वार्ता

पार्टीलाई असहयोग गर्ने जगन्नाथजीको कुनै नियत छैन

इकागज |
बैशाख १५, २०७९ बिहीबार १२:२ बजे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ अहिले गृहमन्त्री बालकृष्ण खाँडसहित भरतपुरमा छन् । भरतपुरमा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फिर्ता गराउने विषयमा छलफल चलिरहेको छ । श्रेष्ठ स्थानीय निर्वाचन मनोनयनका समयमा गठबन्धनका उम्मेदवार मिलाउन कांग्रेसको प्रतिनिधित्व गर्दै एक साता भरतपुर बसेका थिए । चितवनलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका श्रेष्ठ जिल्लाका सबै पालिकामा उम्मेदवारी सन्तुलित ढंगले व्यवस्थापन गर्न सफल भएपनि भरतपुरमा वागी उम्मेदवारीले लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई केही खल्लो बनाएको बताउँछन् । उनले पौडेलले स्वतन्त्र उम्मेदवारी फिर्ता लिने विषयमा छलफल सकारात्मक भएको बताएका छन् । श्रेष्ठसँग इकागजले गरेको कुराकानीः 

स्थानीय निर्वाचनको सरगर्मी सुरु भएको छ । नेपाली कांग्रेसले गठबन्धन भनेर सबै ठाउँमा उम्मेदवारी पनि दिएन । उम्मेदवारी नै नदिएपछि कांग्रेस त खुम्चियो नि, होइन ? 


अहिलेको परिवेश, राजनीतिक अवस्था, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन बनेको हो । पूर्ववर्ती सरकारले लोकतन्त्र र संविधानमाथि आक्रमण गरेपछि लोकतान्त्रिक शक्तिहरू एक भएर नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बनेकाले हाम्रो लक्ष्य र उद्देश्य एउटै छ । सबैले बुझ्न जरुरी छ, संविधान र लोकतन्त्रको रक्षा तथा देशको समृद्धि र विकासका लागि नेपाली कांग्रेसको नेतृत्वको सरकार अपरिहार्य छ । यसमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दृष्टिकोण स्पष्ट छ । यसअघि २०७४ सालमा ‘दुई भर्सेस एक दल’ जसरी नेपाली कांग्रेस चुनावी मैदानमा आउँदा ठूलो पराजय व्यहोर्नुपर्‍​यो । त्यसकारण अहिलेको अवस्थामा लोकतान्त्रिक गठबन्धनको विकल्प छैन । विकल्प नभएकै कारण देशभर गठबन्धन गरेर उम्मेदवार उठाइएको हो । गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस सबैभन्दा पुरानो, लोकतान्त्रिक र धेरै शुभेच्छुक भएको पार्टी हो । यहाँ धेरै लामो समयदेखि काम गरेका नेता तथा कार्यकर्ताहरू हुनुहुन्छ; त्यसकारण उहाँहरूले गठबन्धन हुनुहुँदैन र नेपाली कांग्रेसले एक्लै निर्वाचन लड्नुपर्छ भनेर भन्नु स्वभाविक हो । तर, अघिल्लो निर्वाचनमा वाम गठबन्धनले ल्याएको परिणामलाई समेत हेरेर पार्टीलाईलाई बलियो बनाउने गरी जानुपर्छ । पार्टीमा हामी आस्था र निष्ठाले काम गर्छौं, कहिलेकाहीं आवेगमा निर्णय लिएर स्वतन्त्रमा उम्मेदवारी हाल्नुभएको भएपनि सम्झाएर हामी फिर्ता गराउँछौं । वागी उठ्नु भनेको पार्टीको निर्णयलाई असहयोग गर्नु हो, पार्टीको इमानदार कार्यकर्ताले पार्टीलाई अप्ठेरोमा पार्ने असहयोग गर्ने काम गर्दैनन् । भावनात्मक आवेगमा उम्मेदवारी आएपनि त्यसलाई फिर्ता लिन पार्टीको अनुरोध नमान्ने भन्ने हुँदैन ।

महानगरमा खासगरी भरतपुरमा कांग्रेसका बागी उम्मेदवारका कारण गठबन्धन धरापमा पर्ला भनेर यहाँहरू चितवन आउनुभएको हो ? 

चितवन जिल्ला राजनीतिक रूपमा सचेत जिल्ला हो । ७५ जिल्ला हुँदा यसलाई ७६औं जिल्ला भन्थे । अहिले ७७ हुँदा चितवनलाई ७८औं जिल्ला भन्छन् । जीवनभर कांग्रेस भएर काम गरेका पार्टीहरू छन् । यसअघि गठबन्धनका नाममा माओवादीको उम्मेदवारलाई छोड्यौं, अब कांग्रेसले पाउनुपर्छ भन्नुहुन्छ । केन्द्रीय सदस्यदेखि प्रतिनिधिसभामा सांसद भैसकेका व्यक्तिले आवाज उठाउनुभएको हो । तर अहिलेको परिस्थिति फरक स्थिति हो भनेर मैले अगाडि पनि भनें । ६ महानगरमध्ये ३ महानगरमा त कांग्रेसकै उम्मेदवार छन्, त्यो पनि त हेर्नुपर्छ । सबै ठाउँमा कांग्रेसले दाबी गरेर हुँदैन । साथीहरूमा स्वभाविक आवेश र आक्रोश छ, तर पार्टीको अनुशासन मान्नुपर्छ । सभापतिले जे भन्नुभएको छ, सबैले सहयोग गर्नुपर्छ । यसअघि पनि म झन्डै एक साता बसेर साथीहरूलाई सम्झाएको हुँ । वडादेखि पालिकासम्म धेरै उम्मेदवार हुन चाहानुभएको थियो, टिकट बाँड्न असाध्यै गाह्रो थियो । हामीले धेरै व्यवस्थापन गर्‍यौं । तर भरतपुरमा जगन्नाथजी मान्नुभएन र स्वतन्त्र उम्मेदवारी दिनुभयो । जगन्नाथजी विद्वान हुनुहुन्छ, पहिले नै सांसद भैसकेको व्यक्ति बुझ्नुहुन्छ भन्ने लाग्छ । मैले पार्टीमा माथिल्ला नेताहरूलाई पनि भनें र गृहमन्त्री यहीं उहाँलाई सम्झाउन आउनुभएको छ । अब उहाँले स्वतन्त्र उम्मेदवारी झिक्नुहुन्छ । अब ज–जसले टिक पायौं, मिलेर जाने हो ।

भरतपुरमा गृहमन्त्रीलाई त लिएरै आउनुभयो, सभापतिको सन्देश लिएर आउनुभएको तपाईंहरू ? 

सभापतिले नभने पनि मेरो कार्यक्षेत्र हो । यो भन्दा अघि पनि म आफैं बुझेर आएको हुँ । साथीहरूसँग अन्तक्र्रिया गरें । सबै पालिकामा व्यवस्थित ढंगले उम्मेदवार उठायौं, भरतपुरमा समस्या आएपछि मैंले माथिका नेताहरूकहाँ गएर उहाँलाई सम्झाउँ भनेको हुँ । सबै पालिकामा राम्रा मान्छेलाई ल्याउँ, लोकतान्त्रिक शक्तिलाई जिताऔं भन्न गएको हुँ । त्यसमा धेरै हदसम्म सफलता प्राप्त भएको छ । 

नेपाली कांग्रेसले गरेको गठबन्धनले अपेक्षित परिणाम देला त ? 

के भएर हो अहिले धेरैमा आक्रोश र आवेग देख्छु । वास्तवमा राजनीति त सेवा हो, यो कुनै पेशा र व्यवसाय त होइन नि ! स्वतन्त्र उम्मेदवार पनि धेरै ठाउँमा उठेको देख्छु । भोलि सरकार राम्रोसँग सञ्चालन गर्ने हो भने तीनै तहमा लोकतान्त्रिक शक्तिले जित्नुपर्छ । अब लोकतान्त्रिक गठबन्धनका लागि आधार (फाउन्डेसन) भनेकै स्थानीय सरकार हुन् । अब लोकतान्त्रिक शक्ति सबैको अभियान नै गठबन्धनका उम्मेदवारलाई जिताउनेमा हुनुपर्छ । 

तर नेपाली कांग्रेसको केन्द्रीय समितिले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने भनेकाले पनि धेरैको बुझाइमा फरक देखिन्छ ? 

अहिले परिपाटी नयाँ बनाएको हो । वडामा क्षेत्रीय सभापतिहरूलाई निर्णय गर्न अधिकार दिएको हो । पालिकाको जिल्ला, नगरपालिकाका विषयमा प्रदेश समितिले र महानगरमा मात्र केन्द्रीय समितिले हेर्ने भनिएको हो । त्यसकारण प्रणाली बसोस भनेर भनिएको हो । मापदन्ड बनाएर, अब्बल व्यक्तिलाई टिकट दिएर पार्टीभित्र सबैका लागि स्वीकार्य नेतृत्व निर्माण हुनेगरी जानुपर्छ भन्ने नै थियो । अहिले जनगुनासो धेरै छ, त्यसको सुनुवाई पनि हामी निर्वाचन पछि गर्छौं । अहिले टिकट दिने सवालमै पनि केन्द्रबाट धेरै लादिएको पनि छैन । 

खासगरी स्थानीय तहमा एमालेले कांग्रेसका नेताहरूलाई उरालेकोले पनि कांग्रेसमा धेरै ठाउँमा विद्रोह र आक्रोश व्यवस्थापनमा समस्या आएको देखिन्छ नि !

नेपाली कांग्रेसका साथीहरूले निर्वाचनमा विभिन्न हत्कन्डा हुन्छन् भन्ने बुझ्नुपर्छ । हामी सबै नेता र कार्यकर्ता मतदाताकहाँ गएर जसले टिकट पाएको छ, उसलाई जिताउन लाग्नुपर्छ । घरघरमा गएर कांग्रेसलाई विजयी गराउने, लोकतान्त्रिक शक्तिलाई विजयी गराउने उहाँहरूको जिम्मेवारी हो । अब अर्कोले के भन्यो र उराल्यो भनेर दोष दिने काम छैन । कांग्रेसले त आफ्नो घोषणापत्र, आफूले गरेका कामहरू, कांग्रेसको विकास सोच र कांग्रेसको आवश्यकता किन छ भनेर सबै जनतालाई बुझाउन सक्नुपर्छ । सुदृढ र सबल ढंगले परिचालित भएर कांग्रेसको सरकारले जनताका आवश्यकतालाई सम्बोधन गर्छ भनेर आश्वस्त गर्नुपर्छ । 

गठबन्धनका सबै दलले जित्न सहज हुन्छ भनेर परिवारका सदस्यलाई टिकट दिलाएकोमा पनि आक्रोश छ नि ? 

जसले टिकट पाउनुभएको छ, उहाँहरूको योगदान अवमूल्यन गरेर पारिवारवाद भन्नु गलत हो । डेढ लाखमा १० जना कसैका नातागोता परे होलान्, तर नाता र परिवार भएर मात्र टिकट पाउनुभएको होइन ।

स्थानीय सरकार त बहुमत पुर्‍याएर बनाउनुपर्ने होइन, कम्युनिष्ट पार्टीहरू फुटेको अवस्थामा त कांग्रेसलाई झन् सहज थियो नि निर्वाचन जित्न ? 

बहुमत पुर्‍याउनुपर्ने सरकार त होइन । तर लोकतन्त्र र संविधानको रक्षाका लागि एक ठाउँमा उभिएका दलहरूलाई उपेक्षा गर्नुहुँदैन । फेरि सरकारका लागि बहुमत पुर्‍याउन नपरे पनि गाउँ/नगरसभाप्रति सरकार उत्तरदायी रहनुपर्छ । यसमा मिलेर नै काम गर्नुपर्छ । यो मूलतः लोकतन्त्र र संविधानको रक्षाको सवाल हो ।

२०७४ मा जस्तै फेरि पनि प्रदेश र संघीय निर्वाचनमा वाम गठबन्धन बन्ने सम्भावना पनि नकार्न सकिदैंन भनिन्छ । स्थानीय तहको निर्वाचनको परिणामले यो गठबन्धन टिकाउला त ? 

त्यो हुनुहुँदैन । यो गठबन्धन प्रदेश र संघको निर्वाचनमा पनि जान्छ । अहिले भएका कमजोरीलाई समेत सच्याएर अझै मजबुत गठबन्धन बनाउनुपर्छ । प्रदेश र संघको टिकट व्यवस्थापन स्थानीय तहमा जस्तो धेरै भद्रगोल हुँदैन । ७५३ स्थानीय तहमा समेत हामीले मिलाएर गयौं भने अब प्रदेश र संघको टिकट व्यवस्थापनमा त झन् समस्या हुँदैन । 

नेपाली कांग्रेस आफैंमा लोकतान्त्रिक पार्टी हो र पार्टी नेतृत्वले स्वतन्त्र उम्मेदवार र पार्टी निर्णय विपरित गएका स्थानीय नेता र कार्यकर्तालाई मिलाउनेभन्दा पनि पार्टीबाटै निष्काशन गर्ने सम्मको गतिविधि देखियो । लोकतान्त्रिक पार्टीले पनि यस्तो गर्न मिल्छ र ? 

यहाँले डडेलधुराका निवर्तमान जिल्ला सभापति कर्ण मल्लजीको कुरा गर्नुभएको होला । मल्लजी अहिलेमात्र होइन, धेरै अघिदेखि नै पार्टी सभापतिलाई लक्षित गरेर पार्टीका निर्णय विपरित उभिदैं आउनुभएको छ । मल्लजीका गतिविधि हेर्दा त पार्टी सभापतिले धेरै सहनुभयो जस्तो लाग्छ । लोकतान्त्रिक पार्टीमा आफ्नो कुरा दह्रोसँग राख्न सकिन्छ, त्यो पार्टीभित्र सीमित हुनुपर्छ । बाहिर त पार्टीको निर्णय अनुसार चल्नुपर्‍यो नि ! पार्टीमा न्यूनतम अनुशासन नराख्ने, पार्टी निर्णयविपरित गएर पार्टीलाई नै आघात गर्ने गतिविधि गर्नुहुँदैन । 


Author

थप समाचार
x