयहरू संविधान अनुरुप नै भएकाले यसलाई परिवर्तन गर्ने भन्ने सवाल नै आउँदैन । हामी निर्वाचन आयोगलाई यही लेखेर पठाउँछौं । 

झण्डामा अंकित राष्ट्रिय चिन्ह (गाई) हटाउन भन्नुमा के अस्वभाविक भयो र ? 

झण्डामा उल्लेख भएको गाई हामी किन परिवर्तन गर्दैनौं भने हामीले यही झण्डा लिएर पटक–पटक निर्वाचन लडेका छौं । त्यहीं विधान अन्तर्गत दर्ता भएको पार्टीको प्रतिनिधिको हिसाबले मैंले संसद्मा प्रतिनिधित्व गरिरहेको छु । कयौं स्थानीय तहमा त्यही विधान र झण्डा प्रयोग गरेर निर्वाचन लडेका साथीहरू हुनुहुन्छ ।

गणतान्त्रिक व्यवस्था मान्छौं भनेर आइसकेपछि विधानमा संवैधानिक राजतन्त्र राखिराख्न कहाँ पाइन्छ  । संवैधानिक राजतन्त्रबाट त्यत्रो आन्दोलन र जनताको मागबाट गणतान्त्रिक व्यवस्थामा ‘डिपार्चर’ भएको होइन ? 

गणतन्त्रात्मक व्यवस्थामा नै त राख्न पाइन्छ । जनतालाई चित्त नबुझेको कुरा बोल्न पाइने, आफ्नो कुरा प्रष्टसँग राख्न पाइने भनेकै त गणतन्त्रमा हो नि ! राजासहितको प्रजातन्त्र र हिन्दू धर्म हाम्रो पार्टीको मूलभूत मान्यता हो । हिन्दू धर्मको विषय त संविधानमा उल्लेख भएको धर्म निरपेक्षताको स्पष्टीकरण खण्डमा उल्लेख भएको व्यवस्था अनुसारकै हो । त्यहाँ सदियौंदेखि चलिआएका सनातन धर्मको संरक्षण गर्ने विषय उल्लेख छ । 

निर्वाचन आयोगले अहिले यहाँहरूको विधान, झण्डाको सवाल किन उठाएको होला ? 

किन उठायो भनेर केही समयपछि आफैं प्रष्ट भैहाल्छ । अहिले निर्वाचन आयोगले उठाएको प्रश्न संविधान विपरित छ ।

अहिले राप्रपाले राजतन्त्र र हिन्दू धर्मका सवालमा जनमत संग्रहको माग गर्दै आएको छ । गणतन्त्रात्मक व्यवस्थामा राजतन्त्रबारे, धर्मबारे जनमत संंग्रह हुने कल्पना गरिन्छ र ? 

कुनै पनि व्यवस्था जनतालाई मन परेन भने त्यसलाई परिवर्तन गर्न उनीहरू स्वतन्त्र छन् । अहिले राप्रपाले आम जनताको चाहना अनुरूप नै यी मुद्दा उठाएका हौं । जनताको चाहना अनुसार नै परिवर्तन हुन्छ भन्नेमा हामी विश्वस्त छौं । 

यहाँले ठूला दलहरूले भ्रष्टाचार गर्नेबाहेक केही गरेनन् भनेर आरोप लाइराख्नुभएको छ । त्यस्तो अवस्था छ र ? 

यो कुनै आरोप होइन । पछिल्लो ३० वर्षमा के भयो भन्ने त हाम्रो अगाडि छर्लंगै छ । त्यसकारण राप्रपाले परिवर्तनको नेतृत्व गरेको छ । अहिलेकै यथास्थितिमा रहने कि परिवर्तनको पक्षमा लाग्ने ? अब यथास्थितिमा रहने र यथास्थितिको अन्त्य चाहानेहरू हाम्रो नेतृत्वमा आउने अवस्था बन्दै गएको छ । अब ध्रुवीकरण तीव्र हुन्छ । लोकतन्त्रको नाममा अराजकतामा रमाउन चाहाने कि यो अवस्थालाई परिवर्तन गर्ने भन्नेमा हरेक पार्टीभित्र परिवर्तन पक्षधरहरू हाम्रो साथमा हुनुहुन्छ ।

यहाँले नेपाली कांग्रेसको महाधिवेशनको मञ्चबाटै नेताहरूको बारेमा दिएको अभिव्यक्तिलाई लिएर माओवादी केन्द्रका अध्यक्षले चित्त दुःखाई गर्नुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले त नयाँ–नयाँ बाच्छो हिंड्न जान्दैन भन्नुभयो ? 

उहाँहरूको कुरामा कुनै टिप्पणी गर्न चाहान्नँ । उहाँहरूले आफैंलाई राम्ररी बुझ्न र जनताको स्वतन्त्र दृष्टिकोण बुझ्न खोज्नुभयो भने थाहा पाइहाल्नुहुन्छ । 

विचार मिल्नेहरूसँग सहकार्य हुन्छ भन्नुभयो आगामी निर्वाचनमा कुन दलसँग यहाँहरूको सहकार्य हुन्छ ?

यो कुनै दल विशेषसँगको सहकार्यको कुरा होइन । विचार मिल्ने दल र समूहहरूबीच परिवर्तनका लागि सहकार्य हुन्छ भनेको हुँ । आवश्यकता र प्राथमिकता अनुसार कुनै दलसँग सहकार्य हुनै नसक्ने भन्ने पनि होइन । तर आगामी निर्वाचनमा सबै ठाउँमा आफ्ना प्रतिनिधि उठाउँछौं । 

होइन, परिवर्तनका लागि कि त निर्वाचनबाट विजय भएर आउनुपर्‍यो कि सडक संघर्ष गर्नुपर्‍यो,  होइन र ?

हामी सबै राजनीतिक दल र समूहहरूसँग एजेण्डामा सहकार्य गर्छौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन  र सडक संघर्ष दुवैमार्फत् परिवर्तनका एजेण्डा अघि बढाउँछ । हाम्रो सडक संघर्ष हिंसात्मक हुँदैन, शान्तिपूर्ण ढंगले हामी सडकबाट संघर्ष पनि गर्छौं, निर्वाचनबाट प्रतिस्पर्धा पनि गर्छौं । 

राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्नुभएको होइन र ? 

होइन । हामीले आफ्नै उम्मेदवार उठायौं । पूर्वमा हाम्रो आधार बलियो छ । निर्वाचनको परिणाम हाम्रो पक्षमा नभएपनि त्यहाँ हाम्रो उम्मेद्वारले राम्रो मत ल्याउनुभएको छ । 

यहाँले विचार मिल्ने शक्ति, समूहसँग सहकार्य गर्ने कुरा गर्नुभयो । तर सबैभन्दा पहिले त यहाँकै पार्टीमा निर्मल निवासबाट हस्तक्षेप भयो, अब राजालाई बोकेर नहिंड्ने भनेर कमल थापाले विरोध गरिरहनुभएको छ । यस्तो अवस्थामा त यहाँलाई पहिले आफ्नै दल मिलाउने चुनौती देखिन्छ नि ? 

हाम्रो पार्टीमा कुनै समस्या छैन । हाम्रा अग्रजहरूको मार्गदर्शन र सुझाव, सल्लाह अनुसार हामी अघि बढ्छौं, हाम्रो सम्पूर्ण प्रयास यसैमा छ । यहाँले जे सन्दर्भ उठाउनुभयो, त्यो त एउटा प्रवृत्ति हो, त्यो प्रवृत्ति जहाँकहीं पनि उद्घाटीत हुनसक्छ । जे कुराहरू बाहिर आएका छन्, अब त्यस खालको प्रवृत्ति अब हाम्रो पार्टीमा दोहोरिने छैन र दोहोरिन नदिन हामीले प्रयास गरेका छौं । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x