इतिहासकारको अलिखित इतिहास
ऋण राजपरिवारले होइन, सर्वसाधारणले मात्र पाउनुपर्ने अडान लिएपछि दसैँको तीन दिनअघि जागिर खोसियो
नेपालको आर्थिक इतिहास र भूमि अर्थव्यवस्थाका बेजोडा विद्वान् महेशचन्द्र रेग्मीलाई म उहाँको संस्था रेग्मी रिसर्च प्रालिमा काम गर्न जानुअघि चिन्दिनथेँ । त्यो समयमा महेशचन्द्र रेग्मीकहाँ काम गर्न जानु मेरा लागि एउटा संयोग पनि थियो । मलाई त्यहाँसम्म डोर्याएर पुर्याइदिने मेरा मित्र एवम् सहपाठी पुष्करप्रसाद राजभण्डारी थिए । उनी पनि मसँगै त्यही वर्ष युनिभर्सिटी पढ्न गएका भए सम्भवतः मेरो पढाइ उतै तन्किने थियो होला । अर्थात्, मेरो पढाइमा निरन्तरता पनि हुने थियो होला । म पढाइ छोडेर जागिर खोज्नेतिर लाग्ने मनस्थितिमा हुन्नथेँ कि !
तिनताका स्नातकोत्तर स्तरको पढाइ कीर्तिपुरमा मात्र हुथ्यो र कीर्तिपुर क्याम्पसलाई युनिभर्सिटी मात्र भन्ने गरिन्थ्यो । प्रायः सबै विभागमा खचाखच विद्यार्थी हुने भए पनि अंग्रेजी विभाग भने सुनसान जस्तै हुन्थ्यो । त्यो वर्ष मसमेत ११ जना अंग्रेजी साहित्य विभागमा भर्ना भएका थियौँ ।
पछि कालान्तरमा उपकुलपति नियुक्त हुनुभएका सूर्यबहादुर शाक्य अंग्रेजी विभागको प्रमुख र युनिभर्सिटी कलेजको प्रिन्सिपल पनि हुनुहुन्थ्यो । तेस्रो श्रेणी आउला भन्ने त्रासले हो वा किन हो हरेक वर्ष अंग्रेजी विभागमा विद्यार्थीको संख्या बिस्तारै पातलिँदै जान्थ्यो ।
मैले पनि आफ्नै कारणले पहिलो वर्ष अर्थात् एमए प्रिभियस नसक्दै जागिरको धूनमा लागेर पढ्न छोडिदिएँ । अनि जागिर र त्यसैसँग सम्बन्धित तालिममा लागेँ । मलाई आफ्नो पहिलो संस्थागत जागिरमा समस्या थियो । मेरो पढाइसँग न काम मिल्थ्यो, न त तालिम !
स्टोर कन्ट्रोल र मूल्य नियन्त्रणसम्बन्धी काम र इन्भेन्टरी म्यानेजमेन्टको तालिम । यसैबीच तीन महिनापछि मन नलागी नलागी दिक्क मानेरै जागिरमा धाउँदा धाउँदै तिनै मित्र पुष्कर राजभण्डारीका दाइले मलाई रेग्मी रिसर्च प्रालिका संस्थापक र मालिक महेशचन्द्र रेग्मीलाई चिनाइदिएका थिए ।
अहिले यदाकदा मनमा तर्कना आउँछ, त्यहाँ नगएको भए त्यो बेला तत्काल मेरो पेसा रेग्मी रिसर्च सेन्टरको अनुवादक नभएर होटेल व्यवसाय वा कतै अध्यापन हुन्थ्यो होला र पछि पनि अर्कै प्रकृतिको काममा लाग्न पनि सक्थेँ होला । तर नियतिमा अर्कै लेखिएकाले होला, म हुँदो-खाँदो जागिरमा पाइरहेको आधा तलबमा भए पनि रेग्मीजीकहाँ काम गर्न पुगेँ । काम साढे १० देखि साढे चारसम्म हप्ताको छ दिन र मासिक ३५० रुपियाँ तलबमा थियो ।
मैले काम सुरु गर्दा त्यहाँ गणेशराज पाण्डे, हरि खनाल र त्रैलोक्यमानसिंह कार्यरत हुनुहुन्थ्यो । बिहान साढे १० बजे महेशचन्द्र रेग्मीले हामी सबैलाई काम भाग लगाइदिनुहुन्थ्यो । मेरो भागमा नेपाली पत्रपत्रिकामा छापिएका राजनीतिक एवम् आर्थिक खबर र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धसँग सम्बन्धित समाचारको सार अनुवाद गर्ने पर्थ्यो ।
केही फाटफुट अपवादबाहेक अर्को तीन वर्ष म निरन्तर त्यसैमा लागेँ । अन्य सहकर्मीहरू पत्रिकाहरूको सम्पादकीय, सान्दर्भिक लेख, नेपाल राजपत्र, रिसर्च पेपरका सान्दर्भिक सामग्री आदि अनुवाद गर्थे । मेरो पूरै कार्यकालमा गणेशराजजी, म र हरिजीबाहेक अर्को पदमा पाँच-छ महिनामा मानिस फेरिइरहने हुन्थ्यो ।
मैले उहाँसँग काम थालेको दुई/तीन महिनापछि एक दिन उहाँले मलाई सोध्नुभयो, ‘तिमी, खाइरहेको तलब घटेर मकहाँ काम गर्न किन आएको ?’ ‘पुरानो काम मलाई चित्तबुझ्दो नभएकाले,’ मेरो जवाफ थियो । मैले रेग्मीजीकहाँ काम गर्दागर्दै विश्वविद्यालयमा रेगुलर विद्यार्थी भई स्नातकोत्तर पढिरहेका मित्र पुष्कर राजभण्डारीको नोट र पुस्तक पढेर प्राइभेट विद्यार्थीको रूपमा प्राचीन इतिहास, संस्कृति र पुरातत्वमा स्नातकोत्तर उत्तीर्ण गरिसकेको थिएँ । पछि अर्थशास्त्रमा स्नातकोत्तर दुवै खण्ड फर्म भरेँ तर परीक्षामा भने संलग्न हुन सकिनँ ।
‘यस प्रकारको कर लगाउँदा खेती किसानी गरी जीविका चलाइरहेका जनताको टाउकोमा एकैपल्ट अत्यधिक करको बोझ थपिने र त्यसले देशको सामाजिक र आर्थिक जीवनमा प्रतिकूल असर पर्नसक्ने र विद्रोहको स्थिति आउन बेर नलाग्ने ।’
एक दिन उहाँले मलाई सल्लाह दिनुभयो, ‘पढ्दै त छौ, तर मेरो अफिसमा सधैँ बसेर तिम्रो जिन्दगी कट्दैन, सरकारी जागिरतिर लाग ।’ मेरा निमित्त यो अर्ति मात्र नभएर आशीर्वाद पनि थियो । रेग्मीजीसँग धेरै समयदेखि काम गर्ने गणेशराज पाण्डेजी हुनुहुन्थ्यो । कान अलि कम सुन्ने, तर ज्यादै नै परिश्रमी र काममा इमानदार ।
उहाँ रेग्मी रिसर्चबाहेक अन्यत्र दुई/तीन ठाउँमा काम गर्नुहुन्थ्यो । त्यो समयमा राम्रै नाम चलेका दुई वरिष्ठ पत्रकारले चलाउने अंग्रेजी दैनिकमा नियमित सम्पादकीय लेख्नुहुन्थ्यो । यति मात्र नभएर उहाँ गोविन्द वियोगीजीको मातृभूमि साप्ताहिकमा सामयिक लेख र अन्तिम पृष्ठमा ‘मधु’ नामले नियमित कोलम लेख्न पनि भ्याउनुहुन्थ्यो ।
रेग्मीजीकहाँ आफ्नो कामअनुसार तलब नभएको भनी पाण्डेजीलाई केही असन्तोष त थियो, तर उहाँ काममा सधैँ कर्तव्यनिष्ठ र दत्तचित्त रहनुहुन्थ्यो । मेरो सोचाइमा पनि वास्तवमा पाण्डेजीलाई कामअनुसारको दाम नभएकै जस्तो पनि लाग्थ्यो । तर आफ्नै अवस्थाले गर्दा पाण्डेजीले त्यो ठाउँ छोडेर अन्यत्र जान सक्नुहुन्नथ्यो ।
त्यसबेला रेग्मी रिसर्च प्रालिका विभिन्न प्रकाशन थिए- नेपाल प्रेस रिपोर्ट जसमा अलग अलग न्युज एण्ड भ्युज (हप्ताको ५ दिन) । साप्ताहिक नेपाल प्रेस डाइजेस्ट । रिसर्च सिरिज् । नेपाल गजेट अनुवाद र अकेजनल पेपर्स ।
सामान्यतया प्रत्येक अनुवादकले गरेका अनूदित सामग्री महेशचन्द्र रेग्मी आफैंले अन्तिम करेक्सन गर्नुहुन्थ्यो ।
हरेक दिन २ बजेभित्र त्यो दिनका सबै प्रकाशन वितरणका लागि तयार हुन्थे । स्थानीय ग्राहकहरूमध्ये सबै विदेशी राजदूतावास, अन्तर्राष्ट्रिय संस्था र एकाध स्थानीय पुस्तकालय थिए । लाइब्रेरी अफ कंग्रेसले सबैभन्दा बढी २१ प्रति र अरुले अधिकतम ७ प्रति र न्यूनतम १ प्रति लिन्थे । यसबाहेक हुलाकबाट जाने विश्वभरका विभिन्न व्यक्ति र अनुसन्धानात्मक संस्थाहरू पनि ग्राहक थिए ।
महेशचन्द्र रेग्मी स्वअध्ययनको हिसाबमा निकै फास्ट रिडर हुनुहुन्थ्यो । प्रत्येक दिन बिहान साढे सातदेखि दिउँसो चार बजेभित्र बीचबीचमा पत्रिकाबाहेक कम्तीमा एउटा उपन्यास, जासूसी होस् वा फ्यान्नी हिल्स वा अगाथा क्रिस्टी र केही हल्का समसामयिक ऐतिहासिक, सामाजिक कृति पनि पढ्नुहुन्थ्यो । त्यसबाहेक नियमित ८-१० पृष्ठ नयाँ लेखन वा आफ्ना प्रकाशित पुस्तकका अंश पुनर्लेखन र परिष्कृत गर्ने काम पनि गर्नहुन्थ्यो ।
एकजना प्रशासनिक स्टाफले दैनिक रूपमा डिल्लीबजार मालपोत अड्डा (कुमारीचोक अड्डा)बाट पुराना सरकारी कागजपत्र सारेर ल्याउँथे । ती सारेर ल्याएका सामग्री मूलत भूमि व्यवस्था, भूमिकरसम्बन्धी आर्थिक कारोबारका कागजात हुन्थे । प्रायशः तिनलाई उहाँ आफैं अनुवाद गर्नुहुन्थ्यो । त्यस्ता अनूदित सामग्रीले रिसर्च पेपरहरू र उहाँको आफ्नो पुस्तक लेखनमा ठाउँ पाउँथे ।
नेपाल राजपत्रको अनुवाद अन्य सहकर्मीले गर्ने भए पनि त्यसलाई अन्तिम रूप दिन र परिमार्जन गर्न पनि उहाँले भ्याउनुहुन्थ्यो । यसका अतिरिक्त युनिभर्सिटी अफ् क्यालिफोर्निया, बर्कलेको सहयोगमा मासिक वा आवश्यकताअनुसार नेपाल रिसर्च सिरिज् प्रकाशन हुन्थ्यो । यसमा विभिन्न स्रोतबाट खोजी गरिएका नेपाली पुस्तक एवं पत्रपत्रिकामा प्रकाशित हुने ऐतिहासिक, आर्थिक र रुचिपूर्ण लेख र समय-समयमा विश्वविद्यालयका विद्वान्हरूले छानेर पठाएका अनुसन्धानात्मक सामग्री पनि समावेश गरिएका हुन्थे ।
हरेक दिन २ बजेभित्र त्यो दिनका सबै प्रकाशन वितरणका लागि तयार हुन्थे । विदेशी राजदूतावास, अन्तर्राष्ट्रिय संस्था र एकाध स्थानीय पुस्तकालय ग्राहक थिए ।
महेशचन्द्र रेग्मी सकभर दिउँसो दुई बजे अघि कार्यालयमा कसैलाई पनि भेट्नु हुन्नथ्यो । मैले देखेकामध्ये उहाँलाई भेट गर्न आउनेहरूमा कूटनीतिक नियोगका अधिकारी, स्वदेशी र विदेशी अनुसन्धानकर्ता, शोधकर्ता, विद्यार्थीहरू र पत्रकार हुने गर्थे ।
नियमित रूपमा भेट्न आइरहने व्यक्ति विशेषहरूमा राजनीतिज्ञ एवम् कूटनीतिज्ञ हृषीकेश शाह, सेन्ट जेभियर स्कूलमा अध्यापक एवम् इतिहासकार फादर लुडविग स्टिलर, युनिभर्सिटी अफ् क्यालिफोर्नियाका प्रोफेसर लियो ई. रोज (नेपालमा भ्रमण गर्दा), त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापक र शोधकर्ताहरू र विद्यार्थीहरू पनि हुन्थे ।
मैले थाहा पाएअनुसार धेरैजसो उहाँका कृतिबारे जानकारी लिने र उहाँसँग आफ्ना लेखनबारे मन्तव्य जान्न आउने अथवा आफ्ना लेखन परिमार्जन गरिदिन अनुरोध गर्न आउनेहरू पनि हुन्थे । पत्रकारहरूमा अंग्रेजी दैनिकका सम्पादक मणीन्द्रराज श्रेष्ठ, राष्ट्रपुकारका सम्पादक होमनाथ दाहाल र अरु मैले नचिनेका केही पत्रकार यदाकदा आउने गरेको देख्थेँ ।
पुरानो मित्र भएकाले हृषीकेश शाहसँग भने उहाँको अलि बढ्तै घनिष्ठता थियो । युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर लियो ई. रोजसँग बढेको सामीप्य पनि शाहजीकै कारण भएको भन्ने सुनेको थिएँ । साथै अर्का एक जना व्यापारी आनन्द राजभण्डारीसँग पनि उहाँको राम्रो हिमचिम थियो ।
यदाकदा फुर्सदमा महेशचन्द्र रेग्मी आफ्नो विगतका व्यक्तिगत कुरा पनि हामीसँग बाँड्नुहुन्थ्यो । पटना विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक अनर्स विशिष्ट श्रेणीमा उत्तीर्ण गर्नुभएपछि रेग्मीजीले नेपाल फर्केर २०१२ सालतिर उद्योग विभागको उपनिर्देशक पदमा काम गर्नुभएको रहेछ ।
त्यतिबेला उद्योग विभागले अन्य कामका अतिरिक्त नयाँ उद्योग खोल्न ऋण दिने सिफारिसको काम पनि गर्ने रहेछ । त्यस्तो ऋण राजपरिवारका सदस्यलाई पनि दिनुपर्ने, तर उहाँले सिद्धान्ततः त्यस्तो ऋण सर्वसाधारण जनताले मात्र पाउनुपर्ने अडान लिएका कारण जागिरबाट हात धुनुपर्यो भनी उहाँले भन्नुभएको थियो ।
अप्रत्याशित रूपमा दसैँको तीन दिनअघि आफ्नो सरकारी जागिर खोसिएपछि उहाँलाई कति पीडा भयो भनेर साध्यै छैन भन्दै संवेदनशील बन्नुहुन्थ्यो उहाँ । त्यो कठिन समयमा उहाँलाई पुराना व्यापारी मित्र आनन्दप्रसाद राजभण्डारीले आर्थिक रूपमा सहायता गरेका थिए रे ! अनि त्यसलगत्तै अर्का मित्र हृषीकेश शाहले अमेरिकी दूतावासमा चिनापर्ची गराएर नेपालसम्बन्धी समाचार, राजनैतिक एवम् आर्थिक विश्लेषणका लेख र अन्य सामग्री नेपालीबाट अंग्रेजीमा अनुवाद गर्ने काममा लगाइदिनुभएछ ।
केही समय बित्दै जाँदै गर्दा हृषीकेश शाहको सरसल्लाह र अमेरिकीहरूको पनि सहमतिमा उहाँले आफ्नो छुट्टै स्वतन्त्र संस्था स्थापना गरेर त्यसमार्फत काम गर्ने र आफ्ना प्रकाशन उनीहरूलाई बिक्री गर्ने निर्णय गर्नुभएछ । त्यसपछि रेग्मी रिसर्च प्रालि स्थापना गरेर सोमार्फत उहाँले केवल नेपाली भाषामा प्रकाशित हुने पत्रपत्रिकाको सारांश अनुवादका साथै अलग अलग शीर्षकमा समसामयिक राजनैतिक, आर्थिक एवम् अन्य सान्दर्भिक कुराहरूको निचोड भएका अन्य सान्दर्भिक एवम् अनुसन्धानात्मक प्रकाशन गर्ने काम पनि सुरुवात गर्नुभएछ जुन अन्य स्थानीय कूटनैतिक विदेशी नियोगलाई पनि रुचिकर र उपयोगी हुन्थ्यो ।
यसरी स्थानीय रूपमा र विश्वका अन्य भागबाट पनि उहाँका सबै प्रकाशनको माग बढ्दै गएपछि व्यवसाय बढेर धेरै समयसम्म उहाँ व्यक्तिगत रूपमा नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यावसायिक व्यक्ति पनि हुनुभयो रे ! निरन्तर लेखनमा लागिरहनुहुने उहाँको आफ्नो मौलिक लेखनबारे भन्नुपर्दा मेरो कार्यकालमा महेशचन्द्र रेग्मीले राणाकालमा विद्यमान आर्थिक असमानता, भूमिको स्वामित्वसम्बन्धी व्यवस्थावारे नेपालको आर्थिक इतिहासको एउटा पुस्तक A Study in Nepali Economic History- Bibliographica Himalica मञ्जुश्री पब्लिकेसन, दिल्ली, भारतबाट र अर्को एउटा Thatched Huts and Stucco Palaces लण्डनस्थित प्रकाशन संस्थाबाट प्रकाशित गराउनु भएको थियो ।
लाइब्रेरी अफ कंग्रेसले सबैभन्दा बढी २१ प्रति र अरुले अधिकतम ७ प्रति र न्यूनतम १ प्रति लिन्थे । यसबाहेक हुलाकबाट जाने विश्वभरका विभिन्न व्यक्ति र अनुसन्धानात्मक संस्थाहरू पनि ग्राहक थिए ।
साथै क्यालिफोर्निया विश्वविद्यालय बर्क्लेद्वारा प्रकाशित आफ्नो पुरानो चार भागको संग्रह ‘ल्यान्ड टिन्योर एन्ड ट्याक्सेसन’लाई परिमार्जन गरी पुनर्प्रकाशन गराउनुभएको थियो । कुनै पनि किताब लेख्दा धेरैपटक पुनर्लेखन र परिमार्जन गर्ने र आफूले मनले खाएका विद्वान् व्यक्ति वा त्यो विषयवेत्तालाई पढ्न दिई मन्तव्य बुझ्ने उहाँको बानी थियो ।
जागिरबाट बर्खास्त भएपछि महेशचन्द्र रेग्मी कुनै सरकारी काममा चाख नराख्ने र लगभग सबै सरकारी क्षेत्रसँग न्यून सम्पर्कमा रहनुहुने र टाढै रहेर काम गर्ने कुरामा विश्वास गर्ने हुनुभएको थियो । २०३० सालतिर स्वर्गीय राजा वीरेन्द्रका कुनै सल्लाहकारले देशमा विद्यमान मालपोत व्यवस्थाबाट राज्यलाई ज्यादै न्यून आम्दानी हुने भएकाले त्यसलाई खारेज गरी त्यसको साटो पञ्चायत तथा विकास कर लगाउने भनी नयाँ व्यवस्था लागू गर्ने सल्लाह दिएछन् ।
त्यसबेलासम्म रेग्मीजीले नेपालको भूमि व्यवस्था र भूमि करका ऐतिहासिक एवं तत्कालीन व्यवस्थाबारे लामो समयदेखि विश्लेषण र अनुसन्धानकर्ता विद्वान्का रूपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा आफ्नो छुट्टै चिनारी बनाइसक्नुभएको थियो ।
त्यसैले होला, रेग्मीजीलाई उहाँको संयोजकत्वमा यसबारे अनुसन्धान गरी एउटा प्रतिवेदन तयार गरिदिन राजदरबार प्रशासनबाट अनुरोध भएको थियो । उक्त अनसन्धानका लागि राजदरबारअन्तर्गत जाँचबुझ केन्द्रमा गई कर्मचारीकै ग्रुपमा काम गर्नुपर्ने र त्यता काम गर्न जाँदा आफ्नो संस्थाको काम लामो समय छोड्नुपर्ने सम्भावना भएकाले उहाँले जाने चाख राख्नुभएन । तैपनि बारम्बार राजदरबारका पदाधिकारीहरू उहाँको कार्यालयमा धाउने र अनुरोध गर्न थालेपछि उहाँ दिउँसो २ बजे पछि ५ बजेसम्म काम गर्न जाने कुरामा सहमत हुनुभयो । उहाँलाई सहयोग गर्न भनी भूमिसुधार र मालपोत व्यवस्थासम्बन्धी अनुभव भएका दुई वरिष्ठ सरकारी अधिकृत विश्वमान श्रेष्ठ र राजाभाई शाक्यलाई संलग्न गराइएको थियो ।
सात आठ महिना काम गरिसकेपछि प्रतिवेदन तयार गर्ने क्रममा पञ्चायत तथा विकास कर लगाउने कुरामा सकारात्मक बनाउनुपर्ने भनी दरबारका उच्च अधिकारीहरूबाट दबाब पनि थियो । त्यति हुँदाहुँदै पनि उहाँले ‘यस प्रकारको कर लगाउँदा एकै पटक खेती किसानी गरी जीविका चलाइरहेका जनताको टाउकोमा एकैपल्ट अत्यधिक करको बोझ थपिने र त्यसले देशको सामाजिक र आर्थिक जीवनमा प्रतिकूल असर पर्नसक्ने र विद्रोहको स्थिति आउन बेर नलाग्ने’ प्रतिक्रिया दिनुभएर त्यस्तो कर लगाउनु उपयुक्त नहुने भन्ने खालको प्रतिक्रिया दिनुभएछ ।
प्रतिवेदन ज्यादै अनुकूल र सकारात्मक नभए पनि केही वर्षको अन्तराल पछि पञ्चायतकालीन सरकारले केही जिल्लामा प्रयोगको रूपमा यो करको व्यवस्था लागू गरेको थियो । तर त्यो सफल भएन र २०३६ सालको आन्दोलनका बेला केही मागमध्ये पञ्चायत तथा विकास कर तत्काल हटाउनुपर्ने माग गरिएको कुरा पनि सुनिएको थियो ।
महेशचन्द्र रेग्मी संयमित र अनुशासित जीवन बाँच्नुहुन्थ्यो । उहाँ बिहान नुहाइ धुवाइ, पूजापाठ सकेर त्यो ताका नेपालबाट प्रकाशित हुने सबै पत्रपत्रिका सर्सर्ती पढ्नुहुन्थ्यो । प्रत्येक महत्वपूर्ण विषय र आफ्नो प्रकाशनलाई उपयुक्त हुने समाचार टिप्पणी र लेखहरूमा चिनो लगाएर दिउँसो कसले अनुवाद गर्ने भन्नेसमेत छानेर आफ्नो बौद्धिक अध्ययनमा लाग्नुहुन्थ्यो ।
हामी साढे १० मा पुग्दा हाम्रो टेबुलमा ती सामग्री आइसकेका हुन्थे । १२ बजेसम्म हामी सबै काममा व्यस्त हुन्थ्यौं । त्यसपछि अनूदित सामग्रीको करेक्सन र स्टेन्सिलमा टाइप गर्ने काम हुन्थ्यो । एउटा अचम्मको तर राम्रो बानी थियो उहाँको । केही कुरा सम्झिनुभयो भने हाम्रो कोठाभित्र पसेर भनिहाल्ने र हिँड्ने । आफ्नो कोठामा कोही आएको विरलै मन पराउने र समयको ठूलो ख्याल गर्ने । बेला बेलामा आफ्नो कार्यकक्षको पछिको ढोकाबाट निस्केर बाहिर बगैँचामा हिँडिरहेको पनि देख्थेँ म । कहिले छोरी वा कान्छो छोरा दुर्गेश रेग्मी पनि हुन्थे । ठट्टा गरिरहे जस्तो पनि लाग्थ्यो । तर एकैछिनमा आफ्नो कोठामा फर्केर काममा लागिहाल्ने बानी थियो उहाँको ।
अफिस बन्द गरेपछि उहाँ नियमित रूपमा लाजिम्पाटस्थित आफ्नो घरबाट नयाँ सडक हुँदै इन्द्रचोक पुग्ने, केही छिन त्यहाँ आफ्नो मित्रको पसलमा टुसुक्क बसी असन कमलाक्षी हुँदै घर फर्किनुहुन्थ्यो । महेशचन्द्र रेग्मीले उत्कृष्ट योगदान गरेबापत एसियाको नोबेल पुरस्कार पनि भनिने रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित हुनुभयो । पत्रकारिता र सिर्जनात्मक प्रतिभाका लागि उहाँ पुरष्कृत हुनुभएकामा नेपालका केही पत्रकारहरू ईष्र्याले भुतुक्क भएर आफ्ना पत्रिकामा सम्पादकीय नै पनि लेखेका थिए ।
वास्तवमा अनुवाद गरेर विभिन्न ठाउँमा छरिएर रहेका नेपालसम्बन्धी समाचार, ऐतिहासिक सामग्री संसारभरि पुर्याउने काम भएकैले उहाँलाई पुरस्कृत गरिएको थियो । त्यसबाट प्राप्त त्यो समयको ठूलो धनराशि उहाँले त्रिभुवन विश्वविद्यालयलाई दान दिनुभयो, जसबाट अहिले अर्थशास्त्रमा स्नातकोत्तर तहमा गरिने उत्कृष्ट अनुसन्धानात्मक थेसिसका लागि पुरस्कृत गरिने गरिन्छ ।
रेग्मीजी आफ्ना सबै छोराछोरी स्वतन्त्र भएर आफ्नो जीवन बाँचून् भन्ने चाहनुहुन्थ्यो । छोराहरूको बिहे हुनासाथ एउटा घर र मासिक एक हजार (२०३०-३१ सालसम्म यो ठूलै रकम मानिन्थ्यो) दिने गरी उहाँले परिवारबाट अलग गरिदिनुहुन्थ्यो । मेरो सम्झनामा साहिँलो छोरा सुरेशचन्द्र रेग्मीको पालोसम्म तीन छोरालाई अलग बस्न पठाएको थाहा छ । कान्छो दुर्गेशचन्द्र रेग्मीको विषयमा मलाई हेक्का भएन ।
उहाँकी एक छोरी लीला । उनले परिवारको सहमतिविना पत्रमित्रताबाट चिनजान भएका एकजना मधेसी मूलका राम्रो परिवारका सज्जनसँग आफूखुसी बिहे गर्ने निधो गरिन् । तर पछि बिहेका बेला माता-पिताको सहमति भएकाले उहाँले बिहेको सबै सामाजिक व्यवहार सम्पन्न गर्नुभयो । यो प्रसंग यहाँ किन उल्लेख गरियो भने उहाँ क्रान्तिकारी नै हुनुहुन्थ्यो ।
अहिले त्रिविमा प्राध्यापन गर्ने उहाँका माइला छोरा शिरीषचन्द्रबाहेक उहाँका सबै सन्तान नेपालबाहिरै छन् । उहाँ अस्वस्थ भएपछि साहिँला छोरा सुरेशचन्द्रले रेग्मी रिसर्च प्रालिको काम सम्हालेका थिए । आमाको निधनपछि उनी पनि अमेरिका पसे । सुरेशले बनारस हिन्दु विश्वविद्यालयबाट स्नानकोत्तर गरेका थिए भने कान्छा दुर्गेशले दिल्ली आर्किटेक्चर स्कूलबाट इन्जिनियरिङ गरे । उनी २००८ तिर सान्डियागो, अमेरिकामा बस्थे ।
एसियाको नोबेल पुरस्कार पनि भनिने रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित हुनुभयो । उहाँ पुरष्कृत हुनुभएकामा नेपालका केही पत्रकार ईष्र्याले भुतुक्क भएका थिए ।
मैले २०३१ सालको उत्तरार्धमा काम छोड्ने बेला महेशचन्द्र रेग्मी क्यालिफोर्नियामा हुनुहुन्थ्यो । तर उहाँ हिँड्नुअघि नै मैले लोक सेवा आयोगबाट सञ्चालित विकासतर्फको संस्थान सेवाको लिखित परीक्षा पास गरिसकेको भए पनि रेग्मीजीले मलाई उहाँ नफर्कुन्जेल अफिस सम्हालिदिन भन्नुभएको थियो ।
सबैभन्दा कनिष्ठ थिएँ, किन मलाई नै भन्नुभयो भन्ने पनि लाग्यो । तैपनि उहाँले जिम्मा दिनुभएकाले केही कष्ट सहेरै मैले दुई महिना बिताएँ । बिहान सात नबज्दै साइकलमा ओमबहालबाट लाजिम्पाट, नौ बजेसम्ममा दिउँसो कसले के काम गर्ने छुट्याएर हतारहतार लैनचौरमा आफ्नो नयाँ जागिरमा पुग्थेँ । बेलुकी पाँच बजे फेरि पुग्थेँ, दिउँसो के के भयो भनी बुझ्न । अरु मित्रहरू हिँडिसकेका हुन्थे । मलाई आश्चर्य लाग्थ्यो, किन उहाँसँग वर्षौँदेखि काम गरिरहेका कर्मचारी पनि कहिल्यै उहाँसँग खुसी नभएका होलान् ?
मेरो अनुभवमा महेशचन्द्र रेग्मी आफ्नै खालको, अलि बढ्तै कडा र जिद्दी मिजासका हुनुहुन्थ्यो जसले गर्दा कर्मचारी मात्र होइन, परिवारका सदस्य पनि बेला बेलामा अप्रसन्न भए जस्तो लाग्थ्यो मलाई । जे भए पनि मसँग कहिल्यै केही नराम्रो भएन र जागिर छोडिसकेपछि पनि मलाई साँझ-बिहान अनुवादको काम दिने गर्नुहुन्थ्यो । पछि पनि बराबर अफिस समयमा उहाँसँग गफ गर्न जान्थेँ ।
पुराना मित्रहरू ठट्टा गर्दै जिस्काउनुहुन्थ्यो, ‘यो अफिस छोडेर गएपछि फर्की फर्की आइरहने म मात्र हुँ’ भनेर । पछि परराष्ट्र सेवामा प्रवेश गरेपछि भने बाटो पनि नपर्ने, समय नहुने र लामो विदेश बसाइले गर्दा म पनि टाढिएँ । उहाँ लामो समय थलिनुभएको बेला तीन-चारपटक भेट्न गएँ । तर उहाँको देहान्त हुँदा म बाहिरै परेँ ।
समष्टिमा मैले महेशचन्द्र रेग्मीसँग आफूले सक्नेसम्म सिकेका कुरा र आर्जन गरेको ज्ञान र उहाँको समीप रहेर बिताएको आफ्नो युवा अवस्थाको लगभग तीन वर्षको समयलाई आफ्नो भविष्यका लागि नयाँ अध्यायको सुरुवात थियो भन्ने ठानेको छु । (परराष्ट्र सेवक @madhuBTM276 कुबेतका लागि पूर्वराजदूत एवं साहित्यकार पनि हुन् । उनका दर्जनौँ कथासंग्रह प्रकाशित छन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया