वार्ता

'हामी राउटे पनि सहरका नयाँ मान्छे भयौँ'

राष्ट्रपतिसहित ओली, प्रचण्डलाई भेटिसके, देउवा भेट्न पाएका छैनौँ

विष्णु विवेक |
फागुन २६, २०७८ बिहीबार १७:८ बजे

जंगलका राजा भनेर चिनिने राउटे समुदायका मुखिया पर्यटनसम्बन्धी औपचारिक कार्यक्रमको प्रमुख अतिथि बनेका छन् । बाँकेको नेपालगञ्जमा पहिलोपटक वेष्टर्न ट्राभल मार्ट कार्यक्रमको उद्घाटन बिहीबार राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले गर्न लागेका छन् । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर धवल समशेर राणा, पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मी, आयोजक नाट्टाका अध्यक्ष अच्युत गुरागाईँलगायत अथिति तथा विशेष अतिथि छन् । पश्चिम नेपालको सल्यान, जाजरकोट, दैलेखलगायतका जिल्लामा रहेका लोपोन्मुख राउटे समुदायको जीवनशैलीलाई पनि पर्यटनसँग जोड्ने उद्देश्यले मुखियालाई कार्यक्रमको प्रमुख अतिथि बनाइएको हो । मेयर, पर्यटन बोर्डका सीइओलाई विशेष अतिथि बनाएर राउटे मुखियालाई प्रमुख अतिथि बनाउनु राउटेको जीवनशैलीलाई आम चाँसोको विषयसँग जोड्ने र उनीहरूलाई पनि विस्तारै सामान्य जीवनशैलीतर्फ ल्याउन सहयोग गर्ने उद्देश्यले कार्यक्रमको प्रमुख अतिथि बनाइएको आयोजक नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए । उनका अनुसार सल्यानको राउटे बस्तीबाट मुखिया सुर्यनारायणसहित पाँच जना राउटेलाई कार्यक्रमका लागि कार चढाएर बाँकेको नेपालगञ्जस्थित सिद्धार्थ होटल ल्याइएको छ । राउटे आम मानिसहरूसँग सामान्यरूपमा कुरा गर्न चाहँदैनन् । अन्तर्वार्ताका लागि होटल स्टारलाइनको चौथो तला पुग्दा पनि उनीहरूले खुलेर कुरा गरेनन् । जति नै प्रश्न सोधेपनि उनीहरू छोटोमा उत्तर दिने । त्यसमाथि तीन चार शब्दभन्दा धेरै नबोल्ने उनीहरूको स्वभाव छ । आफ्नै धुनमा रमाउने राउटे खस भाषा बोल्छन् । तर उनीहरू सामान्य नेपाली भाषा भने बुझेर दोहोरो कुरा गर्छन्। सामान्य रूपमा खुलेर बोल्न पनि नचाहने राउटेलाई कार्यक्रमको प्रमुख अतिथि बनाएपछिको अवस्था, उनीहरूको जीवनशैली र सहरिया परिवेशबारे नेपालगञ्ज पुगेर विष्णु विवेकले मुखिया सुर्यनारायण शाहीसँग गरेको कुराकानीको सम्पादित अंशः

कार्यक्रमको प्रमुख अतिथि बनाउँदा कस्तो लागेको छ ? 
राम्रो छ । राम्रो लाग्यो । 


सल्यानबाट नेपालगञ्जसम्म कसरी आउनुभयो ?
सेतो गाडी (कार) पठाएका थिए । त्यसैमा चढेर आएका हौँ ।

जंगल छेउको आफ्नै बस्ती राम्रो कि यो होटलमा बस्दा राम्रो लाग्यो ?
राम्रो त सहर नै छ । तर हामीलाई आफ्नै बस्ती प्यारो हुन्छ ।

साथमा क–कसलाई ल्याउनु भएको छ ?
छोरी रैनालाई लिएर आएको छु । अर तीन जना राउटे पनि छन् । 

छोरीलाई नै किन ल्याउनु भएको हो ?
सहर देख्या छैन भनेपछि हिँड त भनेर ल्याएको हुँ । यो छोरी पहिलोपटक आएकी हो ।

छोराछोरी कति जना छन् ?
पाँच जना छन् ।

मन पराएर बिहे गर्नुभएको थियो कि आमाबुवाले गराईदिनु भएको हो ?
आमाबुवाले गराइदिनुभएको हो । 

सबैभन्दा राम्रो सहर कुन लाग्यो ?
सबभन्दा राम्रो काठमाडौँ । झिलिमिली हुने । साह्रै राम्रै लाग्यो । नेपालगञ्ज पहिला पनि आएको थिएँ । काठमाडौँ, पोखरा र बुटवल पनि पुगेको छु ।

आफ्नो घरको खाना मिठो कि सहरको खाना ?
खाना त यहाँ सहरकै राम्रो । घरमा कहाँ त्यति मिठो पाउनु ।

घरमा के के खाना खानुहुन्छ ?
त्यही दाल भातै हो खाने त ।

अनि रक्सी पनि खाउनुहुन्छ यहाँ ?
पाए त खान्छौँ । 

कस्तो रक्सी खानुहुन्छ ? कुन रक्सी भन्ने थाहा छ ?
अब उता (सल्यानमा) त झोल (लोकल रक्सी) खान्छौँ । अब यहाँ जुन भएपनि खान्छौँ । (उनीहरू होटलका वेटरसँग रक्सी मागिरहेका थिए ।)

अब तपाईंलाई पनि बिस्तारै सहर राम्रो लाग्न थाल्यो हो ?
हामी पनि सहरका नयाँ मान्छे भयौँ । सहर राम्रो लाग्न थालेको छ । 

कुनै बेला राजासँग सिधै भेट्ने तपाईहरूले काठमाडौँ पुगेर कुन कुन नेतालाई भेट्नु भयो ?
प्रचण्डलाई भेटेको छौँ । बाबुराम (भट्टराई)लाई पनि भेट्यौँ । ओलीलाई पनि देखेका छौँ । देउवा (प्रधानमन्त्री शेरबहादुर देउवा)लाई भेट्न पाएका छैनौँ । 

अब प्रधानमन्त्री (देउवा)लाई भेटे भने के भन्न चाहनुहुन्छ ? 
हामीलाई खाने कुरा चाहियो । मेरा जनतालाई राम्रो व्यवस्था गरिदिनुपर्‍यो । सरकारले हामीलाई भत्ता दिनुपर्‍यो । यिनै कुरा सुनाउँछु ।

नागरिकता पाउनु भएको छ ?
नेपाली जनताले पाए भैगो । हामीले पाए बराबर हो ।

भत्ता पाउनलाई त पहिला नागरिकता लिनुपर्‍यो नि तपाईहरूले पनि ?
हामीले पढेका छैनौँ । नागरिकता हामीलाई चाहिँदैन । 

सरकारले दिएपछि त लिनुहुन्छ ?
सरकारले दिए त लिन्छौँ ।

अनि चुनावमा भोट हाल्नुहुन्छ कि नाइ ?
हाल्दैनौँ ।

भत्ता पाउनलाई, राम्रो व्यवस्थापन हुनलाई त पहिला भोट हाल्नुपर्ने होला नि ?
हामी भोट हाल्दैनौँ । चुनाव हामीलाई चाहिँदैन ।

नेपाली नागरिक भइसकेपछि त भोट हाल्नुपर्ने तपाईको अधिकार पनि हो नि ?
हामी नपढेकालाई के थाहा । त्यसो पनि हालौँला ।

तपाईं त पढ्न पाउनु भएन, छोराछोरीलाई पढाउनुहुन्छ ?
हामी कसैलाई पढाउँदैनौँ । हामीलाई हाम्रै जंगल ठीक छ । हामीलाई पढ्नु पर्दैन ।

यदि तपाईंका छोराछोरी पढ्न चाहनुभयो भने ?
अहिले छैन । पढ्न चाहे पढाउँला ।

पढाउनुहुन्छ ?
अँ पढाउँला । तर अहिले पढ्नु पर्दैन ।

अन्तिममा जंगल छेउमै बस्ने कि सहरतिरै आएर बस्न मन छ ?  
हामीलाई उतै (सल्यानमै) ठीक छ । हामी जंगलका राजा हौँ । जंगल छाड्दैनौँ । 


 


Author

विष्णु विवेक

राजनीति, समाज, शिक्षा, पर्यटन लगायत समसामयिक विषयमा कलम चलाउने विवेक करेस्पोन्डेन्ट हुन् ।


थप समाचार
x