अनियमितता

कर्मचारी र उपभोक्ता समिति मिल्दै सिँचाइमा भ्रष्टाचार

इकागज |
असोज ७, २०७९ शुक्रबार १७:११ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको एउटा सिँचाइ आयोजनामा सरकारी अधिकारी र उपभोक्ता समितिका अध्यक्षको मिलेमतोमा भ्रष्टाचार दाबीसहित संलग्नहरूविरुद्ध मुद्दा लगाएको छ ।

आयोगका अनुसार सुर्खेतको गुर्भाकोट–१० स्थित लामिताले मोटर सिँचाइ आयोजना छानबिन हुँदा गुणस्तरहीन सामान प्रयोग गरेका कारण आयोजना सञ्चालन आउन नसकेको र झूटा बिल पेस गरी भुक्तानी लिने/दिने काम भएको थियो ।


आयोजना नै पूरा नगरी नगरी झूटा बिल भरपाई बनाई भुक्तानी लिने/दिने कार्य गरी सिँचाइको कुलो निर्माणसमेत नगरी नगरेको दाबी आयोगको छ । आयोगले तत्कालीन गाउँ विकास समिति सचिवद्वय खड्कबहादुर रोकाय, देवीलाल सुनार, प्राविधिक सहायक खगेन्द्रप्रसाद उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्ती अभियोग लगाएको हो । सचिव रोकायविरुद्ध पुरानो पेस्की फर्छ्यौट नगरी नयाँ पेस्की दिएको अभियोगमा १ लाख ४८ हजार ५ सय रुपैयाँको अभियोग लगाएको छ ।

गुणस्तर सामानलाई निर्धारित गुणस्तरको भएको मूल्यांकन गर्ने सचिव सुनार, प्राविधिक सहायक उपाध्याय र उपभोक्ता समितिका अध्यक्ष घर्तीविरुद्ध ४ लाख ३८ हजार ५ सय रुपैयाँको दरले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा लगाएको छ । प्राविधिकलाई वास्तविक रूपमा फिल्डमा नभएको/नगरेको तथा पुरानो सामानहरूलाई नयाँ ल्याएको भनी नापी किताबमा चढाउन लगाई सामग्रीहरूको नक्कली बिल भरपाई तयार गरी उक्त कागजातहरू गैरकानुनी लाभ लिने बदनियतपूर्ण काम गरेको दाबी आयोगको छ ।


Author

थप समाचार
x