वार्ता

वडाध्यक्षका उम्‍मेदवार दावा लामाको चुनावी अजेन्डा :

उपचार नपाएर जनताले अकालमै ज्यान गुमाउनु पर्दैन, युवालाई रोजगारीको व्यवस्था हुन्छ

इकागज |
बैशाख २१, २०७९ बुधबार १०:३ बजे

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्‍बर ८ मा वडाध्यक्षका उम्मेदवार हुन् दावा लामा (तामाङ) । नेकपा माओवादी केन्द्रबाट उम्‍मेदवार बनेका उनी युवा छन् । आफूसँग गाउँ विकास गर्न सक्‍ने क्षमता रहेको बताउने तामाङसँग इकागज गरेको कुराकानी :

वडाध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
यसभन्दा अघिका जनप्रतिनिधिले यहाँ खासै विकास गरेनन् । जनतालाई आश्वासन मात्र दिए, काम गरेनन् । विकासको हिसाबले हाम्रो वडा अलि पछि नै छ । हाम्रो वडालाई राम्रो बनाउनु छ । म केही गर्न सक्‍छु भनेर नै वडाध्यक्षमा उम्मेदवारी दिएँ ।


तपाईंलाई नै किन भोट दिने ?
म युवा हुँ । मसँग केही गर्न सक्‍ने जोश, जाँगर र केही गर्न सक्‍ने क्षमता छ । यहाँका स्थानीयलाई राम्रोसँग थाहा छ म कस्तो छु भनेर । म यहाँको जनताको दु:खमा सधैँ साथ नै छु । सधैँ जनताको दु:ख सुखमा गाउँमै छु । यहाँ गफ होइन काम चाहिएको छ । म गफभन्दा जनताको काममा बढी फोकस हुन्छु । यहाँ विकास चाहिएको छ । यो ठाउँमा विकास गर्न म सक्‍छु । यहाँ खानेपानी, बाटो, सिंचाइलगायतको समस्या छ । मैले जितेँ भने यहाँका हरेक घर पानीको समस्याबाट मुक्त हुन्‍छन् । सबै टोलमा बाटो पुग्छ ।

तपाईंका अजेन्डा के-के छन् ?
यहाँ काठमाडौँ बराबरको मन्टेश्वरी सञ्‍चालन गर्नुछ । ताकि यहाँका बालबालिकाले राम्रो पढ्‍न पाउन् । यहाँका स्थानीयको कक्षा १२ सम्‍म नि:शुल्क शिक्षा हुनेछ । किसान समुदाय र वर्गलाई समृद्ध बनाउने र सुखी बनाउनुछ । सडक सबै ठाउँमा पुगेको छैन । सडक नपुगेको ठाउँमा पुर्‍याउने र सडक पुगेको ठाउँमा स्तरउन्नती गर्नुछ । यहाँको स्थानीयलाई स्वास्थ्य बीमा नि:शुल्क गर्छु । एउटा एम्बुलेन्स किन्छु । यहाँको जनता बिरामी हुँदा घरमै पुगेर नि:शुल्क रूपमा अस्पतालसम्‍म पुर्‍याउनेछ । उपचार नपाएर यहाँका जनताले अकालमै ज्यान गुमाउनु पर्दैन । धार्मिक हिसाबको कुरा गर्ने हो भने यहाँको तामाङ समुदायलाई गुम्बा र क्षेत्री-ब्राम्हन समुदायलाई मन्दिरको आवश्यकता छ । त्यसलाई पनि बनाउने प्रतिबद्धता गरेको छ । व्यवसायिक कृषि प्रणालीलाई व्यवस्थित गर्नुछ । शिक्षा, स्वास्थ्य क्षेत्र अझ मजबुत र व्यवस्थित ढंगले सेवा प्रवाह गर्नुछ ।

जनताले गाउँमा कस्तो विकास चाहन्‍छन् ?
सबैले चाहने सुख नै हो । गाउँमै राम्रो पढ्‍न पाइयोस् । गाउँमै राम्रो उपचार गर्न सकियोस् । सडक राम्रो होस् । आर्थिक अवस्थामाथि उठोस् भन्‍ने चाहन्‍छन् ।

तपाईंको वडामा के-के छन् समस्या ?
यहाँ सिचाईंको धेरै समस्या छ । सडक सबै ठाउँमा पुगेको छैन । जहाँ पुगेका छन् त्यो पनि गतिलो छैन ।

चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ, जित्ने आधार के के हुन् ?
विश्वस्त छु । यसअघिका जनप्रतिनिधि यहाँका जनताले भोगेका छन् । जनतालाई दिएको आश्वासन पूरा गरेका छैनन् । ममाथि यहाँका जनतालाई विश्वास छ । हिजो म जनप्रतिनिधि नहुँदा पनि यहाँका जनताको दु:खमा सहयोग गरेको छु । सकेको सहयोग गरेँ । यहाँको जनताको दु:ख बुझेको छु । त्यस्तै यहाँको युवाहरूले राम्रोसँग बुझेका छन् मैले रोजगार दिलाउन सक्‍छ भनेर । त्यसका लागि पनि उत्पादनसँग जोडिनुछ ।


Author

थप समाचार
x