साहित्य

आजबाट विपी साहित्य महाेत्सव सुरु हुँदै

इकागज |
भदौ २४, २०८० आइतबार ७:४५ बजे

काठमाडौँ - नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा विपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ । तीन दिनसम्म चल्ने महाेत्सव आजबाट सुरु हुँदैछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाबाट उद्घाटन गरिने महाेत्सव पार्टी मुख्यालय सानेपामा गरिन लागिएकाे हाे । 


महोत्सवमा विभिन्न व्यक्तिका प्रमुख प्रवचन (सम्भाषण) हुने पार्टीका प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसैगरी मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, विपीका आख्यानमा नारी, विपीका आख्यानमा मधेस, विपीका दृष्टिमा विपी, विपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा विपी, समावेशिता, सामाजिक रुपान्तरण र विपी, युवा स्रष्टामा विपी पठन र परिवारले बुझेका विपी विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन् ।

महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनी हुनेछन् । पहिलो पटक आयोजना गर्न थालिएको यस साहित्य महोत्सवमा उपस्थित लागि प्राज्ञिक तथा विद्वान् वुद्धिजीवी, अध्येता, एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरिएको छ । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता तथा कार्यतालिका सार्वजनिक गरि सकिएकाे छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११० औँ विपी जन्मजयन्तीको अवसरमा विपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने निर्णय गरेको थियाे । कांग्रेसले जननायक विपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष विपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उनले पुर्‍याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अमर रहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा र नेपाली लेखक संघको संयोजनमा महाेत्सवकाे आयाेजना गरिएकाे हाे ।


Author

थप समाचार
x